पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) स्वतन्त्र उम्मेदवारका रूपमा भारी मतका साथ विजयी भए । उनीबाट महानगरवासीले अनुभवजन्य परिवर्तनको आशा राखेका छन् । मेयर'साबका विभिन्न एजेन्डाहरूमध्ये काठमाडौंको फोहोरमैला व्यवस्थापन एउटा प्रमुख एजेण्डा हो । महानगरको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनु हामी सबैको अनिवार्य दायित्व पनि हो ।
यसमा मेयर'साबको मात्र मुख हेरेर बसेर हुँदैन । महानगरमा सातै प्रदेश र ७५३ वटै स्थानीय तहका नागरिकहरू अट्ने ठाउँ भएको हुँदा सबैले उहाँलाई सहयोग पुर्याऊन् भन्ने आह्वान पनि हो यो आलेख । महानगरवासीले मेयर'साबलाई पुर्याउनुपर्ने सहयोग पुर्याउन सकिएन कि भन्ने अनुभव गरी मेयर'साब र महानगरलाई पनि केही सहयोग पुगोस् भन्ने हेतुले यो आलेख तयार पारिएको छ ।
यो अवधारणापत्र जस्तै हो । यो आलेख विज्ञ व्यक्तिहरूको सुझाव प्राप्त भएपश्चात पूर्ण हुनेछ भन्ने आशा राखेको छु ।
समस्याको विश्लेषण :
काठमाडौंको फोहोरमैला महानगर र देशको शासकीय प्रणालीमा भएका लूपहोल, विकास व्यवस्थापनमा विगतदेखि रहेका कमजोरी, नागरिकहरूमा देखिएको चरम व्यक्तिवादी सोच, संगठनमा विद्यमान अघोषित संस्थागत अवरोधहरू, तीन तहका सरकारबीच सघन समन्वय र कार्यतत्परताको अभाव र उदासीनतालगायत सतहभित्र लुकेका र देखिएका अघोषित अवरोधको उपज हो ।
यसका अतिरिक्त फोहोर व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग नगरिनु, समुदाय परिचालन, दण्ड र पुरस्कारको अभाव लगायतका कारणबाट फोहोर सधैँ समस्याको रूपमा रहेको पाइन्छ । काठमाडौं देशको राजधानी, देशको मुटु, ज्ञानको भण्डार, फोहोर व्यवस्थापन र शहरी विकासका पीएचडी होल्डर उच्च प्रशासक राजनीतिकर्मी बस्ने ठाउँ हो । यस्तो ठाउँमा फोहोरको विकराल समस्याले घेरिनु पर्ने, कहीँ कतैबाट दीर्घकालीन समाधान ननिस्किनुले हाम्रो विज्ञता, राष्ट्र निर्माणमा हाम्रो तत्परता, हाम्रो मिसन र भिजनमा स्पष्टताको अभाव लगायतका हजारौं प्रश्नहरू म आफैँप्रति पनि सोझिएको महसूस भएको छ ।
हामी जिम्मेवार नागरिकको हैसियतले फोहोरलाई व्यवस्थापनका लागि के कति योगदान गरौँ ? विज्ञहरूबाट के कस्ता व्यावहारिक तौरतरिकाहरू के कति सिफारिस गरियो ? हाम्रा कर्महरू समस्या समाधानका लागि साधक भए कि बाधक ? सो पक्षको हामी जिम्मेवार नागरिकको हैसियतले समीक्षा गर्नुपर्दछ । महानगर सबैको साझा बासस्थान हो । यसलाई सफा, सुन्दर र हरियाली राख्नु हामी सबैको दायित्व हो । जिम्मेवार नागरिकले घरमै व्यवस्थापन गर्न सकिने फोहोर बाटोमा ल्याएर असरल्ल बनाएर छाड्छौं अनि फोहोर व्यवस्थापन भएन भनेर सरकारलाई दोष दिन्छौं । यो प्रवृत्ति नै मुख्य समस्या हो ।
