सन् २०१० देखि पर्यटन तथा ह्यान्डीक्राफ्ट व्यवसायमा लागेका सुदर्शन खनाल कोरोना महामारी अघिसम्म निकै मजबुत अवस्थामा थिए ।
व्यवसाय शुरू गरेदेखि नै उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । व्यापारका सिलसिलामा विभिन्न देश पुगे।
राम्रा देशमा पुग्दा कतिपय नेपाली उतै पलायन भएका पनि छन्, तर खनाललाई त्यो सोच कहिल्यै आएन ।
उनी नेपालमै बसेर राम्रो कमाइ गरिरहेका थिए ।
जिरोबाट शुरू गरेको कारोवार करोडौंमा पुगेको थियो । नेपालको पर्यटकीय हब ठमेलमा एउटाबाट शुरू गरेको पसललाई विस्तार गर्दै ३ वटा पुर्याएका थिए ।
आफूले एउटै सटरको मासिक ३ लाखसम्म भाडा तिरेको खनाल बताउँछन् ।
दश वर्षमा चुमेको उचाइ पछिल्लो डेढ वर्षयता निरन्तर ओरालो लाग्ने क्रममा छ ।
कोरोना महामारीका कारण ठमेल सुनसान भएको लामो समय भयो । बजारका सटरहरू प्राय: बन्द रहन्छन् । पर्यटक नआउने भएकाले खोल्दा पनि कुरेर बस्नु मात्र हो ।
कोरोना महामारीका कारण घोषित पहिलो लकडाउनकै अवधिमा उनलाई भाडा तिर्न मुस्किल पर्न थाल्यो । आर्थिक भार कम गर्न उनले एउटा सटर बन्द गरे ।
महामारी कम हुने नामोनिशान थिएन । फेरि संक्रमण बढ्दै गयो । परिस्थितिले उनलाई दोस्रो सटर पनि बन्द गर्ने अवस्थामा पुर्यायो ।
आम्दानीको स्रोत ठप्पप्राय: थियो । खनालले परिवारका सदस्यहरूलाई गाउँ फिर्ता पठाए । अहिले काठमाडौंमा उनी एक्लै बस्दै आएका छन् ।
अब भएको एउटा सटर पनि बन्द गरेर व्यवसायबाटै पलायन हुनुपर्ने त होइन भन्ने उनको चिन्ता छ । कुराकानीका क्रममा उनले सरकारप्रति आक्रोश पोखे ।
'यो सरकार आफ्ना जनता र व्यापारीहरूप्रति अलिकति पनि उदार भएन । यदि समयमै भ्याक्सिन उपलब्ध गराउन सकेको भए यस्तो दिन आउने नै थिएन,' आक्रोशित हुँदै उनले भने ।
सरकारले खोप ल्याउने जिम्मा निजी क्षेत्रलाई पनि दिनुपर्ने उनको सुझाव छ ।
'यदि निजी क्षेत्रलाई जिम्मा दिएको भए ठमेल मात्र होइन सबै क्षेत्रका व्यापारीले कोरोनाको भ्याक्सिन लगाइसकेका हुन्थे, अनि सर्वसाधारणलाई पनि सहज रूपमा भ्याक्सिन उपलब्ध हुन्थ्यो,' खनालले भने, 'व्यापारमा यसरी मन्दी छाउने नै थिएन ।'
आक्रोशित हुँदै उनले थपे, 'कोरोना कहाँ छैन ? तर अरू राष्ट्रमा सधैँ यसै गरी लकडाउन लगाए त ? अझै छिट्टै कोरोना जाने छाँट कहाँ छ र ? के सधैँ लकडाउन गरेर मात्र हुन्छ त ? भएका सबै व्यापारी यसरी नै पलायन हुने ? '
हेर्नुहोस्, भिडियो :