
प्रतिष्ठाको हिसाबले मंसिरको चुनावभन्दा बढी पेचिलो बनेको वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको प्रचारप्रसार र घरदैलोको समय बिहीवार रातिदेखि सकिँदैछ । मतदानको दिन नजिकिँदै गर्दा उपनिर्वाचनको ‘इपिसेन्टर’ चितवनमा घरघर, गल्ली र चोकमा सम्भावित नतिजाबारे गरमागरम बहस चलिरहेको छ ।
वैशाख पहिलो हप्ता ४० डिग्री तापक्रम रहेको चितवनमा ‘लू’ चल्ने खालको गर्मीभन्दा बढी राजनीतिक सरगर्मी छ । निवर्तमान सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफ्ना चुनावी र्याली, कोणसभा र मतदाताका घरदैलोमा भोट मागिरहेका छन् ।
२०७९ मंसिरको चुनावमा ४९ हजार ३०० मत ल्याएर रास्वपा सभापति लामिछाने विजयी भएका थिए । चितवनबाट चुनाव जितेका लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका थिए । चुनावअघि सरकारमा नजाने भन्दै मत बटुलेका रास्वपा चुनावपछि भने सरकारमा सहभागी भएको थियो । रास्वपालाई सत्ता–यात्रा प्रिय हुन सकेन ।
सभापति लामिछानेको नागरिकता अवैध भन्दै सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि रविको मन्त्रीदेखि सासंद पद खारेज भयो । रविको नागरिकता खारेज भएपछि चितवनमा उपनिर्वाचन हुँदैछ ।
रविकै कारण ६ महिनामै चुनाव गर्नुपर्ने अवस्था आएको भन्दै कांग्रेस–एमालेका उम्मेदवारले भोट मागिरहेका छन् । पछिल्लो समय रास्वपाभित्र देखिएका केही समस्यालाई विपक्षी उम्मेदवारले मसला बनाएका छन् । चितवनकै माटोमा हुर्केको र यहाँका जनताका समस्याको साक्षी भएको विषयलाई ठूला दलका उम्मेदवारले बलियो रूपमा उठाएका छन् ।
कालिका नगरपालिका–७ मा भएको चुनावी सभामा एमाले उम्मेदवार न्यौपानेले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै अहिले गर्मीको समयमा कसका कारणले निर्वाचन भएको हो भन्दै प्रश्न गरे । ‘यहाँहरूलाई थाहा नै छ, पुनः निर्वाचन गर्नुपर्ने अवस्था कसले गर्दा आएको हो ?’ न्यौपानेले भने, ‘पक्कै पनि यसभन्दा अगाडि निर्वाचन जितेर जानुभएका सांसदका कारणले यो कुरा त पुष्टि भएको छ ।’
कांग्रेस उम्मेदवार श्रेष्ठले पनि न्यौपानेकै शैलीमा लामिछानेकै कारण निर्वाचन हुने अवस्था आएको बताए । कांग्रेसले टिकट दिएकै दिन जीतनारायणले मंसिरमा जस्तो हावाहुण्डरी वैशाखमा नआउने र नतिजा उल्ट्याउने भनेर काठमाडौंमै दाबी गरेका थिए ।
भरतपुर महानगरपालिका–१० को कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले भने, ‘फेरि निर्वाचन हुने भएको कसले गर्दा हो भन्ने तपाईंहरूले थाहा पाउनुभएको छ । अब फेरि पनि यस्तो अवस्था आउन नदिन चितवनका जनता सचेत हुनुपर्ने अवस्था आएको छ ।’
एमाले र कांग्रेसका उम्मेदवारले आम मतदातासँग भन्ने गरेको अर्को विषय हो, ‘टुरिस्टलाई होइन, गाउँको छोरो–भतिजो ।’ न्यौपाने र श्रेष्ठ चितवनका स्थानीय हुन् भने लामिछाने बाहिरबाट आएका उम्मेदवार । इच्छाकामना गाउँपालिका–३ को घरदैलोमा एमालेका उम्मेदवार न्यौपानेले स्थानीयको समस्या टुरिस्टले नबुझ्ने बताए ।
‘म चितवनको माटोमा हुर्के–खेलेको यहाँहरूको भाइ, छोरो र भतिज हुँ, यसपालि सहयोगको अपेक्षा गरेको छु,’ न्यौपानेले स्थानीयसँग भोट माग्दै भनेका थिए ।
कांग्रेस उम्मेदवार श्रेष्ठले त्यही विषयलाई उठाएका छन् । उनले पनि भरतपुर महानगरपालिका–१ मा भोट माग्दै भनेका थिए, ‘चितवनको माटोको छोरा हुँ, यहाँको विकासमा योगदान गरेको छु, त्यसकारणले पनि यहाँहरूले मलाई जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले भने मान्छेबाट गल्ती हुने भएकाले त्यसलाई सुधारेर आगामी दिनमा अगाडि बढ्नका लागि फेरि जनताको घरदैलोमा आएको बताए ।
