×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

२०३८ देखि संसदीय चुनाव लड्दै आएका महोत्तरीका 'दादा'- नवौं प्रयासमा पनि सफल होलान् शरतसिंह ?

असोज ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीका 'भेट्रान' नेता शरतसिंह भण्डारी नवौंपटक संसदीय चुनावको मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Muktinath Bank

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उनी महोत्तरी-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी लोसपाका वरिष्ठ नेता पनि हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले हालसम्म ८ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेर ६ पटक जितेका छन् । दुईपटक मात्र हरेका भण्डारी सम्भवतः मधेशका पहिलो नेता हुन् जसले नवौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

२०३८ साल, २०४२ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७४ सालको संसदीय निर्वाचनमा उनले चुनाव जितेका थिए भने २०४८ साल र २०७० सालमा हारेका थिए ।

Vianet communication
Laxmi Bank

उनीसँगै सत्ता प्रदेशसभामा सत्ता गठबन्धनबाट महोत्तरी-२(१)मा जयनुल राइन र महोत्तरी-२ (२)मा कांग्रेसका नागेश्वर यादव उम्मेदवार छन् ।

प्रतिपक्षी गठबन्धन नेकपा एमालेबाट महोत्तरी- २ मा डा. रामपरीक्षण यादव उम्मेदवार छन् ।

उनी राजनीतिमा नवप्रवेशी हुन् । यसअघि उनी सरकारी जागिरमा चिकित्सा पेशामा कार्यरत थिए । साविकको जनकपुर अञ्चल अस्पतालमा उनी मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिसकेका छन् ।

भण्डारीलाई यादवले चुनौती दिनुका साथै साविकमा राजपा तथा लोसपामा काम गरिसकेका डा. विजय सिंह पनि चुनावी मैदानमा छन् ।

उनी तराई मधेश लोकतान्त्रिक पार्टीबाट सोही क्षेत्रमा प्रतिनिधिसभामा उम्मेदवार छन् । साविकमा सरकारी चिकित्सक रहेका उनी पनि दोस्रो मधेश आन्दोलनताका गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का संस्थापक नेता हुन् । पहिलो संविधानसभा चुनावमा उनी तमलोपाबाट समानुपातिक सांसद भएका थिए ।

पछिल्लो समय जसपा हुँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न पुगेर जसपाबाट लोसपा विभाजन भएपछि असन्तुष्ट हुँदै लोसपाका नेता वृषेशचन्द्र लालले पुनः साविकको तमलोपा दर्ता गरेका थिए । सोही पार्टीबाट अहिले उनी महोत्तरी-२ मा उम्मेदवार छन् । उनले पनि भण्डारीकै मत काट्ने आकलन गरिएको छ ।

अर्कोतर्फ प्रदेशसभामा साविकको लोसपाका नेताहरू बागी भएर उठ्दा पनि चुनौती थपिएको छ । गत चुनावमा उनीसँगै राजपाबाट प्रदेशसभामा निर्वचित भएकी सांसद सुरिता साहले बागी उम्मेदवारी दिएकी छन् । त्यसैगरी लोसपाबाट सोही क्षेत्रबाट प्रदेशसभामा समानुपातिक सांसद भएका जानकीशरण साह प्रदेशसभामा बागी उम्मेदवार बनेका छन् ।

त्यसबाहेक सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभामा निवर्तमान सांसद मञ्जु यादव पनि उम्मेदवार बनेकी छन् ।

अर्कोतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा टिकट पाउने दौडमा रहेकी किरण यादवले टिकट नपाउँदा उनी पनि असन्तुष्ट देखिएकी छन् । २०७४ सालको निर्वाचनमा भण्डारीको प्रतिष्पर्धा किरण यादवसँगै भएको थियो । उनले खुलेर सहयोग नगर्दा भण्डारीलाई थप चुनौती हुनसक्ने कांग्रेसका एक नेताले बताए ।

