![सस्तो लोकप्रियताका पछाडि दौडिँदा तीज गीतको मौलिकता हरायो– शर्मिला गुरुङ [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Sharmila_Gurung_nMI7JO8lz9.png)
शर्मिला गुरुङ – २०५६ सालदेखि लोकदोहोरी क्षेत्रमा उदाएर आजको दिनसम्म अनवरत सक्रिय नाम हो । लोकदोहोरीमा ‘शालीन’ गायिकाको छवि, ३ हजार ५ सय बढी गीतमा गुञ्जिसकेको स्वर ।
शर्मिलाले स्वर दिएका तीजका गीतहरू मात्रै ३ सयभन्दा बढी छन् । यस वर्ष पनि उनको स्वरमा आधा दर्जन तीज गीत सार्वजनिक भएका छन् । यद्यपि, ती मौलिकता बोकेका तीज गीतहरू छायाँमा परेको शर्मिला बताउँछिन् । उनी पछिल्ला वर्ष मौलिकता बोकेका अधिकांश गीतहरू छायाँमा पर्ने गरेको गुनासो गर्छिन् ।
तीजको सिजनमा ‘तीज गीत’ भनेर सार्वजनिक गरिने धेरै गीतहरू तीज गीत नै नभएको उनको भनाइ छ । ‘केही वर्ष अघिसम्म अलि देखिन्थे भने अहिले त तीजको मर्म बोकेका गीतहरू भेटाउनै गाह्रो छ,’ उनी भन्छिन् ।
शर्मिलाले तीज मात्र नभएर समग्र लोकदोहोरी क्षेत्रमै विकृति देखिएको बताउँदै त्यसलाई कम गर्न स्वयं सर्जक एवं गायक गायिकाहरू संयमित हुनुपर्ने बताइन् ।
शर्मिलासँग तीजको छेकोमा कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
केही समयअघि फेसबूकमा एउटा स्टाटस लेख्नुभएको थियो, ‘जातिविधि गतिछाडा पनि नहुने हो कि ! नेपाली गीत संगीतको इज्जत पनि राख्न सिक्ने हो कि !’ कुरा त्यहीँबाटै शुरू गरें, गीत संगीत गतिछाडा नै हुँदै गएको हो ?
अहिले त्यस्तै माहोल देखिएको छ । अझ विशेष गरेर तीजको भनिएका गीतहरूमा त्यो विकृति बढी देखिएको छ । तीजको गीतमा मौलिकता हुनुपर्छ ।
हामी मौलिकताको कुरा गर्छौं । मौलिक हुनुपर्छ भनेर भन्छौं । तर, वास्तवमा त्यस्तो पाइँदैन । पहिलेको जस्तो एउटा कलर त आउनुपर्यो नि !
अहिले तीजको बेलामा ल्याइएको भएर तीजको गीत भनिएको हो, तर वास्तवमा अहिले आएका धेरै गीतहरू तीजका गीत नै होइनन् ।
आइरहेका मध्ये कति प्रतिशत तीज गीत होलान् ?
केही वर्ष अघिसम्म अलि देखिन्थे भने अहिले त्यस्तो खालका गीत भेट्टाउनै गाह्रो छ । यति भन्दै गर्दा तीजको मर्म बोकेका गीतहरू आउँदै नआएका भने होइनन्, केही सीमित मात्रै छन् । तर, मौलिकता बोकेका, वास्तविक तीज गीतहरू चर्चामै नआउने अवस्था छ ।
विकृति तीज गीतमा मात्रै देखिएको हो कि समग्र लोकदोहोरीमा छ ?
अहिले लोकदोहोरीमा पनि विकृति देखिएको छ । हरेक वर्ष मौलिकता घट्दै र विकृति बढ्दै गइरहेको जस्तो लाग्छ ।
किन यसरी विकृति बढ्दै गएको होला ? यसको कारण के लाग्छ ?
त्यसभित्र म स्वयं पनि शायद पर्छु होला ।
हामी कलाकारहरू ‘भइहाल्छ, चलिहाल्छ’ भन्ने हिसाबले काम गर्छौं जस्तो लाग्छ । त्यही हिसाबले दौडिरहेका छौं कि जस्तो लाग्छ ।
गीत संगीतमै लागेका कलाकारहरूले पनि सोचविचार गरेर मेहनत गरेको कमै पाउँछौं । चलिहाल्छ भन्ने हिसाबले जाने, अनि सस्तो लोकप्रियताको पछाडि दौडिने प्रवृत्ति हावी हुँदै गएको छ ।
नयाँ कुरामा लाग्नुभन्दा एउटाले जे गर्यो त्यही कुराको सिको गर्ने प्रवृत्ति पनि छ । यस्ता विभिन्न कारणले गीत–संगीत क्षेत्रमा विकृति बढ्दै गएको जस्तो लाग्छ ।
‘लाइभ दोहोरी’का कारण पनि लोकदोहोरी क्षेत्रलाई हेर्ने नजर नराम्रो देखिएको छ भन्छन् नि !
