२७ जेठ २०८३, बुधबार
विदेशिँदाको क्षण

दशैं मनाएर विदेश जाने मन थियो, बाध्यताले अगाडि नै जानुपर्‍यो ! [भिडियो]

असोज १८, २०७९

दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् । 

रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली दशैंको टीका छाडेर बाहिरिन बाध्य भएका छन् । 

दशैं बर्सेनि आउने भए पनि समय र अवसर सधैं नआउने भएकाले बाध्यताका कारण विदेशिनुपरेको पीडा विमानस्थल पुगेका यात्रुले पोखेका छन् । परिवारसँग रमाउँदै दशैैं मनाउनुअघि नै लागेको भिसा र तोकिएको समयमा काममा पुग्नुपर्ने बाध्यताले लखेट्यो ।

नुवाकोटका अनिल तामाङ मलेसिया प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याउन गएका आफन्तसँग बिदाइको सेल्फी लिँदै थिए । दशैंको मुखैमा स्वदेश छाडेर वैदेशिक रोजगारीका लागि विदेशिएका तामाङका दाजु २ दिनअघि मात्रै दुबई गए । तामाङ र कान्छो भाइसँगै मलेसिया गएका छन् ।

तीनै जना दाजुभाइ वैदेशिक रोजगारीमा विदेशिँदा घर परिवारका लागि नरमाइलो लागेको उनले बताए । तीनै जना दाजुभाइ दशैंअगाडि विदेशिँदा परिवारका लागि चाडपर्व उजाड लागेको र आफूहरूलाई पनि नरमाइलो अनुभूति भएको तामाङले बताए । 

निःशुल्क भिसामा मलेसिया जान लागेकाले पनि टिकट दशैंभन्दा पर सार्न नमिल्ने भएकाले उनले तोकिएको समयमै कामका लागि पुग्नुपर्नेछ । त्यसैले दशैंको टीकाको २ दिनअघि विदेशिँदा परिवारसहित आफूलाई पनि नरमाइलो लागेको प्रतिक्रिया दिए ।

सिन्धुपाल्चोककी रञ्जना तामाङ पनि दशैंको टीकाअगाडि नै दुबई उडेकी छन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्किसकेकी उनी दशैं पछाडि फेरि जाने मनस्थितिमा भए पनि भिसा दशैं अगाडि नै आएकाले गइहाल्नुपरेको बताइन् । दशैंतिहारको मुखमा मम्मी, बुवा, भाइबहिनीलाई छाडेर बाहिर जानुपर्दा पीडा भएको उनको भनाइ छ ।

नुवाकोटकी प्रतिमा राई पनि एकपटक वैदेशिक रोजगारीमा गएर फर्किएकी भए पनि पुनः यो वर्षको दशैं छाडेर गएकी छन् । दुबईमा रोजगारीका लागि जानुअघि राईले भनिन्, ‘परिवारले मिल्छ भने दशैं पछाडिलाई टिकट सार्नु भनेका थिए तर अगाडि नै जानुपर्ने बाध्यता पर्‍यो ।’ 

नेपालमा कामै नपाइने र ज्यामी काम मात्रै पाइने, त्यसमा पनि पैसा कम हुने भएकाले पटक–पटक विदेशै जानुपरेको गुनासो उनले पोखिन् । 

मकवानपुरका अनिल तामाङ पनि वैदेशिक रोजगारीका लागि दुबई गएका छन् । उनले पनि बाध्यताले आफू दशैंको मुखमा परिवारका सदस्य छाडेर बाहिरिनुपरेको बताए । उनले भने, ‘स्वदेशमा भए २ दिन पछाडि आउँछु भन्न पाइन्थ्यो होला तर विदेशमा बोलाएको समयमा पुग्नैपर्छ ।’

नेपालमा काम नपाइने र पाइए पनि तलब कम हुने हुँदा खान लाउनै नपुग्ने भएकाले आफूजस्तै धेरै युवा पुस्ता विदेशिन परेको मकवानपुरका तामाङ बताए । उनले दशैंको मुखमा परिवारलाई छाडेर बाहिरिनुपर्दा मनमा भारी पीडा भएको लोकान्तरलाई प्रतिक्रिया दिएका छन् ।

डेढ वर्षदेखि पर्खेर बसेको भिसा दशैंको मुखमा आएकाले इमाडोलकी उषा शर्मा पनि दशैंको टीकाको २ दिन अगाडि विदेशिएकी छन् । उनलाई परिवार र साथीहरूले ‘अलिपछि गए पनि हुन्न ?’ भनेका थिए तर दशैं अगाडि नै भिसा आउनु र उड्न पाउनुले दशैंमा परिवार छाडेर बाहिर जानुपरेको बताइन् ।

शर्माले यो वर्ष नेपालमा बसेर दशैं मनाउनुभन्दा पनि क्यानडा जाने र पुगेकै भोलिपल्ट पतिसँग बसेर आफ्नो जन्मदिन मनाउनुमा आफूलाई ठूलो खुशी लागेको बताइन् ।

सोलुखुम्बुका युगेलदिङरुक शेर्पा भने व्यावसायिक प्रयोजनका लागि चाडपर्वलाई बेवास्ता गरेरै कोरिया गएका छन् । हिन्दूहरूको महान् चाड दशैैंलाई धार्मिक सहिष्णुताको हिसाबले मनाउनुपर्ने भए पनि आफू भने काम विशेषले दशैं अगाडि नै बाहिरिनुपरेको शेर्पाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्