काठमाडौंको फोहोर व्यवस्थापनका सवालमा पूर्वमन्त्री रामकुमारी झाँकी, नेपाल सरकारका पूर्व मुख्यसचिव एवं बाग्मती सरसफाई महा–अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्याल, बाग्मती सरसफाई महाअभियानका अर्का अभियन्ता डा. राजु अधिकारी लगायतको टीमले फोहोर व्यवस्थापनका घरेलु उपायहरू नसुझाएको पनि होइन ती सुझावहरू महानगरले के कति आत्मसात गर्न सक्यो वा सकेन सो सन्दर्भ पनि सँगै जोडिएर आउँछ, तथापि यसमा छुट्टै छलफल गरौंला । सरोकारवालाहरूसँग सहकार्य गर्ने, उनीहरूलाई परिचालन गर्ने, समुदाय परिचालन रणनीति पहिल्याउने लगायतका लो कस्ट र नोकस्टका व्यवस्थापकीय रणनीतिमा महानगर प्रशासनका कमजोरीहरू रहे कि ? यी र यस्ता सबै विषयवस्तुमा गहन विश्लेषण जरुरी छ । जो पछि छुट्टै गन्थन लेखौंला ।
विभिन्न अध्ययनबाट उपलब्ध तथ्यांकहरूले पुष्टि गरेको छ कि शहरी फोहोरको ठूलो हिस्सा शिक्षण संस्थाले फालेका कागज, नव धनाढ्य र मध्यमवर्गीय परिवारले फालेको खाना, होटल तथा पार्टी प्यालेस र पर्यटन व्यवसायीले फालेका प्लास्टिक, खाना प्याक गर्ने वस्तु र सिसा तथा अस्पतालजन्य फोहोर बढी मात्रामा रहेको छ ।
यी सबै फोहोर नाफा कमाउने क्रममा विसर्जन गरिएका हुन् । यसरी एउटा वर्गले नाफा कमाउने नाममा फोहोर विसर्जन गर्ने र त्यसबाट सर्वसाधारण‚ गरिब र ग्रामीण जनता पीडित हुनुपर्ने अन्यायपूर्ण अवस्थाको सिर्जना गरिएको छ । उन्मत्त उपभोक्तावादमा बदलाव र नियन्त्रण नहुँदासम्म गैरजिम्मेवार फोहोर विसर्जनको प्रभाव सहिरहनुपर्ने बाध्यता सर्वसाधारण जनतालाई छ । (दिलराज खनाल)
समाधानका उपायहरू :
फोहोर व्यवस्थापनका रणनीति निर्माण गर्दा तीन चरणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । जस्तै तत्काल गर्नुपर्ने कामहरू, मध्यकालमा गर्नुपर्ने कामहरू र दीर्घकालमा गर्नुपर्ने कामहरूको सूचीकरण गरी क्रमबद्ध तरिकाले कार्यान्वयनमा लैजानुपर्दछ । फोहोर व्यवस्थापनका लागि 'लो कस्ट' र 'नो कस्ट'को रणनीति अवलम्बन पनि सँगै गर्नु पर्दछ । फोहोर व्यवस्थापनलाई नागरिकको जीवनपद्धतिसँग जोड्दै महानगरको प्रमुख अभियानको रूपमा घोषणा गरी प्रत्येक नागरिकलाई 'मेरो पकेट मेरो पहिलो डस्टबिन' भन्ने भावनाको विकासका लागि दिगो प्रचारात्मक अभियान सञ्चालन पनि सँगै शुरू गर्नुपर्दछ।
तत्काल गर्नुपर्ने कामहरू:
समन्वयकारी बैठक बसाल्ने : बाग्मती सरसफाई महाअभियान लगायतका सरसफाई अभियानमा क्रियाशील संघ–संस्था, चारैवटा सुरक्षा निकाय, उद्योग वाणिज्य महासंघ संघ, चेम्बर अफ कमर्स लगायतका सबै प्रकारका व्यापारिक संस्थाहरूको छाता संगठन, यातायात व्यवसायी, गैसस महासंघ लगायतका महानगरपालिकाभित्र क्रियाशील छाता संगठनहरूको बैठक गरी फोहोरमैला व्यवस्थापन गर्ने कामलाई राष्ट्रिय अभियान घोषणा गर्ने समझदारीसहित महानगरको कार्यपालिकाबाट अनुमोदन गरी सबैलाई पत्राचार गर्ने । सबैले फोहोर कम गर्ने, स्रोतमा वर्गीकरण गर्ने, समुदायमा विसर्जन गर्ने लगायतका साना तर प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जरुरी छ ।
विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्ने : फोहोरमैला यथासक्य कम गर्ने गर्नुपर्ने, आफ्नो क्षेत्रभित्र विसर्जन हुनसक्ने वा पुन: प्रयोगको हुनसक्ने फोहोर विसर्जन वा पुन: प्रयोग गरेर मात्र बाहिर निकाल्नुपर्ने फोहोर मात्र बाहिर निकाल्ने र फोहोरको स्रोतमै वर्गीकरण गर्नुपर्ने, होटल तथा उद्योग लगायतले जथाभावी फोहोर फालेमा कानूनबमोजिम जरिवाना गर्ने प्रावधान कडाइका साथ लागू गर्ने ।
समुदाय परिचालन : सम्बन्धित वडा अध्यक्षले आफ्नो वडाभित्रका सरोकारवाला, समुदायका अगुवा, टोल विकास संस्था, आमा समूह, क्लब, व्यापारी लगायतको सहभागितामा क्लस्टर बनाई क्षेत्र विभाजन गरी टोलगत रूपमा फोहोर घटाउने अभियान सञ्चालन गर्ने । टोल विकास संस्थालाई सघन रूपले परिचालन गर्ने । टोल विकास संस्थाहरू गठन गरिएका छैनन् भने टोल विकास संस्था गठन पनि गर्ने ।
महानगर सभाका सदस्यहरूलाई फोहोरमैलाको मात्रा घटाउने उत्प्रेरकको रूपमा परिचालन गर्ने । नगरका हरेक काममा फोहोरमैलाको विषयलाई जोड्ने । जस्तै हाम्रो घरको कुहिने फोहोर हामी स्वयंले व्यवस्थापन गरी महानगरलाई बोझ कम गराएका छौं यहाँहरूले नि ? भनेर सबैलाई प्रश्न गर्ने अभियान सञ्चालन गर्ने । जुन व्यक्तिले आफ्नो घरबाट निस्कने फोहोर आफ्नो घर क्षेत्रभित्र विसर्जन गर्दछ उसलाई प्रोत्साहित गर्ने, फोहोरमैला शुल्कमा छुट दिने। सफा टोल घोषणा अभियान शुरू गर्ने । सफा टोललाई फोहोरमैलाबाट उठेको केही रकम टोल विकासका विभिन्न क्षेत्रमा खर्च गर्नका लागि उपलब्ध गराउने लगायतका रणनीतिहरू अवलम्बन गर्नुपर्दछ ।
स-साना समूहमा संसार बदल्ने शक्ति हुन्छ । परिवार सदस्य हुने गरी स-सानो समुदायस्तरमा स्थापित सामुदायिक संस्थाहरूले वातावरण संरक्षण र फोहोर व्यवस्थापनमा राम्रो सफलता हासिल गरेका छन् । समुदायस्तरमा रहने सा-साना समुदायले गर्ने फोहोर व्यवस्थापनका कार्यहरू दीगो र समाज तथा संस्कृति र वातावरण मैत्री हुन्छन् । नेपालका केही नगरपालिकाका समुदायले समुदायको फोहोर आफैँ व्यवस्थापन गरेका छन् ।
समुदायभित्र खाली रहेको जग्गामा समुदायको सबै कुहिने फोहोर जम्मा गरेर मल बनाएर बेच्ने गरेका धेरै उदाहरण रहेका छन् । प्लाष्टिक लगायतका पुन: प्रयोग गर्ने सामानहरू समुदाय आफैँले कवाडी संकलन केन्द्र खोलेर विक्री गरेर समुदायको आयआर्जनको बाटो समेत बनाएका छन् । यस प्रकारका समुदायले फोहोर अरूलाई दिँदैनन् र फोहोर पनि अन्यत्र लगेर फाल्दैनन् ।
फोहोरलाई समुदायस्तरमा नै पुनः प्रयोग गर्ने आफैं नियम बनाई आफैं पालन गर्ने गर्छन् । छिमेकी मुलुक भारतमा पनि कयौं शहरहरूमा फोहोर व्यवस्थापनका लागि स-सानो स्तरमा स्थापित सामुदायिक संस्थाहरूले आफ्नो फोहोरको आफैं प्रशोधन तथा पुनः प्रयोग र व्यवस्थापन गर्छन् ।
नेपालमा पनि ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सामुदायिक संस्थाको रूपमा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र सामुदायिक वन उपभोक्ता समूहले फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान गर्दै आएका छन् । जस्तै तिलोत्तमा नगरपालिकाको वास सहकारीलाई नमूनाको रूपमा लिन सकिन्छ । यो वास सहकारीले समुदायको सबै फोहोर संकलन गरेर प्रशोधन गरी राम्रो आम्दानी गरेको छ ।
