२६ जेठ २०८३, मंगलबार

बुवाको ‘सीए सपना’मा दुर्बल, मौलिक चित्रकलामा अब्बल अजित

पुस १४, २०७५
बुवाको ‘सीए सपना’मा दुर्बल, मौलिक चित्रकलामा अब्बल अजित

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकका अजित साहलाई उनका बुवा रामसुन्दर प्रसाद साह चार्टर्ड एकाउन्टेन्ट (सीए) बनाउन चाहन्थे । 

बुवा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत भएकाले व्यापार व्यवसायको शिक्षाका लागि कमर्स पढाएर सीए बनाउने उनको ठूलै चाहना थियो । तर अजित भने सीए बन्न सकेनन् । पढ्नका लागि वाणिज्य संकायमै स्नातक पनि गरे । तर बुवाले चाहेकोजस्तो सीए भने बन्न सकेनन् ।

सीए बने ठूलो इज्जत, प्रतिष्ठा र सम्मानका साथै राम्रो कमाइ पनि हुने बुझेर उनका बुवाले उनलाई सीए बनोस् भन्ने चाहना राख्नु अस्वाभाविक थिएन । तर अजित त बाल्यकालदेखि नै चित्र बनाउनेतर्फ बढी रुची राख्थे । कक्षामा पनि चित्र बनाउने काममा प्रथम हुने गर्थे ।

झन् माध्यमिक तहमा पुग्दा पूर्वव्यावसायिक शिक्षा पढेर हस्तकलाका सामग्री बनाउने, विभिन्न चित्र बनाउने काममा बढी ध्यान दिन थाले ।

घरमा आमाले पूजाका लागि बनाउने ‘अरिपण’ले उनको ध्यानाकर्षण गरायो । घरमा पूजा गर्नका लागि ‘अरिपण’ बनाउने गरिन्छ । माटोलाई गोबरले पूजा गरेर पूजा सामग्री राख्नका लागि चामलको पिठो (पिठार) सहित विभिन्न ज्यामितीय आकारको अष्टदल सहितको बनाइने चित्रलाई मिथिलामा ‘अरिपण’ भनिन्छ । त्यसै अरिपणमा पूजा सामग्री राखेर पूजा गर्ने मिथिलामा प्रचलन छ ।

घरमा विद्रोह !

आमाले अरिपण बनाउँदा अजितले ध्यानपूर्वक हेर्थे र घरमा उनी आफैं पनि सोही किसिमको अरिपण बनाउँथे । अजितको त्यो बानी देखेपछि आमाबुवा सबैले अजितलाई गाली गर्दै ‘यो महिलाले गर्ने काम हो । पुरुषले यस्तो किसिमको चित्र बनाउँदैन’ भनेर भन्ने गर्थे । तर पनि उनको चित्रकला प्रतिको रुची भने घटेन । आमाबुवा भने छोरा बिग्रियो, महिलाले गर्ने काम गर्न थाल्यो भन्दै चिन्ता लिन थाले । आमाबुवाले जति गरेपनि अजित भने रोकिएनन् ।

अजितका बुवा फूटबलको लोकप्रिय खेलाडी समेत थिए । नेपालको तर्फबाट भारतको कोलकातामा रहेको मोहन बगानमा फूटबल खेल्न जाने गर्थे । पछि उनी फूटबलको रेफ्री पनि बने ।

छोराले आफ्नो सबै प्रतिष्ठा गुमायो, समाजमा कसरी मुख देखाउने भन्ने जस्ता चिन्ताले बुवा ग्रस्त भइरहेकै बेला छोरा अजित चित्रकला सिक्न भन्दै काठमाडौं पुगे । चित्रकला तालिममा ‘थान्का’ सिक्न गएका थिए उनी । बौद्ध समुदायको ‘थान्का’ भन्दा पनि मिथिला चित्रकला सिक्न भन्दै उनलाई मिथिलाको सभ्यता, लोकसंस्कार, जीवनशैली आदिको अध्ययन गर्न प्रशिक्षकले सिकाए ।