एक हिसाबले हेर्दा लाइभ दोहोरी गर्व गर्नुपर्ने कुरा पनि हो । लाइभ दोहोरी विशेषगरी देशबाहिरका दर्शकले बढी हेर्दै आउनुभएको छ । उहाँहरूले समय बिताउने, रमाइलो गर्ने अथवा सिरियस खालका गीतहरू लाइभ दोहोरीमा सुन्दै आउनुभएको छ ।
तर, पछिल्लो समयमा लाइभ दोहोरी भनेको छाडा रहेछ भन्ने छाप परिरहेको छ । म के अनुरोध गर्न चाहन्छु भने, छाडा गाउनु हुँदैन । हामीलाई त त्यस्तो पच्दैन पनि । गाउन त परै जाओस्, हेर्न र सुन्न पनि गाह्रो लाग्छ ।
लाइभ दोहोरीमा बस्दा एकछिन रमाइलोमा मात्रै लाग्ने गरेको हुन सक्छ । तर, यो गीत बाहिर गैसकेपछि, पब्लिकमा पुगिसकेपछि को–कसले हेर्छ भन्ने कुरा सोच्नु अत्यावश्यक छ ।
चर्चा र युट्युबमा आउने डलरको लोभले पनि अहिले नामसँग खासै मतलब नभएको जस्तो देखिएको छ ।
अहिले त लाइभ दोहोरीको बाढी नै देखिएको छ हैन ?
हो । अहिले लाइभ दोहोरी एकदमै धेरै आएको छ । जसका कारण अफिसियल्ली गीतहरूको भ्युज पनि अहिले कम देखिएको छ । लाइभ दोहोरी त्यति धेरै खर्चिलो पनि नहुने, आलोपालो गरेर गाउने गरिएको छ ।
स्टुडियोबाहेक कलाकारलाई पैसा तिर्न नपर्ने । यिनै कारण लाइभ दोहोरी बढेको जस्तो लाग्छ । लाइभ दोहोरीका कारण धेरैको आयआर्जनको बाटो पनि राम्रो देखिएको छ । लाइभ दोहोरी धेरै आउनु नराम्रो होइन, तर लाइभ दोहोरी गाउँदा छाडापन कत्तिको छ भन्ने कुरामा चाहिँ सचेत हुनुपर्ने हो ।
तीजको माहोल छ, तीजमै केन्द्रित हौं । हजुरको यस वर्ष तीज गीत कति आए ?
गत वर्ष ९/१० वटा गाएकी थिएँ होला । त्यसको तुलनामा यस वर्ष अलि कम आए । तर, मेरो मात्र होइन, समग्रमै यस वर्ष तीज गीतहरू नै कम आएका छन् ।
यस वर्ष मैले ६/७ वटा तीज गीत गाएँ । रेम गुरुङको ‘केले रुवायो मलाई ?’ बोलको राम्रो गीत गाएँ । यसमा मैले र शान्तीश्री परियार बैनीले स्वर दिएका छौं ।
त्यसपछि मेरै युट्युब च्यानलबाट आएको ‘रानी’बोलको तीज गीतको शब्दहरू पनि एकदमै राम्रो छ । अर्को ‘तीज आयो आमा’बोलको गीत पनि मौलिक छ ।
रमेश बिजीको शब्दमा पनि एउटा तीज गीत गाएकी छु । गीतहरू सबै उत्कृष्ट छन्, मौलिक छन् । तर, त्यही हो मौलिकता बोकेका गीतहरूले खासै चर्चा पाउँदैनन् ।
तर, मलाई भ्युजसँग खासै मतलब भएन । किनभने मैले जसको सिर्जनाहरूमा गाएको छु, ती गीतहरू मौलिकता बोकेका छन् । र, मैले भ्युजका लागि गीत गाएकी पनि होइन ।
यस वर्ष तीज गीतहरू घट्नुको कारणहरू के होलान् ?
गीत खर्चिलो बन्दै गएको छ । अडियो र भिडियोमा २ देखि ३ लाख रुपैयाँ लगानी गर्नुपर्छ । कोरोनाका कारण लगानी गर्न पैसा पनि नभएर होला ।
तीज सिजनल गीत भएका कारण पनि कमी आएको हुनसक्छ । त्यसमाथि अहिले टिकटक र लाइभ दोहोरीले म्युजिक भिडियोको भ्युज अपेक्षित गएको छैन ।
लगानी रिर्टन आउन गाह्रो हुने भएको कारणले पनि तीज गीतमा लगानी गर्न हिच्किचाउँदा विगतमा भन्दा कम आएको हुनसक्छ ।
तपाईंको बुझाइमा तीजको महत्त्व र विशेषता के हो ?
