राष्ट्रपतिज्यू, जनताको छोरी भएर पनि अस्वाभाविक तडकभडक किन ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

पूर्वरानी स्व. ऐश्वर्य राज्यलक्ष्मी देवी शाहले आफ्नो जुत्ता सैनिकहरूलाई कहिल्यै बोकाइनन्, उनलाई नजिकबाट जान्ने बुझ्नेहरू यस्तै भन्छन् । स्व. राजा वीरेन्द्रसँग चीनको राजकीय भ्रमणमा जाँदा पनि कोमलले आफ्नो झोला आफैं बोकेर हिडिँरहेको देख्न सकिन्छ । बेलायत भ्रमणको भिडियोमा समेत ऐश्वर्यले आफ्नो झोला आफैं बोकेकी छिन् ।

ऐश्वर्यका पुराना भिडियोहरू हेर्दा उनी एकदमै सामान्य, तडकभडक नगरेकी, आफ्नो झोला आफैं बोकेकी, सैनिक प्रहरीको अगुवा–पछुवा अनि दलबल देखाएर नहिँडेकी, जनतासँग मुस्कुराइरहेकी मात्र देख्न सकिन्छ । एश्वर्यले कहिल्यै चटक देखाइनन् बरू 'एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा …' जस्ता थुप्रै कालजयी गीतहरू लेखिन् । 


Advertisement

ऐश्वर्यले जस्तै पूर्वरानी कोमल राज्यलक्ष्मी शाहले पनि सार्वजनिक स्थानहरूमा तडकभडक गरेको खासै देखिन्न । जनताका अघि गाला फुलाएर गमक्क परी ठालु पल्टिएको देखिएन । हाँसजस्तो ढलक–ढलक गरेर हिँडेको पनि देखिएन । विमानस्थलमा सोफा राखेर ठुटे नेताहरूसँग सामूहिक फोटो खिचेको पनि देखिएन ।

बेलायतकी महारानी पनि खासै दलबल र तडकभडक गर्दिनन् । आम जनतासँग तिनले आत्मीय व्यवहार तथा प्रेम देखाइरहेकी हुन्छिन्, त्यसैले पनि होला उनी बकिङ्घम प्यालेस दरबारबाट बाहिर निस्किँदा बाटोमा नागरिकहरूको अथाह प्रेम मिल्छ । 


Advertisement

रानीलाई अभिवादन गर्दै मानिसहरू चिच्याइरहेका हुन्छन् । फूल दिएर प्रेम दर्शाइरहेका हुन्छन् । संसारका धेरै रानीहरू सिभिलाइज्ड भसकेका छन्, किनकी तिनीहरूलाई जनतालाई के मन पर्छ, के पर्दैन भन्ने थाहा भैसक्यो । 
नेपालमा भने एउटा रानी फालेर हजारौं रानीहरू ल्याइयो भन्नेहरू धेरै छन् । यो कुरा सत्य पनि हो । खोपीको प्वालमा लुकेको भगवानले पनि एकदिन सत्य कुरा बोल्नैपर्छ ।

राजसंस्था र राष्ट्रपति एउटै होइन भन्ने कुरा उनले बुझ्नुपर्छ, राष्ट्रपतिले पनि बुझ्नुपर्छ । जनताले बुझेको त्यही हो । 

रानीको मात्र विषय हैन एउटा राजा फालेर हजारौं राजा ल्याएका रहेछौं भन्नेहरू पनि धेरै छन् । तपईंहरूले पिर्के सलामीको कन्तबिजोग फोटाहरू त देख्नुभएकै होला, कतिपयले प्रत्यक्ष नै देख्नुभएको होला । यो उनीहरूले 'म अब राजाजस्तै भएँ है' भनेर अनुभूति गरेको कुरा हो ।

महिला संसदहरूकै मेकअप हेर्नुहोस् न, मेरा बाबै नि ! संसद् भवनमा हरेक दिन मिस नेपाल प्रतियोगिता चल्छ । यहाँ हरेक एक महिला सांसद रानीजस्ता देखिन्छन् । यहाँ राजारानीलाई माथ खुवाउने गरी एकसयएक जनप्रतिनिधि पैदा भएका छन्, जो सरकारी गाडी सिकेर ड्राइभिङ लाइसेन्स निकाल्ने सपना देख्छन्, अनि ५ हजार मिटर अग्लो पहाडमा 'भ्यू टावर' बनाउने योजना बनाउँछन् ।

