!['डम्पिङ साइट' बने काठमाडौंका पुल, महानगर भन्छ- हाम्रो जानकारीमा छैन, अब हेर्छौं [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Fohor_Ratopul4_P9XVhqOtEC.png)
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् ।
सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिएको हो ।
काठमाडौंको रातो पुल, कालो पुल, अनामनगरको पुल, बालकुमारी पुल जहाँ पुग्दा पनि फोहोरको डङ्गुर देख्न सकिन्छ । कतिपय पुलमुनि लाइन लगाएर फोहोरका गाडी पनि राखिएको छ ।
पुलमुनि थुप्रिएको फोहोरबारे जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकासँग स्पष्ट जवाफ छैन ।
महानगरका प्रवक्ता नवीन मानन्धर पुलमुनि फोहोर थुप्रिएको कुरा आफूहरूको जानकारीमा नरहेको बताउँछन् ।

'यो कुरा अहिलेसम्म हाम्रो जानकारीमा आएको छैन,' प्रवक्ता मानन्धरले लोकान्तरसँग भने, 'अब उप्रान्त त्यहाँ (पुलमुनि) फोहोर राख्न र फाल्न नदिने प्रयत्न गर्छौं ।'
उनले थपे, 'महानगर आफैंले केही प्रतिशत फोहोर मात्र उठाइरहेको छ । अरू फोहोर विभिन्न समूहले उठाइरहेका छन् । ती समूहले सिसडोल लैजान नसकेका कारण सुरक्षित स्थान ठानेर पुलमुनि फोहोर राखेका हुन सक्छन् ।'
पुलमुनि फोहोर राख्न नमिल्ने उनको भनाइ छ ।
'छिटो पुग्ने र जाम पनि नहुने भएकाले खोलासँगै कोरिडोर खोलिएको हो। त्यहाँ फोहोर राखेर दुर्गन्धित बनाउने काम गर्नु हुँदैन । त्यसो नगराउने बाटोमा अब महानगर जान्छ,' प्रवक्ता मानन्धरले भने।

स्थानीयका अनुसार टोल-टोलमा फोहोर उठाउने ठेक्का पाएका समूह र सर्वसाधारणले व्यक्तिगत रूपमा ल्याएर फाल्ने फोहोरका कारण पुलमुनिको क्षेत्र डम्पिङ साइटमा परिणत भएको हो ।
महानगरले उठाएको फोहोर भने बञ्चरेडाँडामा लैजानुअघि टेकुमा लगेर राख्ने गरिएको छ ।
ज्ञानेश्वरस्थित रातो पुलमुनि बुधवार पुग्दा एक स्थानीय ठेकेदार भेटिए । मिडियाले 'बंग्याएर लेखिदिन्छ' भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए ।

दैनिकजसो फोहोर थुप्रिँदा पुल आसपासमा दुर्गन्ध फैलिएको छ । ती पुल भएर यात्रा गर्ने यात्रु र स्थानीय दुर्गन्धका कारण प्रभावित छन् ।
रातो पुलमुनिको कोरिडोरमा विगत ३ वर्षदेखि 'फ्रेस हाउस' चलाउँदै आएका भीमबहादुर मगरले दुर्गन्धका कारण आफ्ना ग्राहक नै घटेको गुनासो गरे ।

'तीन महिनादेखि यो पुलमुनि फोहोर थुप्रिन शुरू भएको हो । फोहोरको गन्धले मेरो पसलमा मासु किन्न आउनेको संख्या निकै कम भएको छ,' मगरले गुनासो पोखे ।
पुल हुँदै यात्रा गर्ने कतिपय पैदल यात्रु दुर्गन्धका कारण बान्ता गर्दै हिँड्ने गरेको उनले सुनाए ।
बालकुमारीको पुलमुनि फोहोरको ट्रक नै रोकेर राखेको भेटियो ।

उक्त ट्रकका कारण कोरिडोर हुँदै गुड्ने सवारीले अर्को लेन प्रयोग गर्नुपरेको देखिन्थ्यो ।

पुलसँगैको बस स्टपमा पाँच वर्षदेखि चिया बेच्दै आएकी ४९ वर्षीया एक महिलाले ३ महिनादेखि पुलमुनि फोहोर राख्न थालिएको बताइन् ।
'पहिला त यस्तो हुँदैनथ्यो, तीन महिनाजति भयो फोहोरको गाडी आएर बस्न थालेको,' उनले भनिन् ।

यस्तो दुर्गन्धमा ग्राहकले चिया पिउँछन् त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनिन्, 'खाए खान्छन्, नखाए खाँदैनन्। मलाई त यो फोहोरको गन्ध नै आउन छाडिसक्यो । यहाँका घरवालाहरूलाई कुनै प्रवाह छैन भने मैले बोलेर के हुन्छ र ?'
फूटपाथको चिया पसलसँगै भेटिएका एक बस चालकले १५ मिनेट त्यहाँ कुर्नुपर्दा टाउको नै दुख्ने गरेको बताए ।

'क्युमा यहाँ १५ मिनेट जति कुर्नुपर्छ । त्यो समयमा यो फोहोरको गन्धले टाउको नै दुख्छ,' उनले भने ।
पढ्नुहोस्, यो पनि :