
वरिष्ठ समालोचक युवराज मैनालीको समालोचना सङ्ग्रह ‘दृष्टि : दृष्टिकोण’ को लोकार्पण गरिएको छ । शनिवार एक साहित्यिक समारोहकाबीच प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं आयोमेली आन्दोलनका प्रतिष्ठाता कवि वैरागी काँइलाले समालोचना सङ्ग्रहको विमोचन गरेका हुन् । उक्त कृतिलाई साझा प्रकाशनले केही समय अघि प्रकाशनमा ल्याएको थियो ।
कृति विमोचनमा प्रमुख अतिथि पूर्वकुलपति वैरागी काइँलाले साहित्य सिर्जना निकै गाह्रो विषय भएको र समालोचना त्योभन्दा पनि निकै गाह्रो विषय रहेको बताए ।
वरिष्ठ समालोचना मैनालीले २०४२ मा केही प्रतिभा केही प्रवृत्ति, २०६९ मा समको पौराणिक नाट्य कौशल, २०७० मा कर्मयोगी देवकोटाको महाकाव्य विश्लेषण जस्ता गहन कृति यस अघि नै प्रकाशित गरिसकेका र उनको चौथो समालोचना संग्रह र सातौं कृति ‘दृष्टि : दृष्टिकोण’ को लोकार्पण समारोहको प्रमुख आतिथ्यता गर्न पाएकोमा आफू गौरवान्वित भएको उनले बताए ।
समालोचक मैनालीबाट भावी दिनमा अरु गहन सिर्जना र समालोचनामार्फत समाज र सर्जकलाई बाटो देखाइरहन समेत उनले शुभकामना दिए ।
कृतिकार वरिष्ठ समालोचक मैनालीले आफ्नो समालोचना कृतिको रचना गर्भमाथि प्रकाश पारेका थिए ।
धेरै चर्चामा आएका र चर्चामा कम आएका, धेरै वरिष्ठ र नवोदित, तीसको दशकका सर्जक र अघिल्लो दशकबाट लेख्न थालेका, महिला पुरुष, शहर मोफसल सबै प्रकारका स्रष्टाका कृतिहरूको प्रतिनिधिमूलक निष्पक्ष रुपमा समालोचना गरिएको र आउँदा दिनमा पनि व्यक्तिका आधारमाभन्दा कृतिको आधारमा समालोचना गर्ने उनले जानकारी दिए ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’ले गरेका थिए । कार्यक्रममा समाजका संरक्षक डा. अर्जुनदेव भट्टले स्वागत मन्तव्य राखेका थिए ।
लोकार्पित कृतिका टिप्पणीकार वरिष्ठ समालोचक प्रा.डा. लेखप्रसाद निरौलाले ‘दृष्टि : दृष्टिकोण’ मा वरिष्ठ समालोचक युवराज मैनालीको समग्र साहित्य यात्रामाथि प्रकाश पार्दै चालीसको दशकदेखि अहिलेसम्म लेखिएका विभिन्न विधा समेटिएको र समय, लैङ्गिकता र पुस्ताको समावेशीकरण भएको उल्लेख गर्दै लोकार्पित कृति नेपाली साहित्यमा अमूल्य निधिको रुपमा आएको बताए ।
उनले मैनालीको समालोचनामा नेपाली साहित्य कुन रुपमा गतिशील छ, त्यसको स्पष्ट प्रवृत्ति चित्रण रहेको र समालोचकीय दृष्टिकोणमा कृति अव्वल रहेको उल्लेख गर्दै गहनता र कलावादी अन्तरदृष्टि मैनालीका समालोचकीय विशेषता भएको विश्लेषण गरेका थिए ।
