धर्मको राजनीतिक बहस : आवश्यकता कि आत्मरति  ?

गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानको एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये धर्मनिरपेक्षता पनि एक हो । तर पछिल्ला केही राजनीतिक घटनाले धर्मनिरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस फेरि बिउँत्याउन लागेको देखिँदैछ । यदाकदा समाचार र सञ्चारमाध्यमहरूमा पनि यसबारे बहस पैरवी बढ्दो छ । 

सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको आगामी महाधिवेशनमा यो विषय नै निर्णायक बन्ने अनुमान लगाउनेहरूको पंक्ति समेत बाक्लो बन्दैछ । हिन्दू धर्मको वकालत गर्ने शशांक कोइरालाले सार्वजनिक रूपमा नै नेतृत्वका लागि दाबी जाहेर गरिसकेको अवस्था छ । हिन्दूराज्य स्थापनालाई आफ्नो राजनीतिको एक महत्त्वपूर्ण एजेन्डा मान्ने पार्टीहरू समेत एकीकरणको प्रयासमा छन् । 


Advertisement

पुराना शक्तिहरूबाट देशको अग्रगामी र सकारात्मक परिवर्तन सम्भव नरहेको भन्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा परिचय गराउनेहरूले समेत नेपाललाई हिन्दूराष्ट्र बनाउन सकिने विचार दिएको सुनिन्छ ।

अनि नेपालको संविधानमाथि बारम्बार असन्तुष्टि सार्वजनिक गर्दै आएको छिमेकी देशको पनि मुख्य चासो हिन्दूराष्ट्र भएको चर्चा/परिचर्चाहरू सुनिन्छ । कसैले त भारतीय प्रधानमन्त्रीको नेपाल मिसन नै हिन्दूराष्ट्र भएको विचार दिने गरेका छन् । संविधानको प्रस्तावित मस्यौदामाथि आम छलफल हुने समयमा पनि अधिकांश नागरिकबाट यो माग आएको समाचारहरू बाहिरिएका थिए । 

यी आधारमा अहिले प्रश्न उठ्दैछ– के नेपाल फेरि हिन्दुराष्ट्र हुन्छ त ? राजनीति सम्भावनाको खेल हो । भविष्यमा जस्तोसुकै परिणाम आए पनि धार्मिक सापेक्षता वा निरपेक्षतालाई प्राथमिकतामा राखेर भइरहेका सबै बहस र विश्लेषणमा उत्तिकै सबल तर परस्पर विपरीत दलीलहरू भने उल्लेख्य छन् । 

विश्वका लगभग ८० देश संवैधानिक हिसाबले धर्मनिरपेक्ष छन् । उत्तिनै संख्यामा धर्मसापेक्ष देशहरू समेत छन् । लगभग दुई दर्जन देशहरूले आफूलाई कुनै कित्तामा देखाएका छैनन् । इराक, इरान, अफगानिस्तान र म्यादागस्कर जस्ता देशहरू पहिले धर्मनिरपेक्ष भएर पनि फेरि सापेक्ष घोषित भएका छन् । तसर्थ निरपेक्षता/सापेक्षता कुनै अलौकिक र अपराजेय गुणभन्दा पनि वस्तुगत आवश्यकताको आधारमा सम्बन्धित देशले निर्णय लिने विषय हो । अहिले पनि अमेरिकामा राष्ट्रपति हुन क्रिस्चियन प्रोटेस्टेन्ट नै हुनुपर्छ । बेलायतकी महारानी क्याथोलिक धर्मकी संरक्षक मानिन्छिन् । अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छ । संसारका थुप्रै देशहरूले आफूलाई सगर्व इस्लामी देश भनेर चिनाउँछन् । यसरी हेर्दा धर्म एकप्रकारको स्थायी परिचय भएको देखिन्छ जसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले निकै विग्रह ल्याउन सक्छ ।  

राजधानी नै त्यस्तो ठाउँ हो जहाबाँट हिन्दू धर्मको वकालत गर्ने दलले सबैभन्दा धेरै भोट पाउँछ अनि त्यहीँका मानिसहरू दशैं/तिहारभन्दा बढी हर्षोल्लाससाथ क्रिसमस र अंग्रेजी पात्रोको नयाँ वर्ष मनाउँछन् ।

