कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
बैशाख ६, २०८०
राजनीतिमा कुनै पनि चीज स्थायी हुँदैन, न शत्रुता न मित्रता । एउटै चीज मात्र स्थायी हुन्छ, त्यो हो लक्ष्य । लक्ष्यप्राप्तिका निम्ति कहिले सन्धि र कहिले सम्बन्धविच्छेद गर्नुपर्छ । अनि मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ । –कौटिल्य
यो विचार किन उद्धृत गरिएको हो भने नेपालको राजनीतिमा पनि यस सूत्रको थोरबहुत उपयोग हुँदै आएको छ । तर राष्ट्रनिर्माणका लागि नभएर सत्ता प्राप्तिका लागि । यस्तो भद्दा अभ्यासले जनता निकै प्रताडित छन् । र यसबाट चाँडोभन्दा चाँडो कसरी त्राण प्राप्त होला भनेर बहुतै चिन्तित पनि छन् । आजसम्मका राजनीतिक गतिविधिले लक्ष्यप्राप्तिको मूलबाटो समातेको देखिएन । त्यसैले नेपाली समाज अझसम्म पछौटे छ र जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । यसकै कारण समाजको नयाँ पुस्ता शोकाकुल छ । कुनै पनि देशमा नयाँ पुस्ता शोकमा डुबेर व्यथित भयो र उसको जाँगर मर्यो भने त्यो देश किमार्थ अगाडि बढ्न सक्तैन ।
आज वैशाख ६ गते अर्थात् नेपाल विद्यार्थी संघको ५४औं जन्मदिवस । यस संस्थाले सिङ्गो नयाँ पुस्ताको प्रतिनिधित्व गर्छ । निरंकुश पञ्चायती कालरात्रिको कठोर समयमा नेपालका प्रजातन्त्रवादी विद्यार्थीहरूले आफ्नो जिउधनको कुनै पर्वाह नगरी यस संस्थालाई जन्म दिएका थिए । त्यसैमध्येका एक नेता आज मुलुकका राष्ट्रपति छन् र अर्का पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति छन् । मन्त्री र नेता त कति छन् कति ?
प्रजातन्त्रिक आदर्शको एउटा ऊर्वर भूमि र सुयोग्य नेता उत्पादन गर्ने सफल कारखानाका रूपमा स्थापित नेविसंघको नाममा धेरैजना अग्रजहरूले आफ्नो जीवन बलिदान गरे । आफ्नो निजी चाहना, आवश्यकता र घरपरिवार सबै परित्याग गरे । आफ्ना आकांक्षा र स्वार्थलाई तिलाञ्जलि दिए । अझै पनि धेरै तरुण विद्यार्थीहरू अरू सबै कुरा छाडेर यही संस्थामार्फत आफ्नो जीवन समर्पित गरिरहेका छन् ।
तर यतिबेला स्वयं संस्था के गर्दैछ र यसको अवस्था कस्तो छ? र यही संस्थाबाट व्यक्तित्व बनाएका र प्रतिष्ठा हासिल गरेका नेताहरूले कस्तो व्यवहार गरेका छन्, निकै सोचनीय अवस्था छ । नेविसंघकै धरातलबाट उठेका र राजनीतिक प्रतिष्ठा आर्जन गरेका नेताहरू के गर्दैछन् ? यसले गम्भीर बहसको आमन्त्रण गरेको छ । यस ऐतिहासिक दिनमा प्रातः स्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा अग्रजहरूप्रति सम्मान !
