२६ असार २०८३, शुक्रबार

अस्थिर राजनीतिको चक्रव्यूहमा बीपी कोइरालाको स्मरण

कात्तिक २०, २०७४
अस्थिर राजनीतिको चक्रव्यूहमा बीपी कोइरालाको स्मरण


विश्वेश्वरप्रसाद (बीपी) कोइराला नेपालको राजनीतिक दृश्यपटलमा त्यस्तो नेताको रूपमा स्थापित नाम हो जसलाई दक्षिणपन्थी, वामपन्थी र मध्यममार्गी कसैले पनि उपेक्षा गर्न सकेनन्, सक्दैनन् यद्यपि उहाँका राजनीतिक मान्यता जीवन्त बहसका विषय रहँदै आएका छन् ।

नेपालको प्रधानमन्त्री छँदा (२०१६–१७) उहाँले थालनी र सञ्चालन गरेका कतिपय कार्यद्वारा देशभित्र समाज रूपान्तरणको प्रक्रियालाई लोकतान्त्रिक ढाँचाबाट अघि बढाउनुभयो भने नेपाललाई अन्तर्राष्ट्रिय परिचय दिलाउने प्रयासमा संयुक्त राष्ट्रसंघ र विभिन्न देशहरूसित प्रभावकारी सम्झौता वार्ताहरू गराउनुभयो । र, त्यस क्रममा उहाँ पनि दक्षिण एसियाका एक विशिष्ट राजनेताका रूपमा परिचित हुनुभयो ।

देशभित्र बीपी नेपाली कांग्रेसका शीर्षस्थ नेता हुनुहुन्थ्यो त्यसकारण श्रावण ६ गतेको सन्दर्भ पारेर केही संघ संस्थाले विशेष सभा, कार्यक्रम गर्नु स्वाभाविक हो ।

शुक्रवार बिहान बीपी ट्रष्टका तर्फबाट आयोजित एउटा त्यस्तै कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि भाग लिनुभएको थियो । पुरुषोत्तम बस्नेतद्वारा लिखित ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ नामक ग्रन्थ लोकार्पणपछि श्रोतागणलाई सम्बोधन गर्दै डा. यादवले अहिलेको नेपाली कांग्रेसले बीपीका दर्शन, मान्यता र आदर्श अनुरूप काम गर्न नसकेको भनी आलोचनात्मक टिप्पणी गर्नुभयो । राष्ट्रिय मेलमिलापको नीति लगायतका बीपीका मान्यताहरू असमयमै सन्दर्भहीन हुन पुगेकोमा अन्य वक्ताहरूमा पनि असन्तोष देखियो, सुनियो ।

राजनीति सत्तामा उक्लिने भरेङ मात्र हुन पुगेपछि नकारात्मक अवधारणा प्रकट हुनु अनौठो पनि होइन ।

मुलुक संक्रमणकालमा छ, विभाजनकारी तत्त्वहरूले मुण्टो उठाउँदै छन् । यस्तो बखतमा सात सालको क्रान्तिदेखि अग्रपङ्क्तिमा रहेको राजनीतिक शक्ति मानिने नेपाली कांग्रेसको नेतृत्वबाट चिरकालपर्यन्त नेपाल सुरक्षित रहने नीति अवलम्बन गरी तदनुरूपका पाइला चाल्न अग्रसर हुनुपर्ने हो ।

समय भड्किएपछि हात लाग्ने वस्तु भनेको पश्चात्ताप मात्र हो । यो कांग्रेस नेतृत्वले महसूस गर्नुपर्ने विषय हो भने कांग्रेसको अकर्मण्यताबाट मुलुक संकटमा नपरोस् भन्ने सोच वैकल्पिक राजनीतिक शक्तिहरूमा रहनुपर्दछ किनभने अरूले हारेपनि मुलुकले हार्नु हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्