'पार्टीको कारवाहीको डरले देखिने गरी नै त उहाँले विरोध गर्नुहुन्न होला, तर अन्तर्घात भने गराउन सक्ने सम्भावना यथावत छ,' ती नेताले लोकान्तरसँग भने, 'भण्डारीजीले किरण यादवलाई जसरी पनि विश्वासमा लिनैपर्ने हुन्छ ।'

लोसपाका नेता ज्ञानेन्द्र झा ज्ञानु भने जतिसुकै चुनौती देखिए पनि भण्डारीलाई अप्ठ्यारो नहुने बताउँछन् ।

जिल्लाकै चार क्षेत्रबाट चुनाव लड्नुपर्‍यो भन्ने जनताको माग र सिफारिस हुनुले पनि उहाँ महोत्तरी- २ मा मात्र नभएर जिल्लामै कति लोकप्रिय हुनुहुन्छ भन्ने कुरा पुष्टि हुन्छ,' उनले लोकान्तरसँग भने, 'एक त उहाँको आफ्नै विराट व्यक्तित्व र भोट बैंकमा ठूलो पकड छ । त्यसमा पनि गठबन्धनका घटक कांग्रेससहित अन्य दलको समेत मत पाउने भएपछि उहाँलाई सहज नै छ । एक किसिमले भन्ने हो भने उहाँको जीत सेक्योर नै छ ।'

घटक दलभित्रका असन्तुष्टि व्यवस्थापन हुने उनी बताउँछन् ।

बुवाको राजनीतिक विरासतलाई अगाडि बढाउँदै भण्डारी

भण्डारीलाई महोत्तरीमा 'दादा' भन्ने गरिन्छ । पञ्चायती व्यवस्थामा विद्यार्थीकालदेखि नै समाजमा हुने गलत क्रियाकलाप, गुण्डागर्दीविरुद्ध आवाज उठाउने गरेका कारण भण्डारीलाई साथी सहकर्मीहरूले 'दादा' भन्ने गर्थे । पछि जिल्लाका सबैले उनलाई दादा भन्न थाले । अहिले पनि उनलाई सबैले दादा नै भन्ने गर्छन् ।

'उहाँलाई सबैले सम्मानको नजरले दादा भन्ने गर्छन्, आफ्नो विद्यार्थी जीवनदेखि नै गुण्डा, बदमासलाई तह लगाउन समाजको रक्षक र पहरेदारको रूपमा आफूलाई उभ्याउँदा हामीले दादा भन्ने गरेका थियौं,' उनीसँगै पढेका एक सहपाठीले लोकान्तरसँग भने, 'त्यसपछि उहाँलाई सबैले सम्मानपूर्वक दादा भन्न थाले । अहिले पनि उहाँलाई सम्बोधन गर्दा सबैले दादा नै भन्छन् ।'

तर, भण्डारी भने प्रेमपूर्वक आफ्ना घरपरिवारका मानिसले दादा भन्न थालेपछि सबैले दादा नै भन्न थालेको बताउँछन् ।

'मेरो घरमा मेरो आमाले पनि मलाई दादा नै भन्नुहुन्छ, मेरो बहिनी, घर परिवारका सदस्य सबैले प्रेमपूर्वक दादा नै भन्नुहुन्छ,' उनले भने, 'जसरी कोइराला परिवारमा शेखर दा, सशांक दा भनेर सम्बोधन गरिन्छ, त्यसरी नै मलाई पनि सबैले दाइको सेन्समा दादा भन्नुहुन्छ,' भारतको पश्चिम बंगालमा जसरी दाइलाई दादा भन्ने गरिन्छ, त्यसैगरी मलाई पनि दाइको सम्मानजनक शब्दका साथै प्रेमपूर्वक दादा भनिएको हो ।'

भण्डारीले आफ्नो पिता पृथ्वीमान सिंह 'मनु बाबु'को राजनीतिक विरासतलाई अगाडि बढाएका छन् ।