क्यामेरा बोकेर गाउँगाउँ

तालिमपछि अजित जनकपुर फर्केर क्यामेरा लिएर गाउँगाउँ घुम्दै पर्खाल र ढोकामा महिलाहरूले बनाएका चित्रको फोटो खिचेर त्यसको चित्र बनाउन थाले । जनकपुरधाम क्षेत्रमा पूर्णिमाका दिन भक्तजनले गर्ने पूजाका दृश्य, मन्दिरमा बसेर च्यूरा दही खाइरहेको साधुसन्तको दृश्यदेखि अन्तगृही परिक्रमादेखि सीताराम विवाह पञ्चमीका सबै दृश्यलाई क्यामेरामा फोटो खिच्ने उनले कागजमा चित्र बनाउन थाले ।

उनी जनकपुरमा चित्र बनाउने र बिक्रीका लागि काठमाडौं पठाउने गर्थे । एक पटक काठमाडौंमा उनको २ जना विदेशी पर्यटकसँग भेट भयो । अमेरिकी नागरिक ग्लिन ग्ल्याफाबिन र जापानका राय मुरासँग भेट भएपछि चित्रकलामा कस्तो रङ हुनुपर्छ भन्ने टिप्स अजितले पाए । कस्तो डिजाइनको चित्र बनाउनुपर्छ, चित्रमा कस्तो–कस्तो रंग हाल्नुपर्छ भन्ने कुरा ती विदेशी पर्यटकले उनलाई सिकाए ।

‘चित्र हेर्दा अनौठो छ, पिकासो आर्ट र इजिप्टको आर्टसँग मिल्दोजुल्दो छ । तर रंगको संयोजन नमिल्दा चित्र त्यति धेरै आकर्षक हुन नसकेको उनीहरूले प्रतिक्रिया दिएका थिए,’ अजित भन्छन्, ‘त्यसपछि रंग समेतको संयोजन गर्दै जाँदा उनीहरूले चित्र किन्न थाले । उनीहरूले विदेशबाटै अर्डर दिन्थे र म चित्र बनाएर स्वच्छ ब्यबसायी संघलाई दिने गर्थे । त्यहीबाट जापान र अमेरिकामा मेरो चित्र विक्री हुन थाल्यो ।’

२०४१ सालमा काठमाडौंको एवन बजारमा चित्रकलासँगै हस्तकलाको प्रदर्शनी लागेको थियो । अजितले पनि आफ्नो चित्रकलाको स्टल साना हस्तकलाको छेउमै लगाएका थिए । तर ग्राहकको भीड भने साना हस्तकलामा नगएर अजितकै स्टलमा आउन थाल्यो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाग्ने गरेको स्टलमा दिनको करीब ४० देखि ४५ हजार रुपैयाँसम्मको चित्र बिक्री गरेको अजितले बताए । त्यसपछि साना हस्तकलाले अजितलाई चित्रकला बनाएर आफूलाई बिक्री गर्न आग्रह गरे । त्यसपछि उनले साना हस्तकलाका लागि चित्र बनाउन थाले ।

ऐना, टेबल क्ल्थ, कुशन कभर, पेन स्ट्याण्ड, फोटो फ्रेम, बेड सीट, वाल पोकेट लगायतका विभिन्न सामग्रीमा मिथिला चित्रकलाको चित्र बनाएर साना हस्तकलालाई बिक्री गर्न थाले । अजित भन्छन्, ‘अहिले करीब २ सय ३० वटा आइटममा मिथिला चित्रकला बनाएको छु । सबै आइटम देशविदेशमा बिक्री भइरहेको छ ।’

जापानमा चित्रकलाको प्रदर्शन

सन् २००३ मा जापानमा साप्लानियर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको चित्रकला प्रदर्शनीमा नेपालको तर्फबाट अजितले आफ्नो चित्रकलाको प्रदर्शनी गर्ने मौका पाए । संस्थाले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रदर्शनीमा अजितको खुबीको प्रसंसा गरियो र बिक्री पनि खुब भयो ।

