×

NMB BANK
NIC ASIA

साहित्य

बच्चीमाथि निर्दयी राजनीति !

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • रञ्जना पौडेल

हिंसाका विषयमा कसैले सोध्यो भने सबैभन्दा पहिले तपाईंको दिमागमा केको चित्र आउँछ ? कुनै महिलाको ? पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चित बनेका समाचारहरूको ? ब्लगहरूको ? लेखको ? समालोचनाको ? कथाको ? कविताको ? उपन्यासको ?

Muktinath Bank

तपाईंको मनलाई जुन–जुन घटनाले छोएका छन्, तिनै सम्झनाहरू एकपछि अर्को दृश्य बनेर आउँछन् तर जे आउँछ, त्यो महिलासँग जोडिएर आउँछ । जे आउँछ, त्यहाँ महिलाको चित्र आउँछ, महिलाको चरित्र आउँछ । आमा, दिदीबहिनी, भाउजु प्रेमिकाका अनुहारहरू आउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टनेटमा हिंसा भनेर सर्च गर्ने बित्तिकै अनगिन्ती महिलासँग जोडिएका लिंकहरू आउँछन् तर के तपाईंको राजनीतिक आस्था फरक भएकै कारणले तपाईं वरिपरि बस्नेहरूले फरक व्यवहार गर्छन् भने त्यो हिंसा होइन ?


Advertisment
Nabil box
Kumari

फरक आस्था भएकै कारण तपाईं जसलाई आदर्श नेता मान्नुुहन्छ, उसैले गरेको राम्रो या नराम्रो कामबारे टिप्पणी गर्दै तपाईंलाई बारम्बार सुनाइरहन्छ भने त्यो हिंसा होइन ? फरक आस्था भएकै कारणले तपाईंले पाउनुपर्ने अवसर नियतवश अर्कोले खोसिदिन्छ भने त्यो हिंसा होइन ? फरक आस्था भएकै कारणले तपाईंलाई बारम्बार एक्लो पार्ने कोसिस गरिन्छ भने त्यो हिंसा होइन ? फरक आस्था भएकै कारणले तपाईंको व्यवहारको पटक–पटक आलोचना गरिन्छ भने त्यो हिंसा होइन ? बोलिरहेको हाँसिरहेको मानिस तपाईं अर्कै आस्था भएको मानिस भन्ने थाहा पाउने बित्तिकै एक्कासि बोलचाल बन्द गर्छ र जम्काभेट हुँदा मुन्टो बटार्छ भने त्यो हिंसा होइन ?

Vianet communication
Laxmi Bank

विकिपिडीया भन्छ, ‘हिंसाका प्रकारहरूमा भावनात्मक र मनोवैज्ञानिक पनि पर्दछन् । कुनै पनि प्राणीलाई तन, मन, कर्म, वचन र वाणीबाट कुनै नोक्सान पुर्‍याउनु हिंसा हो । मनमा कसैको अहित सोच्नु, कसैलाई कटुवाणी तथा काम आदिका माध्यमद्वारा नोक्सान पुर्‍याउनु पनि हिंसा हो ।’

मैले भन्न खोजेको हिंसाका अनेक रूप हुन सक्छन् । जातीय हिंसा, महिला हिंसा, वर्गीय हिंसा, हामीले सुन्दै र देख्दै आएका छौं । त्योबाहेक समाजमा अन्य धेरै हिंसाहरू छन् । जसरी अपराधका अनेक रूप हुन्छन्, मानिसका स्वभाव अनेक हुन सक्छन्, जसरी हरेक समाज फरक भौगोलिक कारणले फरक रहन्छ, त्यसरी नै  हरेक फरकपनमा हिंसा पनि फरक–फरक हुन्छन् । 

म हुर्केको मेरो समयको टोलमा जम्मा २ फरक आस्था भएका घरहरू थिए । एउटाको बाहुल्यता र अर्कोको अल्पमत । म एकाध घरको प्रतिनिधित्व गर्ने बच्ची थिएँ तर हामीलाई त्यो समय भेदभाव के हो ? राजनीति के हो ? फरक आस्था के हो ? थाह हुन्नथ्यो । बच्चा थिएँ । खेल्न पाए पुग्ने थियो । त्यसदिन पनि म साथीहरूसँग खेल्दै–खेल्दै पुगेकी थिएँ घरभन्दा झण्डै ३ किलोमिटर पर ।