केही प्रसंगहरू निकै भावुक, स्मरणीय र गौरवपूर्ण लाग्दा रहेछन् । २०७४ सालको संसदीय निर्वाचनको पूर्वसन्ध्यामा हामी केही साथीहरू काठमाडौंको तीनकुने अवस्थित सिद्धार्थ फूडल्यान्डमा जुटेका थियौं । बैठकको अगुवाइ नेता चन्द्र भण्डारीले गर्नुभएको थियोे । सन्दर्भ संसदीय निर्वाचनमा उम्मेदवारीको थियो । उपस्थित अधिकांश युवा नेताहरू उम्मेदवार बन्ने सम्भावना प्रबल थियो । तर पार्टीभित्र विचित्र खेल चल्दै थियो । र पार्टीका लोकप्रिय नेताहरूलाई उम्मेदवारीबाट वञ्चित गराउने संकेतहरू आइरहेका थिए ।
सबैले आ–आफ्ना धारणा राखेपछि मैले आफ्नो धारणा राख्दै भनेको थिएँ– तपाईं हामी एउटा काम गरौं, जसले वर्तमान प्रणालीप्रति गुमेको जनआस्था फर्कन सक्छ । राष्ट्रनिर्माणको नयाँ युग प्रारम्भ हुनसक्छ, राजनीतिबाट विरक्त नयाँ पुस्तामा आशा पलाउन सक्छ । यसबाट पार्टीमा नेतृत्वले ठूलो दबाब महसूस गर्नेछ । त्यसैले उनीहरू नेतृत्व छाड्दैनन् भने हामी केही लिन्नौं भनौं । हामी यतिजनाले आगामी दश वर्ष पार्टी र राज्यका कुनै पनि अवसर लिनेछैनौं भनेर एउटा डिक्लेरेशन गरौं ।
हामी त्यहाँ लगभग बाह्र/तेह्र जना केन्द्रीय सदस्य थियौं । त्यसमध्ये मबाहेक सबै सांसद भइसकेका साथीहरू थिए । यस घोषणाले सबभन्दा बढी क्षति मलाई नै हुनेवाला थियोे । सबैले गज्जब कुरा हो भन्नुभयो । चन्द्र दाइ बारम्बार राष्ट्रनिर्माणका लागि त्यागको कुरा गर्नुहुन्छ । त्यसदिन पनि भावुक भएर आफू साँच्चै नै सबैथोक त्याग गर्न तयार छु भन्नुभयो । सबैभन्दा बढी मेरो कुराले उहाँ नै खुशी देखिनुभयो र फेरि भन्नुभयो– म तयार छु ।
यतिबेला उहाँ जीवनको गम्भीर मोडमा हुनुहुन्छ र स्वास्थ्य उपचारका क्रममा भारतको मुम्बईमा अवस्थित नेशनल बर्न हस्पिटलमा हुनुहुन्छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । नेविसंघका पूर्वमहामन्त्री चन्द्र दाइको शीघ्र स्वास्थ्य लाभको कामना छ ।
त्यसदिन हामी त्यत्तिकै उठ्यौं । यस कुराको प्रभाव थोरबहुत हामी सबैमा पर्यो तर ‘डिक्लेरेशन’को क्षण आएन । अरू एकदुईपटक छलफल गर्न सकेको भए प्रचलित राजनीतिलाई क्रमभंग गर्न सकिन्थ्यो होला । त्यसबाट कांग्रेसभित्र मात्र होइन, अरू पार्टीमा समेत प्रभाव पर्थ्यो होला । त्यतिबेला शुरूआत गर्न सकेको भए राजनीति थोरै सङ्लिन्थ्यो पनि होला ।
राजनीति सधैंभरी सत्ताप्राप्तिको खेल मात्रै होइन । राजनीतिमा आवश्यक पर्दा नेतृत्वले गुमाएर जनताले प्राप्त गर्नुपर्छ । सच्चा राजनीतिको लक्ष्य सुखी समाज र सम्पन्न देश हो । यसको माध्यम लोकतन्त्र हो र शर्त सुशासन हो । यस दिशामा हामी अग्रसर छौं त ? हाम्रा अगाडि गम्भीर प्रश्न छ ।
अर्को कुरा, केही वर्ष त्याग गरी पछि ठूलठूला अवसर लिने र त्यसको माध्यमबाट सत्ताको दुरुपयोग गर्ने पनि राजनीति होइन । तर नेपालले यस मामिलामा कीर्तिमान कायम गर्न खोजेको देख्दा साँच्चै पीडा हुँदो रहेछ । व्यक्ति, समाज र राष्ट्र समृद्ध नभए हेपिइन्छ । आत्मसम्मान, स्वाभिमान र प्रतिष्ठा बढ्दैन । मूलतः राजनीतिको मिसन यही नै हुनुपर्छ । त्यसैले जनतालाई अधिकारसम्पन्न सुखी नागरिक बनाएर राष्ट्रको प्रतिष्ठालाई चुल्याउनु राजनीतिको प्रमुख ध्येय हो ।
यस लक्ष्यलाई पूरा गर्ने क्रममा एकदुई पुस्ताले ठूलो संघर्ष, त्याग र आवश्यक पर्दा बलिदान हुन तयार पनि हुनुपर्छ । देश एकीकरणका क्रममा हाम्रा अग्रजहरूले ठूलो त्याग र बलिदान गरेको इतिहास हामीसँग छँदैछ । नत्र नेपाल देशको अभ्युदय हुने नै थिएन । देश त बन्यो तर जनताको चाहना र आवश्यकताअनुसारको समृद्धि हासिल हुन सकेन । यसको कारण अरू कोही होइन, स्वयं हामी हौं । यस सत्यलाई आत्मसात गर्न ढिला गर्नु हँुदैन । आत्मस्वीकृतिले नयाँ मार्गचित्र तयार गर्नमा ठूलो आत्मबल पैदा हुन्छ ।
