
हिङ्ग धेरैले सुनेको नाम र परिचित मसला पनि हो । धेरैको घरको भान्सामा हिङ्ग हुनुपर्छ तर हिङ्ग केबाट बन्छ र कहाँबाट आउँछ भन्ने ज्ञान धेरै कमलाई थाहा छ ।
हिङ्गले तिखो स्वाद दिने मात्र होइन, यसका स्वास्थ्य सम्बन्धी अनगिन्ती फाइदा छन् । औषधीय विज्ञानमा मात्र नभई व्यावसायिक पाककलामा पनि हिङ्गले अभिन्न हिस्सा ओगटेको छ ।
हिङ्गको विषयमा कुरा गर्दा यो बहुउपयोगी विभिन्न प्रकारका विशाल सौंफको गम हो, जसमा प्राकृतिक रूपमा बलियो र तिखो गन्ध हुन्छ । हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो भन्ने कथनझै हिङ्ग नहुँदा पनि धेरै समयसम्म हिङ्गको गन्ध रहिरहने हुनाले परापूर्वकालदेखि यसको महत्त्व छ ।
काठमाडौंका नेवार समुदायको किचन हिङ्ग विना अधुरो रहन्छ । भोजभतेरको दाल होस् या अन्तमा खाने पाउचामा पनि हिङ्ग नभई हुँदैन । मासुमा पनि त्यत्तिकै प्रयोग गरेको पाइन्छ । हुँदाहुँदा पछिल्लो समय होटल रेस्टुरेन्टका लागि यो अभिन्न मसलाको रूपमा किचनका सेफको साथी भइसकेको छ । प्याज, लसुन नखाने वा नखानेहरूका लागि यो धेरै उपयोगी मसला हो, किनकि यसले खानामा समान गहिराइ र स्वाद थप्छ । वास्तवमा जैन र ब्राह्मण भारतीयहरू जसलाई लसुन र प्याज खान प्रतिबन्ध लगाइएको छ, तिनीहरूले यसलाई खाना पकाउन धेरै प्रयोग गरेको पाइन्छ ।
के हो त हिङ्ग ?
हिङ्ग एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ । जडिबुटीहरू १ देखि १.५ मिटर लामो हुन्छ । तिनीहरू सेलेरी परिवारमा पर्ने वनस्पति हुन् । उत्तर अफ्रिकी बिरुवा अहिले लोप भइसकेको मानिन्छ र शास्त्रीय पुरातनताको ऐतिहासिक रूपमा महत्त्वपूर्ण जडिबुटीको सस्तो विकल्पको रूपमा प्रयोग गरिएको पाइन्छ ।
औषधीय प्रयोजनभन्दा पनि पाककलामा हिङ्ग लोकप्रिय हुँदै गएको छ । विभिन्न रोगहरूको निदान गर्न प्रयोग गरिने हिङ्ग भारतको हिमाञ्चल प्रदेशमा केही खेती हुने भए तापनि ९५ प्रतिशत हिङ्ग भारतले पनि बाहिरबाट आयात गर्दछ । खोटोको रूपमा आउने हिङ्ग पछिल्लो समय पाककलामा व्यापक रूपमा व्यावसायिक रूपमा प्रयोग हुन थालेपछि धुलोको रूपमा विभिन्न ब्रान्डमा उपलब्ध हुन थालेको छ । उत्तरी भारतको पकवान परिकारभन्दा अझ धेरै दक्षिणी भारतको पकवान परिकारमा धेरै हिङ्ग प्रयोग गरेको पाइन्छ ।
भोटे लसुन वा प्याजका अन्य नातेदारहरूको सम्झना दिलाउने तिखो स्वाद हुने हिङ्गलाई अंग्रेजीमा शैतानको गोबर भनेर पनि चिनिन्छ । पेट मडारिने, घोच्ने, दुख्ने, दिसा लाग्ने, कान दुख्ने, पेटमा अधिक ग्यास भएमा, पिप आउने, खटिरा आउने, कम्मर दुख्ने जस्ता यावत् समस्याका लागि हिङ्ग औषधिको रूपमा प्रयोग गरिन्छ । हिङ्गमा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टीभाइरल गुण हुन्छ । फाइदा गर्छ भनेर कुनै पनि कुराको बढी सेवन भने हानिकारक हुन सक्छ । गर्भवती हुँदा, शरीर सुन्निने समस्या भएमा, टाउको दुख्दा, छालामा समस्या हुँदा भने सकेसम्म हिङ्ग सेवन नगर्दा उत्तम मानिन्छ ।
के–के खानामा हिङ्गको प्रयोग हुन्छ ?
भारतीय प्रसिद्ध पाककला लेखिका तरला दलालले हिङ्ग प्रयोग गरेर १४२५ रेसिपी तयार गरेकी छन् । उनको रेसेपीबाट पनि प्रस्ट हुन्छ कि खानामा हिङ्गको प्रयोग कति मात्रामा प्रयोग गरिन्छ भनेर । भारतीयहरूले अत्यधिक मात्रामा शाकाहारी परिकारमा हिङ्गको प्रयोग गरे तापनि मांसाहारी परिकारमा पनि यसको प्रयोग कम छैन । हिमाञ्चल र पञ्जाबमा धेरै मासुको आइटममा हिङ्गको प्रयोग गरिन्छ । केरला र मद्रासी खानाका परिकारमा पनि हिङ्ग अनिवार्य जस्तै छ । दाल, तरकारी, माछा, मासु जेमा हालेर पकाउँदा पनि हिङ्गले छुट्टै खालको तिखो स्वाद थपिदिन्छ । खानामा हिङ्ग प्रयोग गर्दा तेलमा प्याज, अदुवा, लसुन फुराउने समय या खुर्सानी पड्काउने समयमै फुराउनु उत्तम हुन्छ ।
लसुन, प्याज नखाने ब्राह्मण जातले पनि हिङ्ग हालेर खानामा स्वाद थप्ने काम गरेका हुन्छन् । खिचडी, पुवा, अचार, करी, ढोकला, पुलाउ, बिर्यानी, रसम, चाट जेमा फुराएर खाए पनि हिङ्गले उत्तम स्वाद दिन्छ । गुजराती र राजस्थानीहरूले पनि हिङ्गको स्वाद खुब मन पराउँछन् । नेपालमा पनि हिङ्गको प्रयोग व्यापक बढेको छ । पहिला–पहिला नेवारी समुदायले भोज खाएपछि पचाउन सहयोग गर्छ भनी लप्सिको माडको पाउमा हिङ्ग र मेथी झानेर खाने चलनबाट शुरू भएको हिङ्ग पछिल्लो समय सबैजसोको घरमा हिङ्ग एक अभिन्न मसलाको रूपमा प्रयोग हुन थालेको छ । होटल रेस्टुरेन्टहरूले पनि हिङ्ग नियमित रूपमा धेरै परिकारमा प्रयोग गर्ने गर्छन् ।