प्रविधिको प्रयोग:ठूलो मात्राको फोहोर व्यवस्थापनका लागि नयाँ र आधुनिक प्रविधि प्रयोगमा ल्याउनु पर्ने हुन्छ । जस्तै घोराही उपमहानगरपालिका, वालिङ नगरपालिका, धनकुटा नगरपालिका तिलोत्तमा नगरपालिकाले केही मात्रामा प्रविधिको प्रयोग गरेर फोहोर व्यवस्थापन गरेका छन् ।
घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादन गरेको छ । सो प्रविधि उपयोगमा ल्याउन सकेमा फोहोर व्यवस्थापनमा केही सहजता आउने छ । काठमाडौंमा महानगरका लागि बजेटको कुनै समस्या छैन । फोहोर व्यवस्थापनका विभिन्न प्रविधिहरू उपलब्ध छन् । एउटा आधुनिक प्रविधि भित्र्याएर फोहोर व्यवस्थापन गर्न सकिने सम्भावना रहेको छ । त्यसतर्फ यथासक्य ध्यान दिनुपर्ने देखिन्छ।
सँगै प्रवृत्तिमा सुधार :फोहोर व्यवस्थापनको सबैभन्दा सजिलो तरिका हो, नागरिकहरूको आनीबानी, व्यवहार र प्रवृत्तिमा सुधार गर्ने । विदेश जाँदा सडकमा फोहोर नफाल्ने नेपाली नेपालमा किन फाल्छन् ? यहाँ पनि कडा नियमन र नागरिकलाई सडकमा फोहोर नफाल्न प्रोत्साहन गर्ने हो भने उनीहरूको आनीबानी र प्रवृत्तिमा सुधार आउन सक्छ ।
कवाडी व्यवस्थापनलाई प्रभावकारी बनाउने :काठमाडौं उपत्यका भित्रबाट निस्कने कवाडीको एकीकृत प्रणालीबाट व्यवस्थापन गर्ने हो भने त्यसले धेरै हदसम्म फोहोर व्यवस्थापन गर्न सहयोग पुर्याउँछ । कवाडी सामानको विक्री व्यवस्थापन प्रभावकारी नहुँदा व्यापारीहरूले सामान प्याकिङका लागि प्रयोग गर्ने विभिन्न प्रकारका सामानहरू फोहोरको रूपमा बाहिर निस्कने गरेका छन् जसले गर्दा फोहोरको मात्रा बढेर गिजोलिएको छ ।
बञ्चरेडाँडाका बासिन्दाहरूसँग भएका सहमति कार्यान्वयन गर्ने : विभिन्न बैठकमा ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाहरूसँग भएको सम्झौताहरू कार्यान्वयन गर्ने । प्रभावित स्थानीय बासिन्दा र काठमाडौँ महानगरबीच प्रत्येक महिनामा दुईपटक जति सम्झौता हुने रहेछ । ती सम्झौतालाई सरकारले ध्यान दिन नसक्ने र फेरि जनताहरू सङ्घर्षमा उत्रिने गरेका छन् । २०६२ सालदेखि अहिलेसम्म विभिन्न निकायमा करीब १ सय ७४ वटा सहमति सम्झौताहरू भइसकेको कुरा शहरी विकास मन्त्रीज्यूले बताउनुभएको छ । विभिन्न समय र निकायबीच भएका सम्झौताहरू कार्यान्वयनमा लैजानु पर्दछ ।
महानगर फोहोरमैला प्रशासनमा सुधार : महानगरपालिकाको फोहोरमैला प्रशासनमा पनि सुधारको खाँचो औंल्याइएको छ । फोहोरमैला व्यवस्थापनमा काम गर्ने संयन्त्रका केही गुनासाहरू पनि हुन सक्छन्, तिनको सम्बोधन गर्दै रिवार्ड एन्ड पुनिलमेन्टको रणनीति पनि आवश्यक देखिन्छ । अनुशासित कर्मचारीलाई पुरस्कृत गर्ने । श्रम अनुसारको पारिश्रमिक उपलब्ध गराउने ।
फोहोरमैला व्यवस्थापनमा संस्थागत अवरोध गर्ने कर्मचारीहरूलाई कारवाहीको दायरामा ल्याउँदा पनि व्यवस्थापन गर्नका लागि सजिलो हुन्छ । लार्ज स्केलमा सवारी साधनको परिचालन हुने ढुवानीका साधन मर्मत सम्भारको कार्य गर्दा वित्तीय जोखिम पनि हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।
