उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ ।निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १(क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ । 

    कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १(क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । 


Advertisement

    यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 


Advertisement

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

कमेन्ट गर्नुहोस्