२८ जेठ २०८३, बिहीबार
लोकान्तर सम्पादकीय

सरकार, विप्लवसँग सार्थक वार्ताका लागि पहल गर

सरकार, विप्लवसँग सार्थक वार्ताका लागि पहल गर

भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको घोषणा शनिवार गरेको छ । 

आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नु पर्ने शर्त उसले वार्ताका अगाडि सारेको छ ।

यसलाई आफ्ना राजनीतिक क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध फुकुवा होस् भन्ने उसको अभिप्राय हो भनेर बुझ्न सकिन्छ । वार्ताका यो कुनै कडा शर्त होइन । सरकारले छिट्टै टोली गठन गरेर वार्ता गरोस् ।

राजधानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विस्फोटका घटना घटाएपछि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध पछिको दुई वर्षको अवधिमा विप्लव समूह सीमित जिल्लाका केही स्थानमा खुम्चिनुबाहेक राजनीतिक क्रियाकलाप गर्न सकेन् । अहिले आएर वार्ताका लागि तयार रहनु सकारात्मक कुरा हो ।

वार्ताका लागि भएका विभिन्न अनौपचारिक प्रयासपछि विप्लवले विज्ञप्तिमार्फत वार्ता र संवादका लागि तयार रहेको बताएका छन् । यो स्वागतयोग्य कुरा हो । 

अर्को कुरा विप्लव समूहका माग पनि अमूर्त छन् । राज्यसत्ता प्रतिको असन्तुष्टिबाहेक विप्लवको पार्टीले अगाडि सारेका राजनीतिक मुद्दा जनताले बुझेका छैनन् ।

राज्यले हराउन नसकेको त्यो भीषण सशस्त्र संघर्ष र २१ औं शताब्दीको पहिलो जनक्रान्तिमार्फत नेपालमा गणतन्त्र स्थापना भएको थियो ।

अहिले त्यो स्तरको आन्दोलन हुने वस्तुगत परिस्थिति छैन । विगतमा सशस्त्र संघर्षमा सहभागी भएर फेरि गाउँमा हलो जोत्न फर्केका या रोजगारी खोज्दै खाडी मुलुकमा पुगेर पश्चाताप गरिरहेको पुस्ता फेरि त्यही खालको संघर्षका लागि तयार छैन । अहिलेका युवाले आफ्नो जीवनमा उन्नति र सुधार खोजेका छन् । अर्थात् शिक्षा, काम र रोजगारी खोजेका छन् न कि हतियार । 

मोबाइल फोनको सिमका आधारमा मानिस कहाँ छ भनेर थापा पाइने र सूचना प्रविधिले गाउँलाई छिचोलेको अवस्थामा अहिले भूमिगत आन्दोलन न सफल हुनेवाला छ न कसैले समर्थन गर्नेवाला छ ।

जनजीविकाका मुद्दा उठाएमा अहिले पनि राजनीतिक स्थान बाँकी छ भन्ने उदाहरण स्वयं विप्लवका छोरा प्रकाशले चलाएको आन्दोलनबाट पुष्टि हुन्छ । मेडिकल शिक्षाको क्षेत्रमा शुरू भएको आन्दोलन उदाहरण हो । चितवनबाट शुरू भएको सो आन्दोलनले मेडिकल शिक्षाको क्षेत्रमा केही सुधारको प्रयत्न गर्‍यो । 

गन्तव्यमा पुग्न नसकिने भूमिगत आन्दोलनको रहर छाडेर जनजीविका, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका मुद्दा लिएर शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दा विप्लवका लागि स्पेस बाँकी छ ।

नेपाली जनताले सबैको शासन सत्ता देखिसके, अहिलेसम्म संसद र सत्तामा नगएका विप्लवको परीक्षण बाँकी छ । 

उनले यो मौकाको सदुपयोग गरुन् । सरकारले विप्लव समूहसँग सार्थक वार्ता गरेर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कुनै कसर बाँकी नराखोस् ।

salt training

कमेन्ट गर्नुहोस्