०२ साउन २०८३, शनिबार

पतञ्जलिको व्यापार

चैत १८, २०७९
पतञ्जलिको व्यापार

लामो समयदेखि समाज विकास तथा अनुसन्धानमा लाग्दै आएको राजधानीको एउटा संस्था विकासमा अध्यात्मलाई जोड्ने विचारमा थियो । उसले यसका लागि सर्वप्रथम भारतको हरिद्वारमा सञ्चालित पतञ्जलि योगपीठको अवलोकन गर्ने निधो गर्‍यो ।

त्यतिबेला पतञ्जलि योगपीठको हालको जस्तो संरचना तयार भइसकेको थिएन । शहरकै एउटा छेउमा केही जमिन भाडामा लिएर सेवा दिँदै आएको थियो । अवलोकन भ्रमणमा जाने भएपछि संस्थाकै अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय टोली बन्यो, जसमा अध्यक्षबाहेक संस्थाकै एक उच्च अधिकृत र गोपाल समावेश थियो । भ्रमणको उद्देश्य पतञ्जलि योगपीठको विकासको मोडल र उसको गतिविधि निरीक्षण गर्नु थियो । 

पतञ्जलि योगपीठ भारतीय सन्यासी रामदेव र उनका सहयात्री सुवेदी थरका एक नेपाली सज्जनको प्रत्यक्ष लगानी रहेको संस्था हो । स्वामी रामदेव योग शिविरका लागि प्रायः बाहिरै रहने भएकाले संस्थाको नेतृत्व सुवेदीले गर्दै आएका थिए, जो आचार्यजीको नामले बढी परिचित थिए । उनको बोलीचाली राम्रो थियो, ओठमा मुस्कान, बोलीमा मिठास तर व्यवहार भने खासै मन परेन गोपाललाई । साथीहरूलाई कस्तो लाग्यो कुन्नि ? सायद उनीहरूलाई पनि त्यस्तै लागेको हुनुपर्छ । उनी आफूलाई नेपाली भनेर चिनाउन खासै रुचाउँदैनथे ।

उनको बोली र बडीमा नेपाली भनेर चिनाउँदा आपूmप्रतिको दृष्टिकोण अर्कै हुन सक्छ भन्ने भाव प्रष्टै झल्कन्थ्यो । कुराकानीको क्रममा ‘तुम नेपाली’ भन्थे । ‘तुम लोग ऐसा कर सकते हो तो हम ऐसा करेंगें’ भन्न पनि पुगिरहेका हुन्थे । तथापि परदेशमा रहेर पनि एउटा नेपालीले गरेको प्रगति देखेर खुशी नै मानें ।

भ्रमणको उद्देश्य नै त्यस्तै रहेकाले टोलीका सदस्यले सर्वप्रथम बिरामीको अभिनय गरी चिकित्सालयको टिकट काटे । बिरामी जाँच्ने व्यवस्था ठीकै लाग्यो । खुला स्थानमा अस्थायी रूपले बारेर बिरामी जाँच्ने कोठाहरू बनाएका रहेछन्, जहाँ मुस्किलले एक पटकमा एक बिरामी र एक चिकित्सकसम्म अट्न सक्थे । पालो आएपछि सबैलाई एकएक गरी बोलाइयो ।

टोलीका सदस्यहरूले आ–आफ्ना बनावटी समस्या बताए । जाँच्ने काम सकियो । चिकित्सकले केही योगको प्रशिक्षण लिन र केही औषधि सेवन गर्न सुझाए । योग शिक्षकले एक पटकमा ५०–६० जना जतिलाई एक घण्टाको प्रशिक्षण दिँदा रहेछन् । १/१ घण्टा गरी प्रशिक्षण झण्डै दिनैभरी जस्तै चल्दो रहेछ । 

प्रशिक्षण सकिएपछि उनीहरू औषधिको बील बनाउन लागे वित्तीय कक्षतिर । काउन्टरवालाले जनही त्यस्तै हजार १२ सयजति भारुको बिल उठाए होलान् औषधिको । त्यसपछि पो थाहा भयो, पतञ्जलि योगपीठले मानिसलाई कसरी व्यवसाय चलाएको रहेछ भन्ने कुरा । बिल लिएपछि उनीहरू औषधि खरिद नगरिकनै बाहिर निस्के । किनकि उनीहरूलाई औषधिको आवश्यकता नै थिएन । बिरामी भएका भए पो औषधिको आवश्यकता पर्नु । 

त्यसपछि भ्रमण टोली संस्थाको अन्य गतिविधि निरीक्षण गर्नतिर लाग्यो । उनीहरूको विचार त योगपीठको बन्दै गरेको १५ अर्ब भारुको योजना निरीक्षण गर्नु पनि थियो तर त्यति नै बेला तत्कालीन राजा ज्ञानेन्द्रले सरकार अपदस्थ गरी सत्ता हातमा लिएको समाचार आयो । त्यसपछि मुलुक जल्ने भयो भन्ने डर र घरपरिवारको चिन्ताले भ्रमण स्थगित गरी त्यसैदिन साँझ स्वदेश फिर्तीको टिकट काटे । गोरखपुरसम्म त सजिलै आए तर गोरखपुर आइपुगेपछि भने ज्यादै नमिठो अनुभव गर्नुपर्‍यो, बस व्यवसायीका दलालीका कारण । यस्तै–यस्तै तीतामीठा अनुभव सँगाली बुद्ध एयरबाट त्यसैदिन अपराह्नतिर काठमाडौं आइपुगे ।