हामी ५–७ जना लहरै एकै लाइनमा उभिएका थियौं । हामी अघिपछि दाइ, दिदीहरू, आमा भाउजुहरू, काकाकाकीहरू सबै उभिएका थिए । हामीलाई १ जना दाइले झण्डा जस्तो केही बोक्न दिनुभयो । हामीले एकदम खुशी भएर त्यो बोक्यौं । साथीहरू झन् खुशी । तेरोभन्दा मेरो झण्डा राम्रो, तेरोभन्दा मेरो ठूलो भन्दै खुशीले उफिरह्यौं ।

हामी हाँसिरहेकै थियौं । खेलिरहेकै थियौं, उफ्रिरहेकै थियौं । मानिसहरूको भीड थियो । कोही रातो र कोही सेतो भएको झण्डा बोकेका मानिसहरू देखिन्थे । मलाई के थाहा ? ती झण्डाहरूले कुन आस्थालाई प्रतिनिधित्व गर्छ ? बस साथीहरूसँग रमाउन पाए पुगेकै थियो । 

मानिसहरूको भीडभन्दा पर एउटा घरसँग आधा छेलिएर मैले चिनिरहेका र मेरो घरमा आउजाउ गर्ने दिदीहरूले मलाई हातको इसाराले बोलाइरहेको मैले अचानक देखें । उनीहरू निकै हतारिएका थिए । कसैले आँखा ठूला पार्दै मलाई ‘छिटो आइज, त्यहाँ बस्नु हुँदैन’को इशारामा बोलाइरहेका थिए । कसैले हत्तेरिका कस्तो कुरा नबुझेको छिटो आइज न के भन्ने इशारामा बोलाएको बोलाएै थिए । 

जब मैले उनीहरूले मलाई बोलाइरहेको चाल पाए । हाँसिरहेको, जिस्किरहेको  म एक्कासि ढुंगोझैं  भएकी थिएँ । के गरुँ ? कसरी जाउ ? साथीहरू छोडेर । मैले के गल्ती गरे यहाँ उभिएर ? के गल्ती गरे यो प्लेकार्ड बोकेर ? के छ यसमा मैले बोक्नै नहुने ? को छन् यहाँ जहाँ म उभिनै नहुने ? यस्तै केही धेरै कुरा आएको हुँदो हो मेरो मनमा । उनीहरूले यति धेरै बोलाउँदा पनि म जान सकिनँ । उभिरहें । जसरी उभिन्छ चोकको बीचमा एउटा शालिक । किंकर्तव्यविमुढ । 

म टसमस नभएपछि एउटी दिदी आएर मेरो हातै समातेर  हुत्तिएर पुगिन् साथीहरू भएको ठाउँमा । मेरो हातमा भएको प्लेकार्डलाई नजिकैको नहर कुलोमा हुत्याइदिए उनीहरूले । मेरो मन पनि हुर्रिएर कुलोमै पुग्यो होला त्यो बेला, मेरा आँखा रसाए प्लेकार्ड फालिदिएपछि । 

घर वरिपरि खेल्दा, घरका कसैले मलाई बोलाउँदा ‘नजाउ न के एकछिन’ भनेर मेरो हात समात्ने मेरै साथीहरूले त्यसदिन मलाई त्यसो गरेनन् । दिदीहरूले मलाई त्यसरी मानिसहरूको भीडबाट तानेर लैजाँदा १ जना साथीले पनि मलाई ‘नलैजानुस् न दिदी हामी यो सकेर घरै आउँछौं’ भनेनन् । अहिले सम्झँदा लाग्छ – के उनीहरूलाई थाह थियो त्यसदिन राजनीतिक जुलुस थियो ? के उनीहरूलाई थाह थियो म र उनीहरूसँग राजनीतिक आस्था फरक राख्ने परिवार थियो ? के उनीहरूलाई थाह थियो, त्यसदिन मलाई कसैले जान नदिए या गइसकेपछि कसैले बोलाए पनि केही फरक पर्नेवाला थिएन । अहिले सम्झिरहन्छु – के राजनीतिक कारण नै थियो ? त्यसदिन मलाई पाखा लगाएझै उनीहरू किन अघिअघि दौडिएका थिए ? अनि मैले उनीहरूले इग्नोर गरिरहेका छन् भन्ने बुझ्न नसकेर उनीहरूको पछिपछि लागिरहे ? दौडिरहे ?

