२९ असार २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन २०७९

भक्तपुर–१ का मतदातालाई छैन चुनावी रौनक, नेताले बुझेनन् स्थानीय समस्या

भक्तपुर–१ का मतदातालाई छैन चुनावी रौनक, नेताले बुझेनन् स्थानीय समस्या

यतिबेला देश नै चुनावमय भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवारहरू घरघर पुगेर मतदाता फकाउन हारगुहार गरिरहेका छन् । 

भक्तपुरमा पनि राजनीतिक दल र कार्यकर्तालाई उसैगरी चुनाव लागेको छ । तर, मतदातालाई भने अझै चुनावी रापतापले छोइसेकेको छैन ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की ६८ वर्षीया सानुमाया लागेजु चुनावी रौनकभन्दा आफ्नै जीविकाको रन्कोले थिचिएकी छिन् । उनको साँघुरो कच्चि घर छ, त्यो पनि भूकम्पले चर्काएको । डरैडरमा घरमा बस्नुपर्ने अवस्था रहेछ ।  

भूकम्पले चर्किएको त्यहीँ घर देखाउँदै लागेजु भन्छिन्, ‘दुःखीको पीडा सुनिदिने कोही हुँदारहेनछन् । अनि चुनाव आउँदैमा हामी खुशी हुनुपर्ने कारण के छ र ?’

भूकम्पले चर्किएको घरजस्तै उनको मनपनि चर्किएको छ । भुकम्पले क्षति पुर्‍याएका घर बनाउन सरकारले अनुदान दिने घोषणा गर्‍यो । प्रक्रिया पुर्याएकालाई अनुदान दियो पनि । तर, सानुमायाले न प्रक्रिया पुरा गर्न सकिन्, न कसैले उनलाई अनुदान व्यवस्था गर्न सहयोग, समन्वय गरिदिए ।

‘नयाँ घरका लागि जग हालेपछि बल्ल पैसा पाइँदोरहेछ । हामीसँग जग हाल्ने पैसा कहाँबाट हुनु !’, उनले विवशता पोखिन् ।  

उनका श्रीमान बिरामी भएर घरभित्रै थलिएका छन् । सानुमाया थप्छिन्, ‘जून नेता आएपनि उहीँ त हो । हाम्रो काम त त्यहीँ भोट हाल्ने मात्रै रहेछ ।’ सानुमायाका लागि चुनाव आउनु–नआउनुमा कुनै उत्साह देखिँदैन् ।

सडक, खानेपानी, मल लगायतको समस्या बर्षौदेखि ज्यूँका त्यूँ रहेको अधिकांश मतदाताहरुको गुनासो थियो । त्यहाँ भेटिएको अधिकांश मतदाताहरुले सबैजसो दल र उम्मेद्वारहरूप्रति वितृष्णा ब्यक्त गरे ।  

सहकारी संचालन गरिरहेका चाँगुनारायण नगरपालिका–५ का कृष्णप्रसाद लिगलले आफ्नो वडामा सडकको अवस्था वर्षौदेखि उस्तै रहेको बताए । ‘सडक सबैतिर पुगेको छ । तर, कतै पनि पूर्ण भएको छैन्’ उनी भन्छन्, ‘बर्खामा हिलाम्ये भएर हिँडनै सक्ने अवस्था रहँदैन् । हिउँदमा धुलोले ढाकिन्छ ।’ 

विभिन्न आश्वासन देखाएर चुनाव जितेर गएकाहरुले मतदातालाई बेवास्ता गरेको कारण अहिले प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरूले विकास गर्छन् भन्नेमा स्थानीय विश्वस्त नरहेको लिगलले बताए । 

कृषि उत्पादनमा राम्रो मानिएको भक्तपुरको चाँगुनारायणका किसानले मलको समस्या पनि वर्षौदेखि भोग्दै आएका छन् । 

चाँगुनारायण–५ की ईन्द्रमाया लागेजुले चुनावको विषयमा आफूलाई कुनै रहर र कहर नभएको बताईन् । उनी पनि नेताहरूको आश्वासनमा विश्वस्त छैनन् । 

‘गहुँ छर्ने बेला भयो, मल पाईँदैन् । खानेपानीको पनि समस्या नै छ’ लागेजुले भनिन्, ‘बाटो सुधारिन सकेको छैन् । बाटो बनाएर मात्र भएन् नि, धुलो उडेर झन् समस्या भयो ।’ 