०५२ देखि तत्कालीन नेकपा माओवादीले शुरू गरेको विद्रोह र ०६२/०६३ को जनआन्दोलनले संवैधानिक राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । गणतन्त्रको प्रतीकका रूपमा ७ साउन ०६५ देखि राष्ट्रपतिको व्यवस्था भयो । राष्ट्रपति भनेको कुनै राजारानीको पुनरोउत्थान त हैन तर तिनका कर्यशैलीले तिनीहरूलाई राजारानीकै भाष्यमा पुर्‍यायो । अझ त्योभन्दा बढ्ता भन्नुहोस् । राजसंस्था हैन प्रत्यक्ष जनताको संस्थाको परिकल्पना गरेर नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने भनियो । तर हाम्रा शासकका आचरण, तिनका गतिविधि, तिनका कमनसेन्स हेर्‍यो भने गणतन्त्रका कालो धब्बाका रूपमा तिनीहरू परिचित भैसकेका छन् । यो बडा दु:खको कुरा हो कि शासन व्यवस्था बदलिएपनि चिन्तन, पद्धति, संस्कार, आतरण, व्यवहार, शैली बदल्न सकिएको छैन । जनताको छोरा, जनताको छोरी राष्ट्रको सबैभन्दा उपल्लो तहमा पुग्ने त भन्यौं तर तपाईंले जनतामा गएर हाम्रो राष्ट्रपतिको कार्यशैली कस्तो छ भनेर सोध्नुभयो भने तपाईं निराश हुनुहुनेछ ।

भूकम्पपीडित जनताले सामान्य झुप्रोमा जाडो र वर्षा काटिरहनुपरेको यथार्थका बीच राष्ट्रपति भने ‘बम प्रुफ’ घरमा बस्न थालिन्, अथवा त्यो किसिमको चिन्तामा सरकार फस्यो । हाम्रो राष्ट्रपतिलाई कोबाट थ्रेट थियो ?  के उनी सिरियाको राष्ट्रपति हुन् त ? राष्ट्रपतिका लागि बनाइएको भवन ‘बम प्रुफ’ हो । बमप्रतिरोधी घर ६२ करोड लागतमा बनेको थियो । शीतल निवासको एक सय आठ रोपनी जग्गामध्ये उनका लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ । यो त अमेरिकी राष्ट्रपतिको सेतो घरभन्दा पनि कडा भयो । विचारा शाह वंशीय रानीहरू यस्तो प्रकारको बन प्रुफ घरमा बस्नै पाएनन् । 

आफूलाई कुनै अवैतनिक राजारानीको झल्को दिने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भूमिकालाई गैरसंवैधानिकरूपमा अगाडि बढाइरहेको प्रतित हुन्छ । उनले हरेकपटक नयाँ साडी लगाएकी हुन्छिन् । आर्य समुदायको कार्यक्रम उद्घाटन गर्छिन्, तर मगर र तामाङको कार्यक्रममा जातिगत भयो भनेर जान्नन् ।

उनको बोल्ने शैली र भाषा पनि ठ्याक्कै पूर्वराजा ज्ञानेन्द्रको जस्तै छ । उनलाई सामाजिक सञ्जालमा धेरैले महारानीको उपमा दिन थालेका छन् । गणतन्त्रको कालो धब्बा भन्ने गरेका छन् । तर पछिल्ला दिनहरूमा राष्ट्रपतिको मर्यादा बिर्साउने पछिल्ला कदमहरूले गणतन्त्रको सर्वोच्च प्रतीकमाथि आशंका र आक्रोश पैदा हुन थालेका छन् । राष्ट्रपतिलाई महारानीको उपमा दिनेहरू धेरै छन् ।

बरु बेलायती राजकुमार ह्यारीले श्रिमती मेघन र छोरासहित बकिङ्घम दरबारबाट राजकीय पद त्यागेर निस्के । तर भोजपुर मानेभञ्ज्याङमा मोहीको झोल र मकैको आँटो खाएर हुर्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा समेत सोफा छाड्न सकिनन् । यो त नपाउनेले केरा पायो बोक्रासँगै खायो भनेजस्तो भएन र ? यस्ता फोटा काण्ड त कति छन् कति ।