मलाई उनीहरूले नहरकुलो छेवैछेउ यसरी दौडाएर बजार पुर्‍याए कि मानौं हामीलाई कसैले लखेटिरहेको छ, उनीहरूबाट बच्न हामी भागिरहेका छौं र बजारकै एउटा घरको माथिको तल्लामा दिदीहरूसँगै थुनिए म पनि र झ्यालबाट चिहाएर हेर्‍यौं टाढाबाट, उनीहरू नारा लगाउँदै बजारतिर आइरहेका थिए । यति हुँदा पनि मलाई कसैले भनेनन् या मैले जान्न नै खोजिनँ, त्यो समय मलाई किन तानिएको थियो त्यो लाइनबाट ? उनीहरूसँगै चिच्याउँदै उफ्रिँदै हिँड्न नपाएकोमा दुःख थियो मनभित्र । घाँटीनेर केही गाँठो परेझै भइरहेको थियो । जब त्यो लाइन बिस्तारै हिँड्दै नारा लगाउँदै झण्डा हल्लाउँदै बजार आइपुग्छ अनि त्यहाँ झडप हुन्छ । यो कुरा उनीहरूलाई पहिले नै थाहा थियो कि झडपका लागि पहिले नै तयारी भएको छ । 

जब नारा लगाउँदै उनीहरू बजारमा आइपुगे, २ पक्षबीच झडप भयो । केहीबेरमा नै झण्डा बोकेको त्यत्रो भीड एकैछिनमा कहाँ तितरवितर भयो ? मैले केही पत्तो पाइनँ । मलाई अहिले बल्ल लाग्छ, मेरो परिवार मेरो टोलमा पो अल्पमतमा थियो । पूरै बजार या गाउँमा थिएन । मलाई बचाउनका लागि नै त्यो सबै गरिएको थियो । आज सम्झन्छु, त्यो घटना, त्यो भीडको भन्दा फरक आस्था बोक्थ्यो मेरो परिवार र मलाई त्यहाँबाट त्यसरी भगाइएको थियो ।

अनि याद गर्छु, एकले अर्कालाई निषेध गर्ने क्रूर समय थियो त्यो । त्यो समय प्रत्येक घरमा मानिसहरू हुँदैन्थे । हुन्थे त कांग्रेस र कम्युनिस्ट मात्र । मेलापातमा राजनीति, गोठालोमा राजनीति, चाडपर्वमा राजनीति । 

एकपटक बाख्रा चराउन जाँदै गर्दा दाइदिदीहरू पनि सँगै थिए । सबैले जंगलमा लगेर छाड्ने अनि घाँँस चाहिनेले घाँस काट्ने, दाउरा चाहिनेले दाउरा, केही नचाहिने म मात्रै हुन्थे । म सानै थिएँ । घाँस दाउरा बोक्न सक्ने बेला भएको थिएन सायद । बाख्रा जंगलमा लगेर छाड्ने र साँझ घर लिएर आउनेबाहेक मेरो अरु काम हुँदैन्थ्यो । त्यसदिन सबैले घाँस दाउरा गरेर खोलामा वस्तुभाउ कुरिरहेका थिए, म पनि उनीहरूसँगै थिएँ । सबैका गाई, बाख्रा पर पाखामा चरिरहेका थिए । घर फर्कन सबैलाई हतार थियो । १ जना दाइ खोला पारी गएर सबै वस्तु फर्काएर घरतिरको बाटोमा लगाएर आए । मेरा बाख्रा ल्याइदिएनन् । मेरा बाख्रालाई छलीछली आफ्ना वस्तुभाउ मात्र धपाएर उकालो लगाए ।

