
गणतन्त्र र राष्ट्रपति आफ्नै एजेन्डा भए पनि राष्ट्रपतिकै कारण आफूले पटक–पटक सास्ती व्यहोर्नुपरेको संकेत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफू धेरै सोचविचार गरेर मात्र अगाडि बढ्ने मनस्थितिमा रहेको प्रस्ट पारेका छन् ।
भावी राष्ट्रपति सबैलाई मान्य हुने खालको साझा व्यक्ति चाहिने भन्दै त्यसका लागि माहोल बनाउन उनले पार्टी पंक्तिलाई अपिल गरेका हुन् ।
माओवादी केन्द्रीय कमिटीको बिहीवारको भर्चुअल बैठकमा प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
पछिल्लो समय राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाउँदै आएका प्रचण्डले दलका नेतालाई फेरि यो पदमा ल्याउँदाको जोखिमबारे लामो व्याख्या गरेका थिए ।
पार्टीको आन्तरिक विषयमा व्याख्या गरेपछि अन्तिममा प्रचण्ड राष्ट्रपति चुनावमा केन्द्रित भएका थिए ।
उनले, ‘राष्ट्रपतिमा तपाईंहरूलाई चासो होला, यसैले मेरो कुरा ध्यानपूर्वक सुन्नुहोला,’ भन्दै सदस्यको ध्यानाकर्षण गराएको माओवादी स्रोत बताउँछ ।
लामो व्याख्या गर्दै उनले आफूले कसरी दुःख झेल्नुपर्यो भनेर सुनाएका थिए ।
‘गणतन्त्र स्थापित गर्ने र राजा फाल्ने पहलकदमी माओवादीले लियो । तर शुरूमा पहिलो दल हुनुका बावजुद राष्ट्रपतिबाट हामीलाई कति गाह्रो पारियो यहाँहरू सबैलाई थाहा छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘गणतन्त्रको फल खाने बेलामा राष्ट्रपति प्रकरणमा नै मैले सत्ता छोड्नुपर्यो ।’
२०६४ सालको पहिलो संविधानसभामा माओवादी पहिलो दल भए पनि उसको उम्मेदवार राष्ट्रपतिमा पराजित भएका थिए । एमालेको समर्थन पाएर सरकार बनाए पनि तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवाललाई हटाउन खोज्दा प्रचण्ड आफैं हट्नुपरेको थियो । प्रधानसेनापतिलाई हटाउने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले रोकिदिएका थिए । प्रचण्डले बिहीवार त्यसैतर्फ संकेत गरेका हुन् ।
पहिलोपटक मात्रै होइन, दोस्रोपटक पनि राष्ट्रपतिका कारण आफू प्रधानमन्त्री बन्नबाट वञ्चित हुनुपरेको संकेत उनले गरे । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि कार्यान्वयन हुन नसक्दा मुलुकको राजनीति नै दुर्घटनामा परेको थियो । संसद् विघटन समेत हुन पुगेको थियो ।
‘यसपटक फेरि सोचविचार नगरी राष्ट्रपति बनाउँदा त्यस्तै अप्ठ्यारोमा पर्ने हो कि भनेर म सचेत छु, किनकी हामीले धेरैपटक दुःख पाइसकेका छौं,’ प्रचण्डले भने ।

मुलुककी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विशेष गरी एमाले अनुकूल गतिविधि गरेको भन्दै आलोचना हुने गरेको छ । नेकपाका रूपमा एउटै पार्टीमा हुँदा समेत राष्ट्रपतिले आफूहरूलाई फरक व्यवहार गरेको बुझाइमा प्रचण्ड देखिन्छन् ।
‘पहिले के भए, हाम्राविरुद्ध कसरी गतिविधि भए भन्ने हेर्नुपर्छ । त्यसैले यसपटक राष्ट्रपतिमा सुविचारित कदम चाल्नुपर्छ भन्नेमा छु,’ प्रचण्डले भनेका थिए, ‘यस्तोमा सक्रिय राजनीति नगर्ने स्वतन्त्र वा दलभित्रकै पनि सबैको साझा व्यक्ति नै हुनुपर्छ । तपाईंहरू पनि त्यहीअनुसार लाग्नुहोला ।’