उम्मेद्वारले गरेका वाचाहरु पुरा नहुँदा आशा धेरैपटक निराशामा परिणत भएको बताउँदै उनले थपिन्, ‘जनताको समस्या हेर्छन् भन्ने त छैन् । तर, पनि कताकता गर्छन् कि भन्ने हल्का आशा चाहीँ जीवितै रहने रहेछ ।’ 

चाँगुनारायण–३ का कृष्ण सुल्लु फर्निचर व्यवसाय गर्थे । तर, पछिल्लो समय व्यवसाय राम्रो नभएपछि उनी खेतमा टयाक्टर जोत्ने काम गर्न थालेका रहेछन् । ‘अहिले मल लिन आएको हुँ’ उनले लोकान्तरसँग संक्षित कुरा गर्दै भने, ‘रोजगार केही छैन् । धेरै युवाहरु यत्तिकै बसिरहेका छन् ।’ आफ्नो वडामै रोजगार पाएका युवाहरुको संख्या विरलै रहेको बताए ।

आउँदै गरेको चुनावले उनलाई पनि छोएको छैन । ‘भोट हाल्ने हो । अरु आशा, उत्साह केही पनि छैन्’ उनले भने । उनी पनि उम्मेद्वार र नेताहरुप्रति असन्तुष्ट सुनिए । ‘विगतमा नेताहरुले काम गरेको भए पो, उत्साह हुन्थ्यो’ उनले भने, ‘सबै नेता उस्तै हुँदा रहेछन् । त्यसैले कसैले केही गर्लान जस्तो लाग्दैन् ।’ त्यहाँका मतदाताहरुले विशेष गरी सडककै समस्या बढी सुनाए । 

चागुँनारायण –५ का तेजबहादुर थापा पनि चुनावलाई लिएर उत्साहित देखिएनन् । जितेर गएकाहरूले जनताको पीरमर्कामा ध्यान नदिएका कारण नै आउने चुनावलाई लिएर उनमा उत्साह नभएको हो । उनी पनि सडक आफूहरूको मुख्य समस्या रहेको बताउँछन् । अन्य समस्याहरु सुनाउँछन्, ‘कृषकहरुलाई मलखादको सुविधा छैन् । स्वास्थ्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था छ ।’ चुनावले आफूहरूको दैनिक जीवनमा सुधार ल्याउनेमा उनी विश्वास गर्दैनन् । प्रसिद्ध चाँगुनारायण मन्दिर जाने बाटोको अवस्था पनि जीर्ण रहेको मतदाताहरु गुनासो गर्छन् । 

सांसदभन्दा बढी असन्तुष्टि स्थानीय जनप्रतिनिसँग

चाँगुनारायण नगरपालिका प्रतिनिधि सभा निर्वाचनतर्फ भक्तपुरको क्षेत्र नम्बर–१ मा पर्छ । भक्तपुर नगरपालिकाको एउटा र चाँगुनारायण नगरपालिकाको सबै वडा भक्तपुर क्षेत्र नम्बर–१ मा पर्छन् । चाँगुनारायणका अधिकांश मतदाता केन्द्रीय नेताभन्दा स्थानीय नेतासँग बढी असन्तुष्ट सुनिए । जनप्रतिनिधिहरूले विकासमा ध्यान नदिएको उनीहरूको मुख्य गुनासो थियो । 

भक्तपुर क्षेत्र नम्बर–१ मा सधैं नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चुनाव जित्दै आएको छ । 

यस पटक नेमकिपाबाट प्रेम सुवाल प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनले चुनावी प्रचारको लागि घरदैलो अभियान शुरू गरिसकेका छन् । 

शुक्रबार बिहान चाँगुनारायण पुग्दा सुवाल घरदैलो अभियानबाट फर्किदंै गरेको भेटिए । ‘सानो टिम बनाएर घरदलौं अभियान शुरू गरेका छौं’ उनले भने, ‘दिउँसो सबैजसो आआफ्नो काममा व्यस्त हुने भएकाले बिहानको समयमा घरदैलो कार्यक्रम गरेका हौं ।’

शिक्षा, स्वास्थ्य, रोजगारीलाई आफूहरूले चुनावको मुल मुद्दा बनाएको सुवालले बताए ।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा नवराज गेलाल उम्मेदवार भएका छन् । माओवादी केन्द्रले भने सुनिल गोठेलाई उम्मेदवार बनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्