म हेरेको हेर्‍यै भएँ । मेरा बाख्रा किन ल्याएनन् ? के उनी मसँग रिसाएका थिए ? मैले उनले भनेको केही नमानेको थिए ? या अरु केही ? उनीहरू गाईवस्तु लिएर उकालो लाग्दै गर्दा मैले धेरै सम्झने कोसिस गरें तर सकिनँ । मैले मेसो पाउन सकिनँ । उनले किन मलाई मात्र छाडेर सबैका लिएर उकालो लाइदिए र उनीसँगै अरुहरू पनि हाँस्दै गफ गर्दै उकालो लागे ? मेरो घाँटीनेर खै के आएर अड्किएझैं भयो । आँखा भरिएर आए । भक्कानिएको मन लिएर हेरिरहें उनीहरू गएको उकालो ।

खोलाको किनारमा थिएँ । पानीमा सुलुलुलु माछा बगेको देखें । एक पटक पुलुक्क बाख्रातिर हेरें, चरिरहेकै थिए । मैले बिर्सिएँ, उनीहरूले बेवास्ता गरेको । बिर्सिएँ, एक्लै बनाएर छाडेर हिँडेको । बिर्सिएँ, घर जाने होइन भनेर एकपटक पनि नसोधी हिँडेको । 

रात पर्नै लागेपछि पनि घर नफर्किएपछि आमाले खोज्नुभएछ, छिमेकीले सुनाइदिएछन् कि उ हामीसँग थिइनँ । आमा हतारिँदै आउनुभयो, म खोलामा नै थिएँ, पानीमा माछा समाउनमा व्यस्त । बाख्रा मेरै नजिक थिए । आमाले भन्नुभो, ‘अघि दाइदिदीहरूसँगै आउनु पर्दैन ? रात पर्न लागिसक्यो, खोलामा माछा मारेर बस्ने ? हेर सबै लुगा भिजाएर ।’

उकालो लाग्दै गर्दा मैले आमासँग सोधे, ‘उनीहरूले मलाई किन घर जाउँ भनेर भनेनन् ? मेरा बाख्र्रा किन धपाएनन् ?’ आमा केही बोल्नुभएन ।

तर राति खाना खाने बेलामा आमाले दाइहरूलाई यो कुरा सुनाइदिनुभयो । अनि मैले थाहा पाएँ, उनीहरूले म एक बच्चीमाथि पनि राजनीति गरेका थिए । आज आएर बुझें मैले, त्यो फरक आस्था भएकै कारण गरिएको फरक व्यवहार थियो । 

अर्को घटना पनि गोठालो जाँदाको नै सम्झना आउँछ । शनिवार आयो कि बाख्र्रा चराउनु पर्थ्यो मलाई । यसपटक म एक्लै थिएँ । नजिकै खोला पारि बाख्रा लगाएर म सानो रुखको काँपमा बसिरहेको थिएँ । माथिबाट मेरै दिदी पर्ने १ जना र उनका साथमा अरु दिदीबहिनीहरू पनि थिए । उनीहरू घाँस लिएर झर्दै थिए । मलाई देखेर मेरै आफ्नै पर्ने दिदीले भनिन्, ‘तैले हाम्रा बाख्रा किन धपाइदिइस् ?’ जबकि मैले उनीहरूको बाख्रा देखेकै थिइनँ । म रुखमा रुखकै हाँगो समातेर बसेको थिएँ । हाँगो समातेको हातमा उनले बेस्सरी आफूले बोकेको लाठी बजारिन् ।

शरीरमा करेन्ट लागेको मानिस के रन्थनिएला, त्यसरी जसरी म रन्थनिएको थिएँ ।  एैया ! भनेर हात उठाउँदा भूइँमा खसे, ढाड बजारियो ।  

मेरो हातमा लठ्ठी बजारेर उनी हिँडिसकेकी थिइन् । मलाई त्यसरी बजाउनुपर्ने अन्य कारण अहिलेसम्म पनि थाहा पाउन सकेको छैन तर लाग्छ उनले ममाथि फरक आस्था भएकै कारणले गरेको व्यवहार थियो त्यो । मन अहिले पनि दुख्छ बेस्सरी, जसरी त्यसदिन हातका औंलाहरू दुखेका थिए । 

किन मानिसहरू अनावश्यक सोचेर अरुलाई दुःख दिन्छन् । उनीहरूलाई कस्तो अवस्थाले अभिप्रेरित गर्छ ? के उनीहरू अर्काको पीडा अलिकति पनि महसूस गर्दैनन् ? या उनीहरू अरुलाई दुःखी देखेर रमाइलो महसूस गर्छन् ? अथवा उनीहरू आफूमाथि खतरा देख्छन् र त्यसलाई टार्न अरुलाई दुःख दिन्छन् ?