तीज परापूर्वकालदेखि मानिँदै आएको मौलिकता बोकेको चाड हो । प्रत्येक वर्ष मनाउँदै आएको चाड । विशेषगरी चेलीबेटीहरूको चाड, नारीहरूको चाड भनेर लिन्छौं ।
महिलाको चाड भन्छौं, तर तीज गीतमा पुरुष कलाकारहरू हावी देखिनुहुन्छ नि ?
अरूमा त्यस्तो छैन, गीत संगीतमा चाहिँ पुरुष कलाकारहरू बढी देखिनुहुन्छ । प्रत्येक वर्षको तीजको स्टेज कार्यक्रमहरूमा पनि महिलाभन्दा पुरुष कलाकारहरू नै बढी देखिनुहुन्छ ।
खास भन्ने हो भने तीजको गीत पुरुषले गाउने नै होइन भनिन्छ । टिपिकल तीजको गीत पुरुष कलाकारहरूले गाउँदा पनि गाउनुहुन्न जस्तो लाग्छ ।
तर मौलिकता भन्दा केही बाहिर रहेर तीज गीत आउन थाले । पुरुष कलाकारहरूले गाउने र तीजको समयमा आउने भएका कारण नै माहोल फेरिँदै गएको हो जस्तो लाग्छ । अब, यसलाई त समयअनुसारको माग नै भन्नुपर्ला ।
पछिल्ला दुई वर्ष कोरोनाका कारण तीजका कार्यक्रमहरू भएनन् । यस वर्ष तीजका थुप्रै कार्यक्रमहरू भइरहेका छन् । तपाईंको तीज कार्यक्रमहरूको शेड्युल के छ ?
नेपालभित्रबाट धेरै कार्यक्रमहरूबाट निम्तो आएको हो । भारतबाट पनि कार्यक्रमको कुरा आएको थियो । नेपालमा केही तीज कार्यक्रमहरूमा पुगेर प्रस्तुती दिएँ पनि ।
यस वर्ष तीज भने जापानमा मनाउने छु । त्यहाँ रहेका नेपाली दिदीबहिनीहरूसँग रमाएर तीज बित्नेछ ।(जापान जानुअघि नै यो अन्तर्वार्ता लिइएको हो । गुरुङ अहिले जापान पुगिसकेकी छिन् ।)
तीजको रौनक यस वर्ष कम हो ?
मलाई त्यस्तै लागेको छ । तीज विशेष कार्यक्रमहरू भइरहेका छन् । मानिसहरूले तीज मनाइरहेका पनि छन् । तर पनि खोइ किन हो किन धेरै रौनक पाइरहेकी छैन । कोरोनाका कारण दुई/तीन वर्ष ग्यापमा भएर हो कि ? गाउँतिर अलि रमाइलो माहोल भए देखिएन । बजारमा चाहिँ रौनक त्यति पाएकी छैन ।
हजुरले तीज गीत गाउन थाल्नुभएको कति वर्ष भयो ?
सांगीतिक क्षेत्रमा लागेदेखि नै गाउन थालेकी हुँ । मैले पहिलो गीत रेकर्ड गराएको ५७ सालमा हो । त्यति बेलादेखि नै तीजको गीत गाउन थालेकी हुँ ।
पहिले आफ्नो तीज गीत ल्याउने, अरूको नगाउने भन्ने मेरो मान्यता थियो । अडियोको त्यो बेलामा अरूको अफर आएपनि गाउने थिइन् ।
अहिले सोच्दा अचम्म लाग्छ, खोइ त्यो बेला मैले बुझेर हो कि नबुझेर हो, आफ्नो बनाउने भएपछि अरूको गीत गाउँदा आफ्नो भन्दा राम्रो हुन्छ भन्ने सोचेर पनि हो कि, पछि भने अरूको तीज पनि गाएँ ।
हजुरका शुरूआती दिनका तीज गीतहरू याद छ ?