फोटो : सामाजिक सञ्जाल

केही समय अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी परिवारका अन्य सदस्यसहित हेलिकप्टरमा सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गर्न जाँदा सेनाका चार जवानले राष्ट्रपति र उनका छोरीहरूको जुत्ता–चप्पल बोकेको देखियो । राष्ट्रपति र उनका छोरीहरूको मात्र हैन ‬राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम समेत सेनाका जवानहरूले नै गरेका थिए 

राष्ट्रपति भण्डारीको यसप्रकारको भड्किलो कार्यशैली हेर्दा शाही रवाफ बिर्साउने ठाँटबाँठ देखिन्छ । शाही रवाफ अर्थात् नेपाली सेनाको हदैसम्मको दुरूपयोगले गणतन्त्रप्रेमी नागरिकहरू एकाएक आतंकित भएका छन् । सामन्य कार्यक्रमहरूमा पनि रातो कार्पेट नै बिछ्याउन पर्ने, झोला आफैं बोक्न नसक्ने, बाहिर निस्कनु पर्दा घण्टौं सडक ब्लक गर्नुपर्ने, यो त अचम्मै भयो नि ! राष्ट्रपतिलाई कोबाट खतरा छ ? राष्ट्रपतिलाई के कामको हतारो छ ?
शीतल निवासदेखि एयरपोर्टसम्म हेलिकप्टर यात्रा, सडक यात्राको प्वाँप्वाँ र पुँपुँको डर लाग्दो आवाज, धर्मनिरपेक्ष राज्यमा राजारानीको जस्तो धार्मिक उपस्थितिले राष्ट्रपति भण्डारीको वामपन्थी विगतप्रति खिसीट्युरी गरेको छ नै, गणतन्त्र नेपालको समेत बदनाम गरेको छ । उनको क्रियाकलापले वर्गीय पृष्ठभूमि र चेतनालाई जिस्क्याएको छ ।

राष्ट्रपति कार्यालयले जारी गर्ने विज्ञप्तिहरू कहिल्यै विविदरहित हुन सकेनन् । कार्यालयमा हुने कार्यक्रममा पत्रकारलाई रोक लगाउने गरिन्छ । हिजोका दिनमा त अझै सांसद्सम्मलाई राष्ट्रपति कार्यालयभित्र मोबाइल बोक्ने छूट थिएन । राष्ट्रपति कार्यालयको फोटो खिच्न मनाही छ । गणतन्त्रमा यो खालको शाही सेन्सिटिभिटी किन जरुरी छ ? अचम्म लाग्छ । 

राष्ट्रपतिको गरिमा सैनिक जवानहरूले हैन, आम नागरिकले राख्ने हो । राष्ट्रपति कुनै अदृश्य अदभूत शक्तिजस्तो गहन भाष्य पनि हैन, बरु सोचनीय कुरा यो हो कि राष्ट्रपतिको फोटो पत्रिकामा देख्दा, बाटोमा चर्को साइरन बजाउँदै गाडीमा हुइँकिएको देख्दा बटुवाहरूले मुखै छाडेर तथानाम गाली गरिरहेका हुन्छन् । उनीहरू भन्ने गर्छन्, जननेता स्व. मदन भण्डारीको श्रीमती हुनुको नाताले उनलाई राष्ट्रपति स्वीकार गरिएको हो, अन्यथा उनको व्याक्तित्व के छ ? राष्ट्रप्रति उनको अमूल्य योगदान के नै छ र ? 
स्व. मदन भण्डारीले कुनैबेला औंला ठडाएर भनेका थिए– 'एउटा राजा रहने या नरहने विषयले त्यति ठूलो अर्थ राख्दैन । तर त्योसँग जोडिएको सामन्तवाद, नोकरशाही पूँजीवाद रहने कुराले नेपाली जनताको भाग्य, भविष्य बन्ने नबन्ने कुरालाई प्रभाव पार्छ ।' दुर्भाग्य भनौं, राष्ट्रपति भण्डारीले अफूलाई रानीको भूमिकामा उतारेर स्व. मदन भण्डारीकै जबज विचारको अपमान गर्दै आएकी छिन् र आफूलाई वंशीय, नश्लीय, सम्भ्रान्त वर्गको खलकीय शासकको रूपमा प्रस्तुत गर्ने जमर्को गर्दैछिन् । 