गोठालो भएर हिँड्दा मात्र होइन । फरक आस्था भएकै कारणले मैले अनगिन्ती समयहरू भोगेको छु । तीजमा गीत फरक, फरक, दशैंमा पिङ खेल्ने समय फरक, खेल्ने र खेलाउने समूह फरक । तिहारमा तास खेल्ने, भैलो खेल्ने समूह फरक । आफन्तहरू फरक । चाडबाड आयो कि आफ्नाहरू फरक देखिने पराइहरू आफ्नाझैं देखिने निर्दयी राजनीति ।

के समाजमा जातमा मात्र विभेद छ ? वर्गमा मात्र विभेद छ ? रंगमा मात्र विभेद छ ? लिङ्गमा मात्र विभेद छ ? धर्ममा मात्र विभेद छ र यिनै विभेदहरूले मात्र हिंसा जन्माउँछ ?

निर्दयी राजनीतिक सामाजिक परिवेशमा हुर्कंदै गरेको मलाई देशमा लागेको संकटकालले पनि अछुतो राखेन । संकटकाल लाग्नुभन्दा अगाडि बढेको चन्दा आतंकले  आतंकित थियौं हामी । फरक आस्था भएकै कारणले फरक तरिकाले चन्दा असुल्ने अचम्मको शैलीले दिक्क भएका हामीलाई संकटकालले पनि दुःख दियो । संकटकालको पहिलो ३ महिनाको समयमा गाउँगाउँमा को पीडित बनेन होला ? कसले दुःख पाएन होला ? फरक आस्था भएकै कारणले राज्यले जनतामाथि गरेको हिंसाको उपज थियो त्यो । संकटकालको समयमा राज्यले माओवादीलाई मात्र निशाना बनाउने भन्यो तर नेपाली सेनाले माओवादी कांग्रेस, एमाले वा अन्य भनेर हेरेन । भाग्दाभाग्दै एक गिलास पानी पिउन दिएको निहुँमा कैयन परिवार ध्वस्त भए । हिँड्दाहिँड्दै आफ्नै छोराजस्तै लागेर बोल्नेहरू सुराकीको आरोपमा परिवारकै अगाडि निर्मम तरिकाले मारिए । बन्दुक र धारिलो हतियारले छियाछिया बने । 

संकटकाल सकिएको थियो । शान्ति वार्ता निष्कर्षको अन्तिमतिर हुनुपर्छ केन्द्रमा तर गाउँगाउँमा अवस्था उस्तै थियो । त्यसबाट म पनि प्रभावित हुन पुगें । दुःख सहन नसकेपछि म काठमाडौं आएँ । काठमाडौं आएपछि मैले देखें – अर्को अतिवादी राजनीतिक हिंसा । क्याम्पस भर्ना भएको धेरै भएको थिएन । क्याम्पसको गेटैभित्र १ जना छात्रालाई अन्य पचासौं छात्राहरूले घेरेर औंला ठड्याउँदै केही भनिरहेका थिए । उनी एक्ली थिइन् । केही बोल्न सकिरहेकी थिइनन् । काली–निली भएर उभिएकी उनलाई फरक आस्था भएका छात्राहरूको भीडले नरोएसम्म छाडेन । उनी रुँदै गेटबाट बाहिरिइन् । केही दिनपछि या महिना दिनपछि हुनुपर्छ सुनें – उनी पक्राउ परिन् अनि मारिइन् । मैले सुनेको कतिसम्म सत्य थियो ? मैले बुझ्ने कोसिस गरिनँ तर मलाई लागिरह्यो र लागिरहन्छ – फरक आस्था राखेर त्यसदिन छात्राहरूको भीडले उनलाई नलेखेटेको भए ?