उनका पिता पनि महोत्तरी जिल्लामा लोकप्रिय राजनीतिकर्मीको रूपमा स्थापित थिए । तत्कालीन पञ्चायती व्यवस्थामा पनि जनपक्षीय राजनीति गरेकै कारण तत्कालीन जिल्ला पञ्चायतको सदस्य हुँदै राष्ट्रिय पञ्चायतको सदस्य, पञ्चायत संसदको राजनीतिक समितिको सभापतिसम्म भएका थिए ।

२०३२ सालमा संविधान संशोधनको समय आएपछि पञ्चायतमा दुईवटा धार देखा परेको थियो । एउटा धार सुधारवादी तथा उदारवादी थियो भने अर्को 'हार्ड कोर', यथास्थितिवादीको धार थियो । सूर्यबहादुर थापाको धारमा उनका बुवा लागेका थिए । त्यतिबेला १७ भाइको एउटा धार थापासँग थियो । त्यही १७ भाइमध्ये एक पृथ्वीमान सिंह पनि थिए ।

संविधान संशोधनका सवालमा ती १७ भाइले मुख्यरूपमा तीनवटा शर्त राखेका थिए । पहिलो, पञ्चायती व्यवस्थालाई लोकतान्त्रिकीकरण गर्नका लागि बालिग मताधिकारसहित आवधिक निर्वाचन । दोस्रो, प्रेस स्वतन्त्रता । तेस्रो, प्रधानमन्त्रीको निर्वाचन संसदबाट हुनुपर्ने ।

भण्डारी भन्छन्, 'उक्त शर्त राख्दा मेरो बुवासहित १७ भाइलाई अराष्ट्रिय तत्त्व, नेपाली कांग्रेस समेत भनियो । र, त्यही बेला हार्ड कोरमा पञ्चायत गयो ।' त्यही बेला गाउँ फर्क अभियान आयो । गाउँ फर्क अभियानमार्फत राजनीतिलाई नियन्त्रण गर्न खोजिएको थियो ।

'गाउँफर्क अभियानको विरोधमा मेरो पिताजीहरू लाग्नुभयो । त्यसपछि केही सांसदसहित विभिन्न नेता तथा कार्यकर्ताहरूलाई धरपकड गरियो,' भण्डारीले लोकान्तरसँग भने, 'त्यही प्रसंगमा २०३४ सालको चुनावमा दरबारविरोधी, सरकारविरोधी, व्यवस्थाविरोधी गतिविधिमा लागेको भन्दै मेरो पिताजीलाई जबरजस्ती पराजित गरियो ।'

२०३४ सालको निर्वाचनमा व्यापक प्रहरी प्रशासनको दुरुपयोग, दमन भएको उनी बताउँछन् । चुनावकै क्रममा प्रहरीको फायरिङमा महोत्तरीमा एकजना मारिएका थिए ।

'सोही घटनामा उल्टै मेरो बुवामाथि ज्यान मुद्दा र ममाथि राजकाज मुद्दा लगाइयो,' भण्डारीले भने, 'राजकाज मुद्दा लागेपछि म भारत निर्वासनमा बसें ।'

त्यतिबेला भण्डारी २१ वर्षका मात्र थिए । २०३४ सालको चुनावमा भण्डारी आफैं पनि सक्रिय भएका कारण उनीमाथि पनि राजकाजको मुद्दा लगाइएको थियो ।

लगत्तै २०३६ सालमा जनमत संग्रह भयो । जनमत संग्रहमा भण्डारी प्रत्यक्ष राजनीतिमा होमिएका थिए । २०३५ सालमा ट्रयाक्टर दुर्घटनामा उनका बुवाको निधन भएपछि भण्डारी प्रत्यक्ष राजनीतिमा सक्रिय भएका थिए ।

'जनमत संग्रहमा हामी होमियौं, बहुदलको पक्षमा खुलेर लागेका थियौं,' भण्डारीले थपे, 'बहुदलमा लागेकै कारण मसहित केही साथीविरुद्ध 'शूट एट साइट' कै आदेश समेत भयो ।'