उनीहरूलाई अहिलेसम्म चक्काजाम र आगजनीका कारण बाटो पाउनै गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको होला भन्ने लागेको थियो काठमाडौंमा तर यहाँ त मानौं केही पनि भएको छैन जस्तो गरी यथावत् दिनचर्या चलिरहेको रहेछ । ट्याक्सी चालक भाइबाट शाही ‘कु’लाई धेरैले राम्रो मानेका र केहीले दीपावली नै गरेको थाहा पाएर छक्क परे । यसबाट उनीहरूलाई सत्ताधारी र सत्ताकांक्षीहरूको व्यवहारबाट नेपालीहरू कति बढी वाक्क भएका रहेछन् भन्ने बुझ्न त्यति टाडा जानुपरेन ।

नेपालीहरूको बानी के छ भने जो आए पनि नयाँ आउनासाथ केही हुन्छ कि भन्ने आशले खुशी हुने गर्छन् । उनीहरूलाई खुशी हुन खासै केही चाहिँदैन । विना रोकटोक दुःखजिलो गरी एक पेट खान र एक आङ लाउन पाए मात्रै पनि पुग्छ । नत्र त भीआईपीहरूको सवारीले बाटो अवरुद्ध मात्र नगरिदिए पनि किन पो ठूलै उपलब्धि ठानी खुशी हुन्थे होलान् र ।
 
भो छाडौं यी कुरा । त्यति टाढा पुगेर पनि पतञ्जलि योगपीठको पूरा गतिविधि नहेरी फर्कनुपरेकोमा साह्रै नराम्रो लाग्यो उनीहरूलाई । तथापि रामदेवको उद्योगले चाँडै नै गरेको विकासलाई आश्चर्यजनक नै माने । महामुनि पतञ्जलिको योगदर्शनमा कूल १९५ सूत्र छन् क्या र ! तिनमा एउटा सूत्रलाई व्यवहारमा ल्याएका हुन् रामदेवले । 

एउटै सूत्रलाई भजाउँदा त त्यति ठूलो चमत्कार हुन्छ भने सबै सूत्रलाई प्रयोगमा ल्याउन सक्ने हो भने कस्तो होला सोझै अनुमान गर्न सकिन्छ ।
 
हाल पतञ्जलि योगपीठको उत्पादनले विश्वव्यापी रूप लिएको छ । भारतकै कुरा गर्ने हो भने पनि १५ प्रतिशतभन्दा बढी बजार त्यहीँको उत्पादनले ओगटेको छ भन्ने सुनिन्छ । अध्यात्म भनेको यस्तो लाइन हो, जहाँ कसैले पनि शंका गर्दैैनन् । अध्यात्मको तुरूप लगाउनुपर्छ जे गरे पनि हुन्छ । उदाहरणका लागि पतञ्जलि योगपीठको उत्पादनलाई नै लिन सकिन्छ । त्यहाँको उत्पादनको गुणस्तरबारे भारत सरकार आफैंले आवाज उठाइरहेको छ । तैपनि व्यापार घट्नुको सट्टा निरन्तर उकालो लागिरहेको छ । नेपालमै पनि यसले राम्रै बजार पाएको छ । पछिल्लो अवस्थामा त उसले शाखा विस्तार नै गरिसकेको छ ।

पतञ्जलिको उत्पादन भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास गर्ने धेरै छन् यहाँ । रामदेव र उनका सहयात्री आचार्यजी भनेपछि कतिपय नेपालीहरू यति हुरुक्क हुन्छन् कि देख्नासाथ मानौं भगवान् नै आए जस्तो गरी अघिपछि लाग्न थाली हाल्छन् । केही समयअघि उनीहरू आउँदा यहाँका एक उच्चस्तरीय नेता आफैं सवारीमन्त्रीको भूमिकामा उभिएका थिए, जो हाल मुलुककै विशिष्टतम पदमा आसिन हुन पुगेका छन् ।

जेहोस्, जसरी गरे पनि पतञ्जलि योगपीठले गरेको प्रगतिलाई भने मान्नैपर्छ । हामीले पनि चाहने हो भने त्यस्तै नभए पनि त्यस्तै खालको केही गर्न पक्कै सक्छौं तर अरूको मुख ताक्ने र उनीहरूकै प्रचारमा रमाउने बानी परेकाले हुनुपर्छ हालसम्म त्यतातिर कसैको ध्यान पुगेको छैन । यसलाई सम्झिँदा भने दिक्क लाग्ने गरेको छ रे गोपाललाई ।

salt training

कमेन्ट गर्नुहोस्