काठमाडौंमा पढ्दै जागिर खाने क्रममा भोगिएका हिंसाहरू राजनीतिसँग मात्र सीमित रहेनन् । यहाँ महिला हिंसा, यौन हिंसा, वर्गीय हिंसा, जातीय हिंसा सबै–सबै क्रमैसँग आए, गए । त्यसबारे पछि लेखुँला तर अहिलेलाई चर्चा राजनीतिक हिंसाको नै ।

मलाई अहिले पनि लाग्छ । गाउँको तुलनामा शहरसँग सभ्यता पनि धेरै हुन्छ । शहर शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्र हो । जहाँ शिक्षित वर्ग बढी हुन्छ, त्यहाँ सभ्यता पनि बढी नै हुन्छ र जाने बुझेका मान्छे भनेका बेग्लै हुन्छन् । सभ्य समाजमा अरुलाई दुःख दिनु भनेको नराम्रो काम गर्नु हो । यसै उसै मानिसहरूलाई अलग दृष्टिकोणले हेर्नु गलत हो । यसैले पनि शहर भनेको सभ्यताको केन्द्र हुनुपर्छ । किनकि हरेक सुविधा शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था शहरमा नै हुन्छ । शिक्षितहरू हुने ठाउँमा सभ्यता हुँदैन ? मलाई लागिरहन्छ हुन्छ, किन नहुनु ? तर भोगाइले यसो भन्दैन ।

सांसद मन्त्री हुँदै उपप्रधानमन्त्री समेत भइसकेका नेताले फरक आस्था भएको थाह पाएकै दिनदेखि बोलचाल बन्द गरे । के त्यो व्यवहार सभ्य हो ? मैले माथि नै भनिसकें कुनै पनि प्राणीलाई तन, मन, कर्म, वचन र वाणीबाट कुनै नोक्सान पुर्‍याउनु हिंसा हो ।  

पछि थाहा भयो एउटा कार्यक्रममा जाने क्रममा पत्रकार साथीहरूले नै उहाँको कान भरिदिनुभएछ तर भनिदिनुभएन, पत्रकारितामा मैले व्यावसायिक पत्रकारिता गरेको छु । फरक आस्था भएकै कारणले मैले कहिल्यै फरक भएर समाचार लेखेको छैन । पत्रकारले सत्य जे हो, त्यही लेख्ने प्रयास गर्ने हो र मैले यो प्रयाससँग कहिल्यै सम्झौता गरेको छैन । म अहिले पनि चुनौती दिनसक्छु, मैले राजनीतिक आस्थाकै आधारमा मेरो व्यावसायिकतामा आँच आउने गरी कसैप्रति पूर्वाग्रह राखेकै छैन । छ भने प्रमाण पेश गर्न सक्नुहुन्छ ।

अचम्म त यहाँ लाग्छ कि जोसँग कहिल्यै लिनु–दिनु केही भएन, त्यहाँ पनि त्यस्तै । ‘फरक’ भन्ने बित्तिकै मन अनौठो प्रकारले नकारात्मक भएर आउने सामान्य मानिस हुन्छ कि हुदैन ? के मानिस यसै कसैलाई देख्ने बित्तिकै पूर्वाग्रही हुनसक्छ ? अध्ययन भन्छ, कहिलेकाहीँ मानिसले आफ्ना लागि राम्रै गरिरहेकालाई पनि सास्ती दिन्छन् । यस किसिमको प्रवृत्तिलाई राम्रा मानिसले गर्ने अपमान (डु गुडर डेरोगेसन) भनिन्छ । यस्तो प्रवृत्ति संसारभर नै देखिन्छ ।

यसमा उनीहरूलाई मुख्यतः २ कुराले अभिप्रेरित गर्छ – या त उनीहरू अर्काको पीडा ठ्याम्मै महसूस गर्दैनन् वा उनीहरू अर्काले सास्ती पाएको देख्दा आनन्द महसूस गर्छन् ।

यस्तै एउटा घटना सम्झन चाहन्छु – जुन बेला म टेलिभिजनमा रिपोर्टर थिएँ । सिंहदरबारको संसदीय समितिमा रिपोर्टिङमा थिएँ । सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनमा गरेको विज्ञापनको विषयलाई छलफलको विषय बनाइएको थियो । समितिमा सञ्चारमन्त्रीलाई पनि बोलाइएको थियो । पत्रकारहरूको पनि ठूलै भीड थियो । म पनि एउटा कुनामा बसेर समितिको छलफल सुनिरहेको थिएँ । मेरो आडमा अर्का पत्रकार साथी हुनुहुन्थ्यो । जब छलफल शुरू भयो, विपक्षी पार्टीका सांसदहरूले विज्ञापनको विरोध गर्न शुरू गरे । 