त्यसैगरी स्थानीय नागरिकबाट फोहोरमैला व्यवस्थापन शुल्क लिने गरिएको छ । उक्त रकमलाई पनि पारदर्शी बनाउनु पर्दछ । हालसम्म ७६ वटा संस्थाहरूले काठमाडौंको फोहोर उठाएका छन् तर महानगरसँग सम्झौता गरेका छैनन् भन्ने सञ्चारमाध्यममा आएको छ । सम्झौता नभएकाहरूसँग सम्झौता गरौँ । नागरिकहरूसँग लिएको शुल्कको सदुपयोग गरौं ।
मध्यकालीन रणनीति:
फोहोरबाट जैविक मल उत्पादन गर्ने, सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार परियोजना सञ्चालन गर्ने । काठमाडौंभित्रका जनप्रतिनिधिहरू लगायत सबै सरोकारवालाहरूले फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने राष्ट्रिय अभियान घोषणा गरी निरन्तर अभियान सञ्चालन गर्ने । समुदायभित्र रहेका स–साना बाँझो जग्गामा खाल्डो खन्ने र दुर्गन्ध नफैलिने फोहोरबाट जैविक मल बनाउने ।
काठमाडौंमा कौशी खेतीको प्रशस्त सम्भावना भएको हुँदा कौशी खेतीलाई प्रवर्धन गर्दै घरबाट निस्कने गल्ने फोहोरबाट कौशीमा नै मल बनाएर कौशी खेती गर्ने प्रणालीको विकास गर्नु पर्दछ । मध्यकालमा गरिने यसप्रकारका कामबाट फोहोर व्यवस्थापन गर्न सकिने देखिन्छ । बन्चरेडाँडाको फोहोर व्यवस्थापन केन्द्रका बाँकी काम पूरा गर्नु गर्ने । फोहोर व्यवस्थापनका थप पूर्वाधारहरू निर्माण गर्ने । फोहोर ढुवानी गर्ने सडकको बाँकी काम पूरा गर्ने ।
दीर्घकालीन रणनीति :
दीर्घकालमा जिरो ल्यान्डफिल साइटको अवधारणा अनुसार फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने । वर्गीकृत फोहोरमध्ये कुहिने फोहोरलाई सिधै जैविक मल बनाउने औद्योगिक ग्राममा पठाउने । कवाडी सामानहरूलाई कवाडी संकलन केन्द्रमा पठाउने । कवाडीको एकीकृत ठेक्कापट्टाको प्रवन्ध मिलाउने ।
फोहोरबाट विद्युत निकाल्ने गृह निर्माण गरी कतिपय अवस्थामा सिधै विद्युत गृहमा फोहोर पठाएर विद्युत निकाल्ने प्रविधि अवलम्बन गर्ने । इन्सिनरेटर जडान गरेर उच्चस्तरीय प्रविधिबाट फोहोरको व्यवस्थापन, प्लास्टिकजन्य फोहोरलाई महानगरभित्रको कालोपत्रे गर्दा आस्फल्टसँग मिसाएर प्रयोगमा ल्याउने रणनीति पनि अवलम्बन गर्न ढिला गर्न हुँदैन ।
दीर्घकालीन रणनीतिका लागि सरोकारवाला विज्ञहरूसँग बसेर चिन्तन मनन र मन्थन गरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।
निष्कर्ष :
काठमाडौंको फोहोर व्यवस्थापन आमचासो हो । फोहोर व्यवस्थापनका लागि मूलरूपमा "सात प"लाई कार्यान्वयनमा ल्याउन सकेमा केही हदसम्म कम गर्न सकिन्छ ।
जस्तै प्रवृत्तिमा सुधार, प्रणालीमा सुधार, प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण, प्रचार-प्रसारात्मक अभियान र परिचालन (समुदाय, टोल, नागरिक समाज, व्यावसायिक संस्था लगायत) र परिपालना (कानूनको)लाई कार्यान्वयनमा ल्याउन सकेमा फोहोर व्यवस्थापनमा सघाउन पुग्ने देखिन्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...