सिद्घान्ततः धर्म निरपेक्षताले मानिसलाई धार्मिक कट्टरता र अन्य समुदायप्रतिको अनुदारभावबाट पर राख्ने आशा गरिन्छ । तर ‘सेकुलराइजेसन इन अमेरिका’ नामक अनुसन्धानात्मक कृतिका लेखक इंंगुलर हार्ट्स भन्छन्– धर्मनिरपेक्षताको घोषणाले नागरिकलाई झन् बढी धार्मिक बनाउँछ । धर्मनिरपेक्षतामा आपसी मतभेद बढ्छ । मिलेर बसेका धार्मिक समुदायमा प्रतिस्पर्धी भावनाको बीजारोपण हुन्छ । अन्य समुदायको जति नै सबल र प्रचारित हिसाबले धर्मको प्रयोग कसरी गर्ने भन्ने होडबाजी हुन्छ । अरू समुदायमा हुने धार्मिक गतिविधिका सघनताले कतै आफ्नो धर्मलाई ओझेलमा पार्ने त हैन भन्ने संकोच जन्मन्छ । मिलेर बस्नेभन्दा कसरी आफ्नो धर्मलाई सबल देखाउने भन्ने मनोदशाले डोहोर्‍याउँछ । दशैंभन्दा क्रिसमसमा किन बढी तडकभडक नगर्ने भन्ने भावना आउँछ । बुद्घ पूर्णिमाभन्दा कसरी इदुल फित्रको बढी सशक्त प्रचार/प्रसार गर्ने भन्ने सोच जन्मन्छ । पशुपतिमा हिन्दूले मात्रै किन प्रवेश पाउने, आर्यघाटकै समीपमा क्रिस्चियन समूहले मृत शरीर राख्न किन नपाउने जस्ता विवाद देखिन्छन् । सबै समुदायलाई अरूले गर्दा आफ्नो धर्ममाथि संकट र विनाश आउन लागेको भ्रम पर्छ । 

मानिसहरू धर्ममा आफ्नो परिचय देख्न थाल्छन् । समाजमा अन्य समुदायका मानिसप्रति सहानुभूति र सामीप्यभन्दा सतर्कता बढी हुन्छ । एकअर्कालाई आत्मीय मित्रवत् समूहभन्दा प्रतिस्पर्धी समूहका रूपमा बुझिन्छ । धर्म संरक्षणको नाममा जडसूत्रवाद र कट्टरता बढ्न सक्छ ।  धार्मिक भड्काव तथा द्वन्द्व निम्तिन सक्छ । 

कुनै खास विवाद नभए समाजबाट धार्मिक आस्था र भावना स्वतः हराउँछ । राजधानी नै त्यस्तो ठाउँ हो जहाबाँट हिन्दू धर्मको वकालत गर्ने दलले सबैभन्दा धेरै भोट पाउँछ अनि त्यहीँका मानिसहरू दशैं/तिहारभन्दा बढी हर्षोल्लाससाथ क्रिसमस र अंग्रेजी पात्रोको नयाँ वर्ष मनाउँछन् । तर नियोजित हिसाबले धर्मनिरपेक्षता घोषणा गरिएपछि मानिसहरू सशंकित भएका हुन् । पहिचान मेटिने सम्भावनाका कारण धार्मिक मान्यताको सघन अभ्यास र प्रचार गर्न मानिस लालयित हुँदैछन् । कुनै निर्णय नलिएको भए शायद केही दशकमा आफैं धार्मिक चेतना हराउँथ्यो होला, अब झन् सघन बन्दैछ । 

धर्मनिरपेक्षताको विषय नेपालमा दीर्घकालीन झगडाको बिउ रोप्न चाहनेहरूले ल्याएका हुन् । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै २०४६ आसपास सामाजिक विग्रह निकै उच्च थियो । बिहेबारी, धर्मकर्म, जन्ती/मलामीमा समेत सहभागीहरूको राजनीतिक पार्टी मिले/नमिलेको हेरिन्थ्यो । राजनीतिक आस्था र दलीय सहभागिताका आधारमा कलह तथा भेदभाव गरिन्थ्यो । अहिले नागरिकलाई राजनीतिक आस्था सामान्य लाग्न थाल्यो । त्यसमा अनावश्यक लडार्इं/झगडाको स्थितिको अन्त्य भयो । तब समाजमा गलत चिन्तन र भड्काव ल्याउने अर्को पक्ष धर्मको नाममा आएको छ ।  नागरिकलाई विभाजित गर्ने एक सुनियोजित षडयन्त्र हो यो । हामी चाहिनेभन्दा बढी नै विभाजित हुँदैछौं । लाहोरमा फागु पूर्णिमामा बिदा दिइन्छ । अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भाइटीका लगाए । विदेशस्थित नियोगका मानिसहरूले विजयादशमीको टीका लगाएका छन् । बेलायती पूर्वप्रधानमन्त्री टेरिजा मेले शिवको मन्दिरमा हिन्दू धर्मोचित पोशाकसहित पूजा गरेको समाचार बाहिरिए । हाम्रैमा पनि आफुलाई हिन्दु भन्नेहरू वुद्घ पुर्णिमा अनि क्रिसमस पनि उत्तिकै धुमधाम रूपमा मनाउँछन् । तर क्रिसमस मनाउने चाहिँ दशैं तिहारको कटाक्ष गर्नेमा व्यस्त छौं । धर्मको नाममा उच्च कट्टर बन्दैछौं । सोच नै त्यस्तो हैन, तर सुनियोजित षड्यन्त्रका रूपमा कतैबाट फसाइँदैछ र हामी फस्दैछौं । 

