३२ असार २०८३, बिहीबार

सय किलो सुन प्रकरणः अनुसन्धान शुरू गर्न पत्रको पर्खाइमा प्रहरी

साउन २१, २०८०
काठमाडौं
सय किलो सुन प्रकरणः अनुसन्धान शुरू गर्न पत्रको पर्खाइमा प्रहरी

करिब १०० किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने तयारी गरेको सरकारले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । चौतर्फी दबाबपछि सरकारले सुन प्रकरणको अनुसन्धान २० दिनपछि सीआईबीलाई दिने तयारी गरेको छ । गत बिहीवार नै अनुसन्धानको जिम्मा सीआईबीलाई दिने तयारी गरेको सरकारले  आज (आइतवार)सम्म औपचारिक पत्र पठाएको छैन । 

नेपाल प्रहरीले सरकारको पत्र कुरिरहेको जनाएको छ । औपचारिक पत्र आएपछि मात्रै अनुससन्धान शुरू हुने प्रहरी प्रधान कार्यालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । ‘हामीलाई पत्र आइपुगेको छैन, पत्रसँगै अन्य सबै कुरा आउने भएकाले त्यसपछि मात्र हामीले अनुसन्धान शुरू गर्छौं,’ डीआईजी कडायतले भने । 

गत बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीसहित सीआईबी प्रमुखसँगको छलफलमा सुन प्रकरणको अनुसन्धानका लागि तयार रहन निर्देशन दिएका थिए । 

यता राजस्व अनुसन्धान विभागले भने सुन बरामद प्रकरणको अनुसन्धान सीआईबीलाई दिने विषयमा कानूनी जटिलता उत्पन्न भएको जनाएको छ । कानूनी निकास खोजेर मात्रै सुन प्रकरणको अनुसन्धान सीआईबीलाई हस्तान्तरण गरिने राजश्व अनुसन्धान विभागले जनाएको छ । 
 
सुन प्रकरणको अनुसन्धान गरिरहेका राजश्वका अनुसन्धान अधिकृत विनोद लामिछानेले चिठीपत्रका आधारमा मात्रै सीआईबीलाई अनुसन्धान सुम्पिन नसकिने बताए । ‘यो जटिल विषय हो । पत्रकै आधारमा मात्रै बुझाउने भन्ने हुँदैन,' उनले भने, 'यसको कानूनी निकास खोजेर मात्रै हस्तान्तरण हुन्छ,’ लामिछानेले लोकान्तरसँग भने । 

विभागले महान्यायाधीवक्ताको कार्यालयमार्फत् निर्णय गराएर बुझाउने भन्ने विषयमा अध्ययन र छलफल गरिरहेको जनाएको छ । यसमा विभिन्न कार्यालयहरूको संलग्नता, पक्राउ परेका अभियुक्त, समय सीमा, बरामद भएका दसीलगायतका विषयहरू हस्तान्तरण गर्नु पर्ने भएकाले जटिल भएको विभागको दाबी छ ।

विभागले असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० केजी सुन बरामद गरेको थियो । विभागले प्रकरणमा जोडिएका १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । विभागको अनुसन्धानमा अहिलेसम्म हङकङबाट सुन आएको देखिएको छ। तर त्यसका मुख्य अभियुक्तसम्म पुग्न सकेको छैन ।

अहिलेसम्म के भयो ?

राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा करिब सय किलो सुन (आधिकारिक तौल लिन बाँकी) साउन २ गते बरामद गर्‍यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ‘जाँचपास’ भइसकेपछि ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगलबाट सुन बरामद भएको थियो ।

विभागले तत्कालै ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ समेत ग‍र्‍यो । त्यसपछि विभागले हङकङबाट स्कुटरको ब्रेक शुको रूपमा नेपालमा सुन ल्याउने रेडी ट्रेडका (कागजी) सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ ग‍र्‍यो । विभागले साउन ४ गते चिनियाँ नागरिक जिक्वान लिन र सामानको भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट तथा राजन श्रेष्ठलाई पक्राउ ग‍र्‍यो । 

सय किलो सुन बरामद गरेर हौसिएको विभागले साउन ७ गते कर्मचारीको त्रुटि देखिएको भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यही दिन भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परे । विभागले साउन १० गते सोह्रखुट्टेस्थित एउटा घरमा छापा हानेर सुन गाल्ने मशिनसहित ६६ कार्टुन ब्रेक शु बरामद गर्‍यो । गोदामका लागि स्थान मिलाइदिएको आरोपमा सुरेन्द्र तामाङलाई पनि पक्राउ गरियो । त्यसरी बरामद ब्रेक शुबाट सुन निकालिसकेको पाइएको अनुसन्धान अधिकारीहरू बताउँछन् । साउन १३ गते ठमेलमा रहेको भियाना होटलमा छापा मारी तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई समेत पक्राउ गरिएको छ ।

विभागले सुन प्रकरणमा शंकास्पद लागेको भन्दै राकेशकुमार अडुकियाको घरमा छापा हान्यो, तर केही पनि बरामद गरेन, न त उनलाई पक्राउ गर्न नै सक्यो ।

विभागले छापा हान्नुभन्दा अगाडि नै त्रिभुवन विमानस्थल हुँदै अडुकिया फरार भइसकेका थिए । घटनाक्रम हेर्दा संगठित अपराधमा अनुसन्धान गरेर सुन ल्याउने व्यक्ति र सुनमा लगानी गर्ने व्यक्तिसम्म पुग्नुपर्ने आवश्यकता देखिन्छ । तर, अनुसन्धानमा भइरहेको विलम्ब र अनुसन्धान गर्ने निकायको सीमितताका कारण मुख्य तस्करहरू यत्तिकै उम्कने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ ।

विभागले विभिन्न ठाउँमा गोदाम रहेको दाबी गर्दै छापा हानिरहेको छ र भरियाहरू पक्राउ गर्नमा मात्रै समय खर्चिएको छ । पछिल्लो समय भियाना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेपछि राजनीतिक पाटोलाई लिएर पनि चर्चा भइरहेको छ, तर त्यसतर्फ अनुसन्धान अगाडि बढ्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्