राजाहरूको शाही भाषणको शैलीमा जनताले चुनावमार्फत चुनेको सरकारलाई 'मेरो सरकार' भन्दै स्वामित्व लिन खोज्ने राष्ट्रपति  विद्यादेवी भण्डारीले कम्तिमा मदनको सम्झना गर्नु आवश्यक भएको छ । जबजलाई फेरि अध्ययन गर्नु आवश्यक छ । सिंहदरबारमा जुन सरकार छ, त्यो भण्डारीको होइन । त्यो नेपाली जनताको सरकार हो । धुम्बाराहीमा जुन पार्टी मुख्यालय छ, त्यो पनि अब उनको रहेन । सरकार जनताको हो, जनताले फैसला गर्छ आफ्नो भाग्य र भविष्य । राष्ट्रपति केबल सम्मानित संस्था हो । संस्था भएरै बसेको राम्रो हो । 

राष्ट्रपति भण्डारीले आफ्नो पदकै गरिमा गुम्ने गरी खुला राजनीति गरिरहेको प्रतित हु्न्छ । केही दिनअगाडि नेकपा पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बसिरहेका बेला राष्ट्रपतिले नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान घनश्याम भुसाल लगायतलाई शीतल निवासमा बोलाएर राजनीतिक चलखेल गरिन् । यो विषयले नेकपामा खैलाबैला नै मच्चियो । अलंकारिक राष्ट्रपतिले नेताहरूसँग छलफल गर्नका लागि देशमा के संकटकाल लागेको थियो । 

संवैधानिक राष्ट्रपतिले नेपथ्यबाट कार्यकारी अधिकार प्रयोग गरी राजनीतिक दलभित्र चलखेल र सरकारी नियुक्तिमा भागबण्डा खोज्नु गम्भीर नैतिक प्रश्न हो ।

यहाँसम्म कि राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिलाई बुझिनँ भन्दै खिल्ली उडाइन् । उनले आफ्नो अघिल्लो कार्यकालमा चिकित्सा शिक्षा अध्यादेशलाई विना कारण नै लामो समय रोकेर राखिदिइन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष २०७४ कार्तिक ६ मा उक्त अध्यादेश पठाएको थियो । त्यो पनि भण्डारीको राजनीति नै थियो । यतिमात्र हैन शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभाका लागि मनोनित गरेका तीन सदस्यको नाम समेत अनुमोदन नगरेर उनले आफ्नो सेरेमोनियल भूमिकाकै खिल्ली उडाइन् । यो राष्ट्रपति भण्डारीको शासकीय महत्त्वाकांक्षा हो ।

संवैधानिक राष्ट्रपतिले नेपथ्यबाट कार्यकारी अधिकार प्रयोग गरी राजनीतिक दलभित्र चलखेल र सरकारी नियुक्तिमा भागबण्डा खोज्नु गम्भीर नैतिक प्रश्न हो । मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्ममा राष्ट्रपतिले आफ्नो कोटा माग्ने गरेको सुनिन्छ । हालसालैको सभामुख प्रकरणमा पनि उनको भूमिका प्रत्यक्ष थियो । यी घटनाहरूले राष्ट्रपति निरपेक्ष र सबैका साझा हुन्छन् भन्ने मान्यताको पर्खाल भत्काइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उनले आफ्ना राजनीति अभिष्टहरू पूरा गर्दै आएका सयौं उदाहरण छन्, ती सबै प्रकाशमा ल्याउनैपर्छ भन्ने छैन ।

संस्कारकै कुरा गर्ने हो भने पनि राष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाकै पालाको सिको गर्दै शीतल निवासमा धर्मगुरु नियुक्त गरिन् । खेमचन्द्र ढकाल नामका मानिसलाई राष्ट्रपतिले धार्मिक सल्लाहकार बनाएर सरकारी तबल दिलाइन् । गणतान्त्रिक देश र धर्मनिरपेक्ष मुलुकमा केको धार्मिक सल्लाहकार ? यो उदेकलाग्दो कुरा भएको छ । 

दशैंमा शीतल निवासमा दुर्गापूजा, हबन, बलि, हतियार पूजा भव्यरूपमा गरिन्छ । यति मात्र हैन विभिन्न शक्तिपीठको पूजाअर्चना, कर्मकाण्ड, धर्मगुरुको नियुक्ति आदिले शीतल निवास नारायणहिटी राजदरबार बन्ने खतरा छ । जनताकी छोरीले शाही राजाका कर्महरूलाई नै माथ खुवाउने काम गरिरहेकी छन् । 