भण्डारीसहित नेपाली कांग्रेसमा आबद्ध सीताराम भण्डारी, वसन्त गुरुङ, महेन्द्रकुमार राय, रामचन्द्र राय, वामपन्थी राजनीतिमा लागेका गंगाविक्रम थापा, मदनबहादुर थापासहित विरुद्ध 'शूट एट साइट'को आदेश भएको उनले स्मरण गरे ।

जनमतमा सुधारिएको पञ्चायती व्यवस्थाको जीत भएपछि चुनाव भयो । त्यतिबेला भण्डारी भने चुनाव नलड्ने पक्षमा थिए ।

तर, उनका बुवाका समर्थक तथा महोत्तरीका नेताहरूको बलमा चुनावमा उठाइयो । ठ्याक्कै २५ वर्ष उमेर पूरा भएको अवस्थामा, बालिग मताधिकार प्राप्त गरेको अवस्थामा पहिलोपटक २०३८ सालको चुनावमा महोत्तरीको दुई सीटमध्ये एक सीटमा उनी उम्मेदवार भए । उक्त चुनावमा सर्वाधिक मत प्राप्त गरेर भण्डारी पहिलोपटक सांसद बन्न सफल भएका थिए ।

२०४२/०४३ सालको दोस्रो चुनावमा पनि उनी विजयी भएका थिए । 'दोस्रो चुनाव लड्ने बेलामा पनि म सिटिङ एमपी अर्थात राष्ट्रिय पञ्चायतको सदस्य भए पनि इतरपक्षको थिएँ,' भण्डारीले भने, 'इतर पक्षकै भएका कारण मलाई धरपकड गरियो तर पनि महोत्तरीका जनताले मलाई सर्वाधिक मत दिएर जिताएका थिए ।'

मन्त्रीमण्डलमा सहायक मन्त्रीबाट उनको शुरूआत भएको थियो । मरिचमान सिंहको क्याबिनेटमा सहायक मन्त्री बनेका उनलाई ६ महिनापछि क्याबिनेट मन्त्री बनाइएको थियो ।

उनी मन्त्री भएकै बेलामा २०४६ सालमा बहुदलीय व्यवस्थाको मागसहित जनआन्दोलन भएको थियो । 'त्यो आन्दोलन हुँदा पनि मन्त्री केशवबहादुर बुढाथोकी, बेनु प्रसाईं, परशुनारायाण चौधरी लगायत हामी केहीले भने आन्दोलनकारीसँग डायलग (संवाद) गर्नुपर्छ भन्ने कुरा राखेका थियौं,' उनले लोकान्तरसँग भने ।

२०४६ सालको आन्दोलन सफल भएपछि देशमा बहुदलीय व्यवस्था आयो । बहुदल आएपछि २०४८ सालमा भएको पहिलो चुनावमा सूर्यबहादुर थापाको राप्रपाबाट भण्डारी चुनाव लडेका थिए । उक्त चुनावमा भने उनी २ हजार मतले पराजित भएका थिए ।

त्यसपछि उनी राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 'हंग पार्लियामेन्ट' भएको बेला लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले संसद् विघटन गरेपछि भण्डारीकै एक मतले संसद् पुन:स्थापना भएको थियो । संसद पुन:स्थापना भएपछि सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । सोही क्रममा कांग्रेसमा उनी आवद्ध भएका थिए ।

लगत्तै २०५१ सालमा मध्यावधि चुनाव हुँदा नेपाली कांग्रेसले उनलाई टिकट दिएन । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिए ।

स्वतन्त्रबाट पनि उनले चुनाव जिते । त्यसपछि २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने भनेर गिरिजाप्रसाद कोइरालाले घोषणा गरेका थिए । त्यतिबेला महोत्तरीमा ४ वटा क्षेत्र थियो । ४ मध्ये २ क्षेत्र राप्रपाले जितेको थियो, १ क्षेत्रमा भण्डारीले स्वतन्त्रबाट चुनाव जितेका थिए भने १ क्षेत्रमा मात्र कांग्रेस जितेको थियो ।

