
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ परेका डाक्टरहरूले विभिन्न किसिमले प्रमाणपत्र कीर्ते गरेको प्रमाण भेटिएको छ ।
अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकृतहरूका अनुसार वास्तविक प्रमाणपत्रमा नम्बर बढाउनेदेखि विभिन्न विषयको प्राप्ताङ्क तलमाथि गरेको भेटिएको हो ।
अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार अधिकांशमा सिम्बोल नम्बर, नाम र रजिस्ट्रेसन नम्बर उही भए पनि अंक थपिएको छ ।
कक्षा १२ मा फेल भएका एकजनाले नम्बर बढाएर ७५ प्रतिशत ल्याई पास भएको बनाएका छन् । अर्का एकजनाले कुल प्राप्त प्रतिशत उही कायम राखेर गणित विषयमा अपुग भएको नम्बर अर्को विषयबाट साटफेर गरी मिलान गरेका छन् ।
‘विभिन्न प्रकारले अंक थपघट गरेका छन् । फेल भएकाले ७५ प्रतिशत अंक ल्याएर पास भएको बनाएका छन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।
एमबीबीएस पढ्न कक्षा १२ को नम्बर अपुग हुने भएपछि कीर्ते गरेको भेटिएको हो ।
२०७२ सालमा सीआईबीलाई मेडिकल काउन्सिलले ८ सय ९ जनाको शैक्षिक प्रमाणपत्र नक्कली हुन सक्ने भन्दै विवरण पठाएको थियो ।
अनुसन्धान गर्दा त्यसमध्ये १०९ जनाको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको थियो । बाँकी ७ सय डाक्टरको प्रमाणपत्र सक्कली पाइएको थियो ।
पछि (२०८०) मा प्राप्त १६ जनाको विवरण समेत जोड्दा १२५ जना डाक्टर (नक्कली प्रमाणपत्र) राखेको अभियोगमा अनुसन्धानको दायरामा छन् ।
२०७२ मा ‘अपरेसन क्वाक’मा देशका १० वटा जिल्लामा नेपाल मेडिकल काउन्सिलको सहयोगमा २०७२ माघदेखि २०७३ भदौ २६ गतेसम्म ५९ जना डाक्टरलाई पक्राउ गरेको थियो । तर, कतिपयले सफाइ पाए भने कतिपय मुद्दा विचाराधीन छन् ।
२०७२ माघ २४ गते पक्राउ परेका १२ जनालाई जिल्ला अदालत काठमाडौंको २०७२ फागुन २३ गतेको थुनछेक आदेशले जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
त्यसपछि फैसला आउँदा अफजल हुसेन, कल्याण विश्वास, मोहम्मद सिद्दिकीलाई प्रतिव्यक्ति ३ हजार जरिवाना र पशुपति चौधरीलाई कीर्ते अभियोगमा १ वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो तर, अन्य ८ जनाले सफाइ पाएका थिए ।
त्यसको ८ वर्षपछि सीआईबीले अपरेसन ‘फक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मासहित ९ जनालाई पक्राउ गरेको हो ।
कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरिएका ९ जनामध्ये शर्मासहित दुई जना रिहा भएका छन् ।
शर्मा जिल्ला अदालतले म्याद नथपेपछि रिहा भएका हुन् भने महोत्तरीको पिपरा गाउँपालिका– ८ का रञ्जितकुमार यादवको प्रमाणपत्र सक्कली रहेको पाइएपछि रिहा गरिएको थियो ।
अर्कै व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा सक्कली डाक्टरलाई पक्राउ गरिएपछि नेपाल मेडिकल काउन्सिल र सीआईबीको चर्को आलोचना समेत भएको थियो । बाँकी ७ जना अहिले पनि प्रहरी हिरासतमा छन् ।
‘शैक्षिक प्रमाणपत्र नक्कली भएका आधारमा पक्राउ गरेका हौं,’ सीआईबी प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘७ जना अहिले हिरासतमा हुनुहुन्छ ।’
शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, इसान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी, गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापालगायतका सीआईबीको हिरासतमा छन् ।
अहिले पक्राउ परेकाहरूमध्ये केही २०७२ मा फरार रहेकाहरू हुन् । बाँकी ५८ जनालाई प्रहरीले खोजिरहेको छ ।
सीआईबीका अधिकारीहरूका अनुसार ५८ जनामध्ये अधिकांश विदेश पलायन भएका छन् । केही भारतमा लुकेर बसेको सीआईबीका अधिकारीहरू बताउँछन् ।
केही डाक्टर पेसाबाहेक अन्य पेशामा रहेको सीआईबीको अनुसन्धानले देखाएको सीआईबीका अधिकारीहरू बताउँछन् ।
‘२ जना नक्कली डाक्टर त भारतमा डक्टर अफ मेडिसिन डिग्री (एमडी) पढ्न गएको सूचना पाएका छौं,’ सीआईबीका अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।
सीआईबीले शुरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रका आधारमा अपरेसन शुरू गरेको थियो । एक चरण चलाएर थाती रहेको अपरेसन झण्डै ८ वर्षपछि पुनः चलाइएको हो ।