दलभित्र साझा व्यक्ति खोज्न गाह्रो हुने भन्दै उनले सक्रिय राजनीति बाहिरबाट त्यस्तो विकल्प खोजिन सक्ने बताएका थिए ।
वर्तमान गठबन्धन बन्ने क्रममा भएको भद्र सहमतिअनुसार राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडानमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । तर, प्रचण्ड ओलीले मात्र भनेको पात्रलाई राष्ट्रपति बनाउन तयार देखिएका छैनन् ।
‘मैले अहिले होइन, प्रधानमन्त्री भएदेखि नै राष्ट्रपति कुनै दलको हुनुहुँदैन, साझा वा स्वतन्त्रमा नै जाने हो भन्दै आएको छु,’ प्रचण्डले भनेका थिए, ‘यस्तो व्यक्ति पार्टीभित्रैबाट कोही हुन्छन् ? यस्तो कोही पात्र छन् भने पनि प्रस्ताव गर्नुस् ।’
प्रचण्ड यत्तिमै सीमित भएनन् साझा व्यक्तिको पक्षमा माहोल बनाउन पनि आग्रह गरे ।
‘राष्ट्रपतिमा जाने स्वतन्त्र वा साझामा नै हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘यसमा माहोल बनाउनुहोला । यही लाइनमा अन्ततः ओली पनि आउँछन् । कांग्रेसलाई पनि मान्य हुन्छ ।’
गठबन्धन पनि नटुट्ने र सहमतिमा राष्ट्रपति चयन पनि गर्नेबारे आफूले एमाले अध्यक्ष ओलीसँग निरन्तर संवाद गरेको पनि भर्चुअल बैठकमा बताएका थिए ।
कांग्रेसले के गर्ला ?
राष्ट्रपतिमा दाबी गर्ने अर्को पार्टी कांग्रेस हो । कांग्रेसले राष्ट्रपति पाउनकै लागि माओवादीसँग सम्बन्ध विस्तार गरिरहेको छ । उसको पहिलो प्राथमिकता राष्ट्रपतिमा कांग्रेस उम्मेदवार नै जिताउने भन्ने छ ।
तर प्रचण्डले सबैलाई मान्य हुने गरी जानुपर्छ भन्दै दबाब बढाए कांग्रेससमेत बाध्य हुन सक्ने देखिन्छ । किनकी आफ्नै दलका नेतालाई राष्ट्रपति बनाउने अडान लिइरहँदा अहिलेको सत्ता गठबन्धनमा हलचल नआउने हो कि भन्ने चिन्ता पनि कांग्रेसलाई छ ।
‘हाम्रो प्राथमिकता कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने भन्ने हो तर सत्ता गठबन्धनबीच सौहार्द सम्बन्ध कायम भइरहे कांग्रेसले केन्द्रदेखि प्रदेशको सत्तामा प्रवेश पाउने बाटो बन्द हुन सक्छ,’ कांग्रेस स्रोत भन्छ, ‘यसैले एमालेको राष्ट्रपति बनेर अहिलेको गठबन्धन झन् कसिलो हुनुभन्दा स्वतन्त्र व्यक्ति राष्ट्रपति हुँदा कांग्रेसलाई पनि फाइदा नै हुन सक्छ । तर यो हाम्रो पार्टीको अन्तिम विकल्प हो ।’
को हुन सक्छ प्रचण्डले राष्ट्रपतिमा देखेको साझा व्यक्ति ?
माओवादी नेता देवेन्द्र पौडेल परिवर्तनलाई बुझेको व्यक्ति हुँदा दलभित्र र बाहिरको जो भए पनि हुने बताउँछन् ।
‘हामीले भनेको राष्ट्रिय सहमति सबैले मान्ने व्यक्तित्व भन्ने हो । यो हाम्रो पार्टीको भनाइ हो । यस्तो व्यक्ति दलभित्रैबाट पनि हुन सक्छ,’ पौडेलले लोकान्तरसँग भने, ‘सकेसम्म लोकतन्त्र, विधि, पद्धति र प्रणाली बुझेको मान्छे राष्ट्रपति हुनुपर्छ भनेका हौं । स्वतन्त्र भए पनि, दलको भए पनि संविधान, गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन खोजेका हौं । प्रधानमन्त्री एवं हाम्रो अध्यक्षको कुरा पनि यही हो ।’