आज देशभरका साथीहरू जन्मोत्सवका कार्यक्रममा व्यस्त नै होलान् । तर उनीहरूको मन भने निश्चितै रूपमा खिन्न छ । आफ्नो मातृसंस्था सरकारमा छ । राष्ट्रपतिदेखि मन्त्रीसम्म आफ्ना अग्रजहरू ठूलठूला जिम्मेवारीमा छन् । तर आफूले काम गरिरहेको संस्थाको हालत के छ ? झण्डै चार वर्षदेखि महाधिवेशन छैन । संगठनको अध्यक्षबाहेक समिति छैन । मातहतका समितिहरू पनि पूर्ण छैनन् । कतिपय शिक्षण संस्थामा अझैसम्म स्ववियू निर्वाचन हुनसकेको छैन । बैठक गरौं समिति छैन, काम गरौं कार्यक्रम छैन । बर्सेनि हुने ठूलठूला कार्यक्रम हुन छाडेका छन् । हुँदा पनि गुटगत हुन्छन् ।
संस्थागत चरित्र स्खलित हुँदै गएको छ । नेविसंघमा लामो समय काम गरेका साथीहरूको अवमूल्यन भइरहेको छ । नयाँ ‘इनरोलमेन्ट’ छैन । एकप्रकारले नर्सरी उजाडिएको छ । भविष्यको कुनै ठेगान छैन । पढौं उमेर बितिसक्यो । कुनै गतिलो रोजगारीको गुञ्जायस छैन । संगठनमा प्राप्त हुने भूमिका अनिश्चित छ । यस्तो अवस्थाबाट संगठन गुज्रिएको छ । एकप्रकारले संगठनभित्र चरम निराशा छ । यसले कस्तो भविष्यलाई इङ्गित गर्छ ?
माथि नै चर्चा भइसक्यो– विद्यार्थी संगठन भनेका राजनीतिक दल र राष्ट्रका लागि सुयोग्य नेता एवं दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना हुन् । के यतिबेला विद्यार्थी संगठनहरू मुलुकमा नयाँ पुस्ताका लागि गुणस्तरीय शिक्षा दिलाउने वातावरण बनाउन सक्षम छन् त ? यसको मतलब दलहरूलाई र खासगरी आफ्नै दलको सरकारलाई दबाब दिने सामर्थ्य राख्छन् ? वा उच्च नैतिकताको अभ्यास तथा योग्यता आर्जन गरी देश चलाउने नेता बन्ने तयारी गर्दैछन् ? स्थिति निराशाजनक देखिन्छ ।
हाम्रो अगाडिको बाटो के हो ? हाम्रा शहीद राम, लक्ष्मण, लीला, ठगी, कामेश्वर, कुशेश्वरले देखेको सपना यही हो ? अघि नै चर्चा भइसकेको छ– विद्यार्थी संगठनले देशका निम्ति योग्य र कुशल नेता साथै देशका लागि दक्ष जनशक्ति तयार गर्नमा सकारात्मक योगदान पुर्याउने हो । अर्को कुरा, आफ्नो देश उन्नति र विकासको बाटोमा हिँडेको छ छैन, ख्याल गर्ने हो । के यतिबेला हाम्रो देश सही बाटोमा हिँडिरहेको छ त ? छैन भने कहाँ छन् विद्यार्थी संगठनहरू ? त्यसमध्ये पनि नेपाल विद्यार्थी संघ कहाँ छ ? आउने पुस्ताले इतिहासमा उठाउने गम्भीर प्रश्न हो यो ।
आज देशलाई नयाँ पुस्ताको खबरदारी आवश्यक छ । के तरुण विद्यार्थीहरू असमयमै वृद्ध भएका हुन् ? वा उनीहरूको चेतनामा धमिरा लागेको हो ?
त्यसैले मूलतः हाम्रो राष्ट्रिय लक्ष्य के हो भन्नेमा कसैलाई पनि द्विविधा नहोला । हामी चाहन्छौं– छोटो समयमा राष्ट्रले उन्नति गरोस्, जनता सुखी होऊन् र अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढोस् । के यस बाटोमा नेपालका सरकारहरू दत्तचित्त छन् त ? निस्संकोच भन्नुपर्छ, छैनन् । त्यसो भए आजकै दिन नेविसंघका साथीहरूले संकल्प गर्नुस् : अब हामी खबरदारी गर्छौं । सरकार र राजनीतिक दलहरूलाई सही बाटोमा हिँड्न सशक्त दबाव दिन्छौं । नेपाललाई समुन्नत तथा प्रतिष्ठित लोकतान्त्रिक मुलुक बनाउन प्रभावकारी भूमिका खेल्छौं । यस दिशामा सबैलाई प्रेरणा मिलोस्, फेरि पनि जन्मदिवसको धेरै धेरै शुभकामना !!
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...