मेरो आडमा बस्ने पत्रकारलाई पनि यो विज्ञापन मन परेको रहेनछ या अरु केही कारण थियो, मैले जान्न सकिनँ । जब समितिमा विज्ञापनका विरुद्धमा सांसदहरूले बोल्न शुरू गरे, तब त्यहीँ कुनामा उहाँ पनि बिस्तारै बोल्न थाल्नुभो । सांसदले बोलेको सुन्ने कि आडमा रहेका सहकर्मीको ? एक जना सांसद बोलेको बेला मात्र होला भन्ने लागेको थियो । सांसदहरू छलफलका लागि आएका बोल्ने नै भए तर उहाँको बोल्ने क्रम पनि रोकिएन । अहिले पनि यकिनका साथ भन्न सक्छु, उहाँको उद्देश्य मलाई सुनाउनु मात्र थियो ।

यसरी सुनाउनुभयो कि विज्ञापनपछि टेलिभिजनमा जागिर आवेदन दिनेहरू सबैको नाम कण्ठस्थ उहाँलाई छ । सञ्चारमन्त्री निकट पार्टीका कार्यकर्ताले मात्र आवेदन गरेका छन्, पत्रकारले त्यहाँ आवेदन गरेकै छैनन् । जसले आदेवन दिएका हुन्, उनीहरू सिर्फ कार्यकर्ता मात्र हुन् । कुनै–कुनै बेला मानिसलाई आफूले मात्रै पढ्न र लेख्न जानेको छु भन्ने भ्रम पैदा हुन्छ ? प्रत्येक सांसदको पालोमा उहाँले सुनेर मात्र बस्न सक्नुभएन । आवेदकहरूलाई सुस्तरी–सुस्तरी गाली गर्नुभयो । आडमा बसेकाले सुनोस्झैं गरी अनि फेरि कुनै बेला नसुनोस्झैं गरी । मैले आशय मात्र यहाँ उल्लेख गरें, ‘यो विज्ञापन खारेज हुनैपर्छ । आवेदन गर्नेहरूलाई हेरेको हेर्‍यै पार्नुपर्छ । आफ्नो सन्चारमन्त्री भएको बेला सरकारी जागिर खाइहाल्न पाइन्छ भनेर आवेदन गर्नेलाई झोलमा डुबाएर मार्नुपर्छ ।’

जतिपटक सांसदहरूले त्यो विषयमा कुरा उठाए, उहाँको आवाज पनि उठिरह्यो । के उनलाई त्यो बेला लागेको थियो कि सञ्चारमन्त्री मेरा बा हुन् र म उनकी छोरी ? के म पनि टेलिभिजनमा जागिर खान लाइनमा उभिएको छु ? सांसदको कुरा सुन्न गएको मलाई सहकर्मीको कुराले बिथोलिदियो । के सबैलाई थाह छैन ? निजी सञ्चारमाध्यममा पत्रकारले समयमा तलब पाउँदैनन् । के उनीहरूले बाँच्नु पर्दैन ? पत्रकारिता पढेको छ, अनुभव छ किन सरकारी टेलिभिजनमा जागिर खान नजाने ? सधैं तलब नपाउने समस्याबाट छुटकारा पाउन को चाहँदैन ? तलब नदिने सञ्चारमाध्यममा काम गरिरहनुपर्ने दुःखबाट पार पाउन अन्त आवेदन गर्न नपाउने ? आम मानिसहरू आफूले व्यहोरेको जस्तो अरुलाई नहोस् भन्ने चाहन्छन् भनिन्छ तर किन कोही मानिसहरू परपीडक हुन्छन् ?, त्यस्ता परपीडकको अचम्मको बानी हुन्छ । उनीहरू अर्काले जति पीडा भोगिरहेको हुन्छ, त्योभन्दा अझ धेरै पीडा महसूस गरिरहेका हुन्छन् र पनि यसमा आनन्द मानिरहेकै हुन्छन् । मानिस पीडित भएको देखिरहुञ्जेल ऊ रमाइरहन्छ । मैले आडका सहकर्मीमा परपीडकको झलक मात्र देखिरहें । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x