छ नि ! गाउँमा हुँदा हामीले जस्ता गीतहरू गाउँथ्यौँ, त्यही गीतहरू कलेक्सन गरेर गाएँ । शुरूआती दिनमा वर्षैपिच्छे आफैँ लेख्ने, आफैँ भाका बनाउने र गाउने गरेर मौलिक तीज गीतहरू ल्याउँथे । त्यो बेला धेरै गीतहरू बनाएकी रहेछु ।
अहिले कति शब्दहरू मैले बिर्सिसकेँ । त्यो अडियोको समयमा पनि धेरै गीतहरू स्रोताहरूले मन पराउनुभयो । अलि पछि राजकुमार बगरको संकलनमा ‘हाम्फालेर मरौं कि’ तीज गीत धेरैले रुचाउनुभयो ।
महिलाको बेदना बोकेको उक्त गीतलाई अहिले पनि धेरैले प्रशंशा गर्ने गरेको पाउँछु । ‘आज मेरो माइत जाने पालो’ तीज गीतलाई पनि धेरैले उत्तिकै रुचाउनुभयो । अलि पछाडि ‘फाटिसक्यो होला आमा’बोलको तीज गीतलाई पनि धेरैले रुचाउनुभयो । यीबाहेक धेरै तीज गीतहरू छन्, जसलाई स्रोता/दर्शकहरूले रुचाउनुभएको छ ।
तीज गीत मात्रै कति गाउनुभएको छ ?
मैले बनाएको र मैले गाएको मात्रै पनि १ सयभन्दा बढी छ । अरूको पनि गरेर ३ सयभन्दा बढी तीज गीतहरू गाएकी छु ।
तपाईंले गाउनुभएको गीतहरूको संख्याचाहिँ कति पुग्यो ?
३ हजार ५ सय भन्दा बढी होला ।
थोरै शुरूआती दिनको कुरा गर्न चाहेँ, सांगीतिक क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
सानै हुँदा गायिका नै बन्छु भन्ने त थिएन । तर, रेडियोमा बज्ने गीतहरूबाट आकर्षित हुँदै गए । वरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझी, वरिष्ठ लोकदोहोरी गायिका बीमाकुमारी दुरा लगायतका गीतहरू सुनेँ ।
उहाँहरूका गीतहरूबाट प्रभावित हुँदै गएँ । गीत मन पर्न थाल्यो मलाई । शायद, आफैँमा पनि त्यस्तो केही भएर पनि मन परेको होला ।
धेरै गीतहरू गाउनुभएको छ । तीमध्ये धेरै गीतहरू रुचाइएका छन् । केही चलेका गीतहरूको नाम लिनुपर्दा कुन–कुन गीतलाई लिनुहुन्छ ?
गीतहरू धेरै छन् । कति त मैले पनि बिर्सिसकेँ । केहीको नाम लिनुपर्दा नारायण दाइ (नारायण रायमाझी)कै प्रोजेक्टमा ‘राम्दी पुल’ भयो, ‘भाले बासेन र ?’ भयो ।
‘मिर्मीमुनि काली थुनेको’ गीतलाई एकदमै रुचाइदिनुभयो । ‘निलो पछ्यौरी’, ‘कालीगंगा तरे’, ‘बल्लै भो भेट’ लगायतका गीतहरू पनि निकै रुचाइयो । मेरो आफ्नै एल्बम ‘फर्क मुग्लानी’ पनि एकदमै रुचाइयो । राजकुमार बगर दाइले शब्द लेख्नुभएको, लय पनि उहाँकै हो । त्यो एल्बममा ६ वटा गीत हुन्थ्यो, त्यसभित्र सबै गीत राम्रो छ ।
तीजसँगै लोकदोहोरी गीतमा विकृति देखिएका कुराहरू गर्यौं । गीत संगीतमा देखिएका विकृति कम गर्न के गर्नुपर्ला ?
सर्वप्रथम त सर्जक स्वयं जिम्मेवार हुनुपर्छ । गायक–गायिका जिम्मेवार हुनुपर्छ । कतिपय अवस्थामा गीत एकखालको बनेको हुन्छ, भिडियो बनाउनेले अर्कै खालको बनाइदिन्छ ।
यसमा सम्बन्धित गीतको दुई–तीनजनाले राम्रोसँग विश्लेषण गरेर काम गर्नुपर्छ जस्तो लाग्छ । त्यो भयो भने मात्र विकृति रोकिन सक्छ । जसले जे गरेपनि हुन्छ भन्ने हिसाबले कम गरियो, यसले भोलिका दिनमा कस्तो असर गर्न सक्छ भन्ने सोचिएन । पैसा र क्षणिक चर्चाका लागि मात्रै सोचियो भने चाहिँ गाह्रो हुन्छ ।
मेरो व्यक्तिगत विचारमा जो कोहीले सस्तो लोकप्रियताका लागि गीत संगीतमा विकृति ल्याउने खालको कामहरू गर्नुभएन भने राम्रो हुन्थ्यो जस्तो लाग्छ ।