सांस्कृतिक परिवर्तन सहजै सम्भव छैन, कानूनमा लेखेर मात्र हुँदैन । मन्दिरभित्र सुँगुर पसाउनेहरू अहिले भैंसीपूजा गर्छन् । संस्कृतिको हुलहुज्जत गर्नेहरू स्वयं दशैं मनाउँछन् । बुर्जुवा शिक्षा भन्दै जनताका छोराछोरीलाई विद्यालयबाटै बन्दूक बोक्न पठाएकाहरूले आप्mना छोराछोरीलाई दूतावासमा भनसुन गरिकन विदेशका राम्रा विश्वविद्यालयहरूमा अध्ययन गराउँछन् । धर्म मनोवैज्ञानिक विषय हो जसमा जबर्जस्त परिवर्तन सम्भव थिएन र भएन ।  

धर्म कुनै उपलिब्धको मापक हैन । धर्म विशेषलाई राज्यले प्राथमिकतामा पारेको छैन । संस्कृतलाई केही समय संरक्षण गरेको पनि आर्यजनको प्राचीन भाषा भएर हैन । पूर्र्वीय तटमा ज्ञानका उच्च दर्शनहरू तत्कालीन समयमा संस्कृतमा लेखिएका थिए । बौद्ध दर्शनसँग सम्बन्धित पाली भाषामा लेखिएका कुराहरूलाई पनि राज्यबाट उत्तिकै संरक्षण प्रदान गरिएको छ । जर्मनीमा संसारका सबैभन्दा धेरै संस्कृत विश्वविद्यालयहरू भएको मानिन्छ । प्राचीन दार्शनिक कौटिल्यको तत्कालीन अर्थशास्त्र संस्कृत भाषामा लेखिएको थियो । प्राचीन पाश्चात्य दर्शनका आधार ज्ञान सम्वन्धि पुस्तकहरू हिबु्र, ल्याटिन तथा ग्रीक भाषामा लेखिएका देखिन्छन् । त्यसलाई पश्चिमा संसारले उत्तिकै संरक्षण गरेको छ ।  कमजोरी केही भए पनि अभिभावकत्व कहिल्यै विनाश गर्नुहुन्न । राज्यले केही भाषाहरूमा गरेका लगानी धर्मको हिसाबले नभई त्यसको धरातलको हिसाबले भएको हो । त्यसलाई हामीले गलत व्याख्या गर्दै सामाजिक विग्रह अनि इतिहासको विनाशका लागि प्रयोग गर्दैछौं ।  

विश्वका कतिपय समुदाय नेपालका गौरवहरूमाथि नियोजित  आक्रमण चाहन्छन् । भारत बुद्घमाथि आक्रमण गर्छ, युरोप धर्म र अमेरिका जातलाई लिएर कलह रोप्दैछन् । फरक प्रयासको एउटै आशय चाहिँ यस देशलाई उनीहरूको परीक्षण प्रयोगशाला बनाउने हो । युरोपका अधिकांश देशहरूमा स्थायी प्रकारको बस्ती थिएन, घुमन्ते/फिरन्ते प्रथा थियो । विभिन्न ठाउँबाट विभिन्न समूहका मानिस आएर बसे । तर नेपाल लामो समय स्थायी बसोबास भएको ठाउँ हो । त्यसको आफ्नो एउटा मुख्य  धर्म, संस्कृति, परम्परा अनि जीवन दर्शन स्वाभाविक हुन्छ । 

नेपाल एक मात्र हिन्दूराष्ट्र हुँदा विश्वभरका हिन्दूहरूको चासो बढेको थियो । पहिले पनि धर्ममा कट्टर हुने र अरूप्रति अनादर देखाउने सोच कसैमा थिएन र अभ्यास पनि भएन । तर आवश्यक भन्दा बढी सहजीकरणले कहिलेकाहिँ शंका जन्माउँछ । चाहिनेभन्दा बढी सतर्कताले झन सन्त्रास ल्याउँछ । रोग नै नलागेको मानिसलाई उपचार गर्न खोजियो भने चिकित्सकमा गलत हिसाबले पैसा कमाउने स्वार्थ छ कि भन्ने शंका जन्मन्छ । 

धर्मनिरपेक्षता यस्तै एउटा गलपासो भएको छ । धर्मका नाममा निरपेक्ष र सापेक्षताको झगडा देशको विकास, आत्ीमयता अनि सौहार्द्रतामाथि एक अधर्र्मी र निर्दयी गलपासो बन्ने सम्भावना देखिन्छ ।

अरूका लागि विभाजित कि आफ्ना लागि एकाकार हुने, एकपटक फेरि सघन र स्वच्छ बहस चल्नुपर्छ । 

कमेन्ट गर्नुहोस्