खोटाङमा जन्मिएर विराटनगरमा हुर्किएकी चन्दा नेपाल जन्मदेखि नै बोल्न र सुन्न सक्दिनन् । चन्दाले विराटनगरबाट आफूजस्तै फरक क्षमता भएकाहरूसँगै पढेर एसएलसीसम्मको अध्ययन गरिन् ।
एसएलसीपछि काठमाडौं छिरेकी चन्दा चाबहिलमा बस्दै आएकी छन् । एउटा रेस्टुरेन्टमा वेटरको काम पाएको थिइन्, तर कोरोनाका कारण रेस्टुरेन्ट बन्द भयो ।
अहिले उनको काँधमा नयाँ जिम्मेवारी आएको छ– ललितपुरको पाटनढोकामा निर्मित स्मार्ट सार्वजनिक शौचालयको व्यवस्थापन ।
बिहान ६ बजे नै शौचालयमा पुग्ने चन्दा दिउँसो १ बजेसम्म निरन्तर खट्छिन् ।
शौचालय व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुअघि उनले एक साताको तालिम पनि लिएकी थिइन् ।
सामान्य मानिसभन्दा उनको काम र सेवा गर्ने तौरतरिकामा बढी फोकस पाएको एरोसान सस्टेनेबल स्यानिटेसनका कार्यकारी प्रमुखको बुझाइ छ ।