‘मान्छेले गल्ती गर्छ, लड्छ, उठ्छ, हिँड्छ र डौडिन्छ । त्यसैले फेरि यो देश बनाउनका लागि तपाईंहरूको घरदैलोमा आएको छु,’ बुधवार भरतपुर महानगरपालिकाको कोणभेलालाई सम्बोधन गर्दै रविले भनेका थिए । अदालतबाट सांसद पद खारेज भएपछि उनले आफ्नै असावधानीका कारण चितवनवासीले पुनः मतदानका लागि दुःख पाउन लागेको भन्दै क्षमा मागेका थिए ।
कांग्रेसले भोट बढाउँदा एमालेलाई फाइदा
२०७९ मंसिरको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछान ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए । रविले ४९ हजार ३०० मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १८ हजार ९८८ मत ल्याएका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । चितवन–२ मा १ लाख २५ हजार मतदाता छन् ।
मंसिरको तुलनामा परिस्थिति फेरिएकाले यसपटक चितवनमा त्रिपक्षीय भिडन्त हुने कांग्रेस, एमालेका नेताहरू दाबी गर्छन् । रवि लामिछाने परीक्षण भइसकेको तथा विगतमा घण्टीलाई मत हालेका ६० प्रतिशत मतदाता आ–आफ्नो पार्टीमा फर्किएकाले अवस्था मंसिरको जस्तो नभएको ठूला दलका नेताको दाबी छ ।
चितवनको चुनावी अभियानमा खटिएका एमाले पोलिटब्यूरो सदस्य तथा सासंद गोकुल बाँस्कोटा चितवनको नारायणी नदीमा आएको भेल सङ्लिएर कञ्चन बनेकाले मंसिरको तुलनामा वैशाखमा काफी परिवर्तन आएको दाबी गर्छन् ।
‘अहिले नारायणी कञ्चन भएको छ, पहिले बाढी आएको समयमा धमिलो थियो,’ बास्कोटाले लोकान्तरसँग भने ।
एमालेले आफ्नो मत ३० हजार हाराहारीमा पुगेको दाबी गरिरहेको छ । प्रदेश सभामा आएको मतका आधारमा एमालेले मंसिरको नतिजा उल्ट्याउँछु भनिरहेको छ । आफ्ना मतदाता मात्रै फर्काएको खण्डमा चुनाव जित्ने आकलन एमालेले गरेको छ । मंसिरको चुनावमा प्रदेश सभा (१) मा १६ हजार ५०३ मत र (२) मा १२७६१ गरी २९ हजार २६४ मत ल्याएको थियो ।
अहिले यो निर्वाचन क्षेत्रमा जित्नका लागि करीब ३४ हजार मत ल्याउनुपर्ने एमाले नेताहरूको आकलन छ । यो आधारमा प्रदेश सभामा ल्याएकोभन्दा ६ हजार भोट बढाउनुपर्ने अवस्था छ ।
नेपाली कांग्रेसको भोट कांग्रेसमै खसेको खण्डमा पनि जीत निकाल्न सकिने एमालेको आकलन छ । ‘कांग्रेसले पार्टीको भोट जोगाउन सक्यो भने मंसिरको नतिजा उल्ट्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ चितवनमा खटिएका एक एमाले नेताले भने, ‘राजनीतिक स्थिरताका लागि पनि कांग्रेस या हामीले चुनाव जित्नुपर्छ ।’
कांग्रेसले पनि आफ्ना मतदाता लयमा फर्किएको दाबी गरिरहेको छ । मंसिरको चुनावमा प्रदेश सभामा कांग्रेसले (१) मा १५ हजार २६५ र (२) मा १३ हजार ३२५ गरी २८ हजार ५८९ मत ल्याएको थियो । प्रदेश सभामा आएको मतलाई सुरक्षित गरेर ८ हजार भोट बढाएमा चुनाव जित्ने कांग्रेसको आकलन छ ।
मंसिरको नतिजा उल्ट्याउन भन्दै कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरू चितवनमा खटिएका छन् ।
रास्वपाका नेताहरू भने मतान्तर विगतको जस्तो नभए पनि चुनाव जितिनेमा आशावादी छन् । रविको राहदानी मुद्दा अदालतमा विचाराधीन रहेको तथा सांसद ढाकाकुमार श्रेष्ठको २ करोडको अडियो टेप काण्डले रास्वपाका कतिपय समर्थक शंसयमा छन् । चितवनमा शक्ति प्रदर्शन स्वरूप रास्वपाले बिहीवार भरतपुरमा सभा गरेको थियो ।
उपचुनावलाई प्रतिष्ठाको विषय बनाएर नतिजा उल्ट्याउन दलका केन्द्रीय नेताहरू चितवनमा अड्डा जमाएर बसेका छन् । नेपाली कांग्रेसका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बालकृष्ण खाँण, रामहरि खतिवडा लगायतका नेताहरू चितवन पुगेका थिए । एमालेका सुरेन्द्र पाण्डे, पदमा अर्याल, योगेश भट्टराई, गोकुल बाँस्कोटा, लालबाबु पण्डित र शान्ता चौधरी लगायतका नेताहरू चितवन पुगेका थिए भने रास्वपाका सबैजसो सांसद् र नेताहरू चितवनमा अड्डा जमाएर बसेका छन् ।