
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताएका छन् ।
भानु नगरपालिकाका प्रमुख–उपप्रमुखसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीसँगको शनिवार काठमाडौंमा भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न उनीहरूलाई सुझाव दिएका हुन् ।
उनले आदिकवि भानुभक्त र भानु जन्मस्थलको महत्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिए ।
मन्त्रिपरिषद्को केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाहरूको शालिक निर्माण र आवश्यक साहित्य–संस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई सशर्त पाँच करोड रुपैयाँ बजेट दिने निर्णय गरेको थियो ।
सो अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उनीप्रति आभार व्यक्त गर्दै उनको प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने प्रतिबद्धता जनाए ।
यस्तै उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणका लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा सहभागीहरूले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवालाको सक्रियतामा चुँदी रम्घालाई देश–विदेशका साहित्य साधकको गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिएका थिए ।