'चारवटै क्षेत्रमा कांग्रेस जिताउनुपर्‍यो भनेर मैले स्वतन्त्रबाट जितेको क्षेत्र पनि कांग्रेसका साथीलाई छाडेर राप्रपाबाट रामविलासजीले जित्नुभएको क्षेत्रमा गएँ,' उनले लोकान्तरसँग भने, 'आफ्नो क्षेत्रका साथै जिल्लाभर मेहनत गरेर २०५६ सालको चुनावमा महोत्तरीको चारवटै क्षेत्रमा नेपाली कांग्रेसलाई जिताउन सफल भएको थिएँ ।'

त्यसपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको मन्त्रीमण्डलमा भण्डारी पनि मन्त्री भए । ९ महिना मात्र उक्त सरकार चलेको थियो । माओवादी आन्दोलन, राजाको प्रत्यक्ष शासन, २०६२/०६३ सालको जनआन्दोलनपछि मधेश आन्दोलन शुरू भयो ।

'मधेश आन्दोलन हुँदा विशेष गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुलाई मैले मधेश कांग्रेसको बेस हो, डेमोक्रसीको उर्बर भूमि हो, मधेशीहरू आफ्नो अधिकारका लागि उठिरहेका छन्, आन्दोलन गरिरहेका छन्, कमसेकम उनीहरूको कुरा के हो गएर बुझिदिने, सुनिदिने काम हामीले गर्नुपर्छ । आन्दोलनमा दमन गर्ने काम गर्नुहुँदैन भनेको थिएँ,' भण्डारीले थपे, 'त्यसपछि मधेश २०/२० भिजन पनि बनाइयो । विमलेन्द्र निधि, विजय गच्छदार, महेश आचार्य, रामवरण यादवसहितको टोलीले मधेशलाई कसरी हेर्ने र मधेशको समस्या कसरी समाधान गर्ने भन्ने भिजन समेत बनाएका थियौं । '

त्यो टास्क फोर्सले मधेश भिजन २०/२० बनाएर दिएको रिपोर्टअनुसार काम नगरिएको उनको कथन छ ।

मधेश आन्दोलनका बेलामा विभिन्न ठाउँमा घटना हुँदै चित्कार र आक्रोश बढ्दै गएपछि अन्ततः उनले कांग्रेस परित्याग गरे । उपेन्द्र यादवको नेतृत्वमा गठित मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेर टिकट पाएका भण्डारीले २०६४ सालको पहिलो संविधानसभाको चुनाव पनि जिते । त्यसपछि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए ।

पछि विजय गच्छदारको नेतृत्वमा फोरम टुक्रिएर फोरम लोकतान्त्रिक पार्टी बन्दा भण्डारी पनि गच्छदारसँगै लागेका थिए । त्यसपछि फेरि रक्षामन्त्री बनेका बेला उनले दिएका अभिव्यक्तिका कारण मन्त्री पदबाट बर्खास्त गरियो ।

त्यसपछि उनले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेर मधेशभर अभियान सञ्चालन गरेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी- १ र महोत्तरी- २ सहित दुवै क्षेत्रबाट चुनाव लडेका थिए तर दुवै क्षेत्रबाट पराजित भए ।

पछि विभिन्न ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता दल बनाउन उनले भूमिका खेले । २०७४ सालको निर्वाचनमा उनले राजपाबाट महोत्तरी- २ मा फेरि पनि चुनाव जिते ।

यसरी हेर्ने हो भने उनी मात्र एक्ला त्यस्ता राजनीतिज्ञ हुन् जो मधेशमा सबैभन्दा लामो समयदेखि संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आएका छन् । उनी मधेशबाट सबैभन्दा बढी मन्त्री बनेका नेता हुन् । उनी राज्यमन्त्री र मन्त्री गरी १५ पटक सरकारमा सामेल भएका छन् । उनीपछि दोस्रोमा रहेका विजय गच्छदार १४ पटक मन्त्री बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x