दृश्यमा देखिरहनुभएको यो सडक हो बुटवल–नारायणगढ खण्ड । यो सडक गाडीमा जम्माजम्मी साढे २ घण्टाको हो । तर अहिले भने यो सडकखण्ड पार गर्न झण्डै ५ घण्टा लाग्छ । कारण हो- सडक विस्तारको काम समयमै नसकिनु ।
यो सडकको शिलान्यास २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तीन वर्षमा सक्ने भनिएको आयोजनाको म्याद अब ६ महिना मात्र बाँकी छ । तर, अहिलेसम्म जम्मा ९ प्रतिशत मात्र काम भएको छ ।
दाउन्नेको उकालो र ओरालोमा हरेक दिन जाम हुन्छ । दाउन्नेको १५ किलोमिटर सडक यात्रु र चालकका लागि सबैभन्दा बढी टाउको दुखाइ भएको छ । साँच्चै भन्ने हो भने सास्तीको अर्को नाम नारायणगढ–बुटवल सडक खण्ड भएको छ । गाडी बिग्रिनेदेखि ट्राफिक जाम, धूलो र हैरानी व्यहोर्न यात्रु र चालक बाध्य छन् ।
पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने दाउन्ने सडक खण्ड भएर यात्रा गर्ने यात्रु र चालक अहिले सबैभन्दा हैरानीमा छन् । खाल्डाखुल्डी, साँघुरो सडक, सवारीसाधनको अत्याधिक चाप तथा धूलो र हिलोले बुटवल–नारायणगढ सडक अहिले सास्तीको अर्को नाम बन्न पुगेको छ ।
२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरी बनाएको २ लेनको सडक अहिले ६ र चार लेनमा विस्तार गर्न लागिएको छ । तर, यस्तै सुस्त गतिमा काम गर्ने हो भने यो सडकको काम पूरा हुन अझै ५ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ ।
काम कछुवा गतिमा छ । पूर्वपश्चिम र राजधानीसँग जोड्ने अर्को वैकल्पिक राजमार्ग नहुँदा यात्रुले दुःख र सास्ती सहन बाध्य छन् ।
हेर्नुहोस्, भिडियो :