टोकियोको कम्पो म्युजियममा भएको प्रदर्शनी साथै एकल प्रदर्शनीका क्रममा उनले  करीब २२ दिन जति जापानमा बसे । जापान बसाइको क्रममा उनले एन्सियेन्ट मिथिला नामक चित्रकलाको प्रदर्शनी गरेका थिए । त्यहाँ उनले जापानका मानिसले कस्तो किसिमको चित्र मन पराउँछन् भन्ने कुराको अध्ययन गर्नुका साथै उमेर हिसाबले समेत फरक–फरक रंग, डिजाइनको चित्र मन पराउने गरेको कुराको भेद उनले पाए ।

चित्रकलाको विकास र विस्तार

जनकपुर फर्किएपछि उनले जनकपुर आर्ट एण्ड क्राफ्ट्स नामक संस्था दर्ता गरे । जनकपुरका महिलालाई चित्रकला सिकाउँदै काम दिन थाले । अहिले उनको संस्थामा ३४ जना महिला काम गर्छन् ।

चित्रको स्केच बनाउनेदेखि रंग भर्ने लगायतको काम सिकाएर मासिक पारिश्रमिक दिने गरिएको छ । उनको पत्नीले हस्तकलाको काम हेरिरहेकी छन् । उनले बनाउने चित्र अमेरिका, जापान, श्रीलंका, अस्टेलिया लगायत विभिन्न देशमा निर्यात हुने गरेको छ ।

क्लिन्टनको कार्यालयमा अजितको पेन्टिङ

अजितले बनाएको मिथिला पेन्टिङ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनदेखि नेपालको प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा झुन्डिएको छ । १० वर्षअघि साना हस्तकलामा अमेरिकी राजदूत आएर क्लिन्टनका लागि ४ वटा पेन्टिङ किनेका थिए । प्रतिपेन्टिङ १० हजार रुपैयाँमा बिक्री भएको अजितले बताए ।

क्लिन्टनलाई दिएको ४ वटा चित्रमध्ये एउटा चित्रमा मिथिलाको परम्परागत रूपमा ढिकी कुट्ने, धान कुट्ने, च्युरा कुट्ने चित्र थियो भने दोस्रो चित्रमा मिथिलाका पर्वहरू छठ, झिझिया, सामा चकेबा लगायतको चित्र बनाइएको अजित बताउँछन् । तेस्रो चित्रमा अरिपण, कोहबर, गहबा संक्रान्ति र चौथोमा गोदनाको चित्र बनाइएको उनले स्मरण गरे ।

नेपालका प्रधानमन्त्री ओलीको कार्यालयमा रहेको मिथिला पेन्टिङमा मिथिलाको जीवनशैली, पूर्वप्रधान मन्त्री माधवकुमार नेपालको घरमा रहेको पेन्टिङमा छठको चित्र, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइको घरमा मिथिला ट्रे र दैनिक जनजीवनको चित्र झुन्डिएको अजित बताउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा झुण्डिएको चित्रकलामा मिथिलामा महिलाले लगाएको घुम्टो र मर्यादा तथा लज्जालाई चित्रमा दर्शाइएको उनले बताए ।

हालसम्म सबैभन्दा बढी महंगो चित्र अमेरिकामा बिक्री भएको उनले सुनाए । अमेरिकाको आईबा प्रान्तको डेमोइन शहरका १ जना प्रोफेसरले भगवान विष्णुको चित्र १ लाख ७० हजार रुपैयाँमा किनेको उनले बताए । ३५ देखि ४० फिट लामो चित्रमा भगवान विष्णुको अनौठो रुप सहितको चित्र कोरिएको थियो ।

ख्याती देखेर बुवा खुशी

अजितले विभिन्न देशमा गएर एकल मिथिला पेन्टिङ गरिसकेका छन् । जब उनले चित्रकलाको माध्यमले देश विदेशमा नाम कमाउन थाले, उनका बुवाले बल्ल आएर छोराले राम्रो काम गरेको छ भनेर झन् हौसला बढाएको उनले स्मरण गरे । उनका बुवाको केही वर्षअघि निधन भयो ।

२ वर्षअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनको प्रतिभालाई कदर गर्दै राष्ट्रिय प्रतिभा पुरष्कारले सम्मान गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानित गरेका थिए । उनलाई विभिन्न संस्थाले कदर, सम्मान गर्नुका साथै पुरष्कृत गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्