कृतिमाथि प्रकाश पार्दै नेपाली शिक्षण समितिको अध्यक्ष एवं त्रिवि केन्द्रीय नेपाली शिक्षण विभागका प्रमुख वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले समालोचना कार्य निकै कठिन भएको भन्दै त्यो कठिन कार्य मैनालीबाट निरन्तर हुँदै आएको र प्रस्तुत समालोचना प्रभाववादी नभै बस्तुपरक भएको टिप्पणी गरे ।
अर्का टिप्पणीकर्ता प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ प्रा. दिनेशराज पन्तले मैनालीको सामलोचनामा निर्भिकता र गहनता रहेको चर्चा गरेका थिए ।
वरिष्ठ समालोचक एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुपति प्रा. डा. कुलप्रसाद कोइरालाले मैनालीको दरिलो कदम र विश्लेषण क्षमताबाट नेपाली साहित्यले अरु कृतिहरू पाउँदै जाने विश्वास व्यक्त गरे ।
साहित्यिक संस्थाहरुका तर्फबाट दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले वरिष्ठ समालोचक युवराज मैनालीको कथा, व्यङ्ग्य र समलोचनाका विवि पक्षमा प्रकाश पार्दै मैनालीको अविराम साहित्य यात्राका लागि शुभकामना लिए ।
यस्तै, वरिष्ठ कवि प्रह्लाद पोखरेल, मैनाली समाजका अध्यक्ष शम्भुप्रसाद मैनाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ कवि श्रीहरि फुयाँल, वरिष्ठ आख्यानकार लव गाउँले, वरिष्ठ निवन्धकार/समालोचक गोपी मैनाली, वरिष्ठ कवि बाजुराम शर्मा, वरिष्ठ समालोचक ठाकुर शर्मा, वरिष्ठ साहित्यिक पत्रकार आश्विनी कोइराला, वरिष्ठ व्यङ्ग्यकार विमल भौकाजी, वियोगी बुढाथोकी, वरिष्ठ कवि कृष्ण बाउसे, भुवनेश्वरी पाठक लगायत साहित्यकार एवं पूर्व प्रशासकहरूको बाक्लो उपस्थिति थियो । सामाजिक विकास समाज अनामनगरमा आयोजित कार्यक्रमको सञ्चालन साहित्यकार बाबु कार्कीले गरेका थिए ।
मैनालीको यस समालोचना सङ्ग्रहमा स्व क्षेत्रप्रताप अधिकारी, विनोल अश्रुमाली, सरुभक्त, स्व. जगदीश घिमिरे, माया ठकुरी, अनिता तुलाधर, तीर्थराज अधिकारी, खगेन्द्र लुइटेल, चट्याङ मास्टर, किशोर पहाडी, विजय चालिसे, राम लामा अभिलाशी, बाजुराम पौडेल, युुवराज नयाँघरे, श्रीहरि फुयाँल, हरिभक्त सिग्देल महेश, गङ्गा कर्माचार्य, विमल भौकाजी, राधेश्याम लेकाली, लव गाउँले, रवीन्द्र शमीर, अच्युत घिमिरे, कृष्ण धरावासीलगायत २९ स्रष्टाका कृतिमाथि समालोचना गरिएको छ ।
मैनालीले यस अघि मुर्दा बोल्यो (कथासङ्ग्रह, २०३७), केही प्र्रतिभा : केही प्रवृत्ति (समालोचना, २०४२), भ्रष्टाचारको भाङ (ब्यङ्ग्य, २०६५), समको पौराणिक नाट्य कौशल (समालोचना, २०७०), पृथक बाटो (लघुकथासङ्ग्रह, २०७५) प्रकाशित भैसकेका छन् । मैनालीले अनेसास पुरस्कार लगायत दर्जनौं सम्मान तथा पुरस्कार पाइसकेका छन् । उनी सुरभि साहित्य प्रतिष्ठान, मुक्तिनाथ दर्शन साहित्य समाज, सुलेख, मानव पुस्तकालय आदिमा समावेश भै साहित्य र समाज सेवा गरिरहेका छन् ।