१० साउन २०८३, आइतबार

म्युजिक भिडियो : किन पर्न थाल्यो भ्युजको खडेरी ?

बैशाख १३, २०७९
म्युजिक भिडियो : किन पर्न थाल्यो भ्युजको खडेरी ?

केही दिनअघि ‘पैसा हैन माया’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

बादल थापाको स्वर रहेको यो गीतको भिडियोमा जीबी चिरन, रोशनी कार्की लगायतले अभिनय गरेका छन् । भिडियो सार्वजनिक भएको केही दिन पुग्दा यसको भ्युज भने १० हजार आसपास मात्रै छ । 

गायक प्रमोद खरेलको स्वरमा केही दिनअघि ‘यो सब तिमीले गर्दा हो’, ‘चुपचाप मन पराएँ’, ‘भन निष्ठुरी’ जस्ता गीतहरू सार्वजनिक भएका छन् । यी गीतहरूले युट्युबमा पाएको भ्युज पनि निकै कम छ । 

गायक एवं संगीतकार टंक बुढाथोकीले १० दिनअघि ‘साथले तिम्रो’ बोलको गीत सार्वजनिक गरेका छन् । अभिनेता आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोले ७० हजार भ्युज पनि पाउन सकेको छैन । 

संगीतकार एवं गायक राजनराज शिवाकोटीले तीन दिनअघि आफ्नै ‘देवीथान म्युजिक’मार्फत ‘सरुँ सरुँ लाग्यो’ बोलको गीत सार्वजनिक गरेका छन् । 

उनी स्वयम्ले स्वर दिएको यो गीतको भिडियोमा मोडल निराजन प्रधान र अभिनेत्री मिरुना मगरको अभिनय छ । यो गीतको भिडियोको भ्युज ३ हजार पनि पुग्न सकेको छैन ।

भूपू पाण्डेको स्वर तथा आकाश खड्का एवं वर्षा राउत लगायतको अभिनयमा केही दिनअघि ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । 

यो गीतको भिडियोको भ्युज पनि उत्तिकै विजोग छ । चलेका कलाकारहरूको अभिनय रहेको भिडियोले ५ हजार भ्युज पनि पाउन सकेको छैन । 

अभिनेता राजेश हमालकै अभिनय रहेको भिडियोलाई पनि दर्शकले खासै चासो दिएका छैनन् । तीन दिनअघि सार्वजनिक ‘पानी मिठो सलल बग्ने खोलीको’ले आइतवारसम्म २० हजार पनि भ्युज पाएको छैन । 

यी केही उदाहरण हुन् । युट्युब खोलेर हेर्ने हो भने राम्रो भ्युज नपाएका म्युजिक भिडियोहरू दर्जनौं भेटिन्छन् । केही सीमित गीतले राम्रो भ्युज पाएपनि अधिकांश गीतको भ्युज निकै कम देखिन्छ । 

चलेका गायक–गायिकाले स्वर दिएका र चलेका अभिनेता–अभिनेत्री एवं मोडलहरूको अभिनय रहेका भिडियोहरूको भ्युज पनि निकै कम देखिन्छ । जसका कारण अधिकांश भिडियोमा गरिएको लगानी बालुवामा पानीसरह त छ नै लगानीकर्तालाई निराश समेत बनाएको छ । 

किन घट्यो भ्युज ?

पछिल्लो केही महिना यता अपेक्षा गरेका गीतले समेत अपेक्षित भ्युज पाउन छाडेको निर्देशकहरू बताउँछन् । 

चल्तापूर्जा निर्देशक निकेश खड्का पछिल्लो समय युट्युबमा म्युजिक भिडियोको भ्युज घटेको महशुस गरेको बताउँछन् ।

‘धेरै भिडियो आएर पनि होला, पहिलेजस्तो भ्युज गएको छैन,’ उनले लोकान्तरसँग भने, ‘कलाकारहरूको नामले पनि पहिलेजस्तो भ्युज जाने अवस्था देखिँदैन । फेरि कलाकारहरू पनि धेरै भिडियोमा धेरै देखिए । एउटै कलाकारका धेरै भिडियोहरू आउँदा दर्शकहरू पनि मोनोटोनस भए कि !’ 

अपेक्षित भ्युज नपाउनुको कारणबारे आफू नै अन्यौलमा रहेको खड्का बताउँछन् । 

उनी धेरै दर्शकहरू टिकटकतिर भुल्दा पनि भिडियोले पहिलेजस्तो भ्युज नपाउने गरेको आँकलन गर्छन् । 

‘पहिले टाइमपास गर्नुपर्‍यो भने दर्शकहरू युट्युब हेर्थेँ । अहिले टिकटक हेरेर टाइमपास गर्छन्,’ खड्का भन्छन्, ‘टिकटकबाट युट्युबतिर आउन पनि अलि गाह्रो भएको हो कि !’ 

उनले ‘बूष्ट’ गरिएका भिडियोहरू पनि ‘क्लिक’ नगरेको अवस्था रहेको बताए । 

उनी फरक खालका गीतहरू स्रोता/दर्शकले रुचाउने गरेको बताउँछन् । 

अडियोमा अलिकति फरक खालको स्वाद दिएर स्रोताको ध्यान खिच्न सकेमात्र गीतहरू चल्ने अवस्था रहेको खड्काले बताए ।

‘हेरुँ हेरुँ बनाउन सक्ने गीतहरू आए भने दर्शकले हेर्छन्,’ उनी भन्छन्, ‘तर दर्शकलाई तान्ने केही कुरा चाहीँ हुनुपर्‍यो ।’ 

गायक तथा संगीतकार टंक बुढाथोकी पनि डेढ दुई वर्ष अगाडिसम्म सजिलै आउने भ्युज पाउन अहिलेको अवस्थामा गाह्रो रहेको महशुस गरेको बताए । 

उनी भिडियोले अपेक्षित भ्युज पाउन छाडेकोमा टिकटक नै मुख्य कारण देख्छन् । 

बुढाथोकीले लोकान्तरसँग भने, ‘अहिले टिकटक हाबी भएको छ । धेरै मानिसहरू टिकटकतिरै रमाउन थालेका छन् । म्युजिक भिडियोहरू पनि धेरै संख्यामा आए । त्यसमाथि एउटै कलाकारका उस्तैखाले भिडियोहरू धेरै आएर पनि होला ।’

टिकटकले गीतलाई फाइदा कि बेफाइदा ? 

नेपालमा टिकटक व्यापक भएसँगै दर्शकहरू त्यसमै बढी भुल्दा समग्र गीतको भ्युजमा असर गरेको कलाकारहरु बताउँछन् । 

गायक कमल खत्री पछिल्लो समय गीत हिट र फ्लपको मापन नै टिकटकबाट हुन थालेको बताउँछन् । 

‘टिकटकमा नचलेको गीत युट्युबमा जस्तो भएपनि चलेकै नमान्ने अवस्था भयो । किनकी, मानिसहरू टिकटकमै बढी समय दिन थाले,’ खत्री भन्छन्, ‘टिकटक नभएको भए टिकटकमा हेर्ने समय दर्शकले युट्युबमा दिन्थे । अहिले त टिकटकको कारण मानिसले युट्युब नै हेर्न छाडे ।’ 

टिकटकमा गीतको पार्टमात्र हिट हुने हुँदा कतिपय अवस्थामा कुन गीत हो भनेर चिन्न समेत गाह्रो हुने गरेको उनी बताउँछन् । समग्रमा हेर्दा टिकटक नहुँदा गीतमा जति भ्युज आउँथ्यो अहिले त्यो घट्दो रहेको खत्रीले बताए । 

यद्यपी, टिकटकका कारण समग्रमा हेर्दा भ्युजमा असर देखिएपनि यसकै कारण हिट भएका थुप्रै गीतहरू छन् । 

टिकटकमा हिट भएपछि ती गीतहरूले युट्युबमा समेत राम्रो भ्युज पाएका छन् । 

वर्ष २०७८ मा हेर्दा ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘रमरम मरौटी’, ‘डाँडाघरे साइँली’, ‘म त पर्खेकोपर्ख्यै छु,’ जस्ता गीतहरू टिकटकमा हिट भएपछि युट्युबमा राम्रो भ्युज पाउँदै गएका हुन् । 

‘टिकटकले केही गीतलाई फाइदा गरेको छ । 

टिकटकमा चर्चित भएका गीतहरूले युट्युबमा राम्रो भ्युज पाएका छन्,’ गायक एवं संगीतकार टंक बुढाथोकी भन्छन्, ‘मेरा कतिपय गीतहरू पनि टिकटककै कारण हिट भएका छन् । टिकटकमा हिट भएपछि युट्युबमा राम्रो भ्युज पाएका छन् । थोरैलाई फाइदा भएपनि धेरै गीतको भ्युजमा असर गरेकोजस्तो लाग्छ ।’ 

गायक कमल खत्री पनि पहिले नचलेका आफ्नै कतिपय गीतहरू केही समयपछि टिकटककै कारण चलेको समेत अनुभव सुनाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्