सेनाले आफ्नो परम्पराअनुसार परमाधिपतिअघि उभिएर टीका लगाउँछ । सम्मानित न्यायालयमा काण्डैकाण्ड र विवादका अनेक श्रृंखला रच्दै शर्मनाक ढंगले बहिर्गमित पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्कालीन प्रधानन्यायाधीश रहेकै समयमा कुनै आत्मसम्मानविना आफ्नो अघिल्तिर घुँडा टेक्दा पनि मग्न भावमा टीका लगाइरहेकी राष्ट्रपति भण्डारीले आफ्नो 'कमनसेन्स' प्रयोग गरिनन् । 

राष्ट्रपतिको सम्बन्ध जनतासँग हुनुपर्ने हो तर उनको सम्बन्ध सामन्ती शासक र संस्कारका अवशेषहरूसँग हुँदै आएका छन् । राष्ट्रपति भण्डारीले जनतालाई मन नपर्ने गरेर पूर्वराजा ज्ञानेन्द्रसँग पारिवारिक उठबस गरेरै सबैलाई चकित पारिन् । शायद उनले राजतन्त्र र राष्ट्रपतिलाई समानान्तर ढंगले बुझेको हुनुपर्छ, वा आफूलाई राजारानीसरह मानेको हुनुपर्छ ।

यति मात्रै हैन राष्ट्रपति भण्डारीले आफ्नो कान्छी छोरी निशाकुसुमको विवाहमा ज्ञानेन्द्र शाहलाई औपचारिकरूपमै सहभागी गराइन् । त्यो विवाहको तडकभडक र तामझाम उनको राजनीतिक पृष्ठभूमिभन्दा ठीक उल्टो थियो । त्यो गणतन्त्रको परिकल्पनाभन्दा बाहरिको कुरा थियो । बरु एउटा दु:खी किसानको घरमा गएर खाना खाए, आम जनताका छोराछोरीको जस्तै सामान्य बिहे वा जनवादी बिहे गराएको भए उनको महिमा गाउन सकिन्थ्यो । 

सामन्य कार्यक्रमहरूमा पनि रातो कार्पेट नै बिछ्याउन पर्ने, झोला आफैं बोक्न नसक्ने, बाहिर निस्कनु पर्दा घण्टौं सडक ब्लक गर्नुपर्ने, यो त अचम्मै भयो नि ! राष्ट्रपतिलाई कोबाट खतरा छ ? राष्ट्रपतिलाई के कामको हतारो छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपति वनकालीमा विश्व हिन्दू महासंघको विराट हिन्दू महासम्मेलनको उद्घाटन गरेका थिए । त्यही दिन पूर्वराजालाई टक्कर दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलमा नेपाल आर्य समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनको उद्घाटन गरिन् । दान दक्षिणा, धर्मकर्मकै कुरामा राष्ट्रपति भण्डारी शाह वंशीय राजारानीलाई माथ खुवाउने गरेर अगाडि बढेकी छन् । 

राजसंस्था र राष्ट्रपति एउटै होइन भन्ने कुरा उनले बुझ्नुपर्छ, राष्ट्रपतिले पनि बुझ्नुपर्छ । जनताले बुझेको त्यही हो । 

हाम्रोजस्तो गरीब देशको राष्ट्रपति जनताको भावनासँग जोडिएको हुनुपर्छ र जनताको स्तरसँग नजिक हुनुपर्छ भन्ने कुरा उनले पनि बुझ्नुपर्छ किनकी उनी जनताकी छोरी हुन्, वामपन्थी राजनीतिबाट उदाएकी हुन्, स्वर्गीय जननेता मदन भण्डारीकी पत्नी हुन् । रानीहरू र उनीबीच पृष्ठभूमि, भूमिका र प्रचलित मान्यता फरक–फरक छन् तर, विगतमा राजाले गर्ने गरेका धर्म–कर्म, पूजा–अर्चना र मन्दिर दर्शनजस्ता विशुद्ध धार्मिक कर्मले राष्ट्रपति भण्डारीको भूमिकालाई हिन्दू राजाको जस्तो बनाएको छ । धर्मनिरपेक्ष राष्ट्रको राष्ट्राध्यक्षको भूमिका हिन्दू राजाकोजस्तो हुनु हुँदैन, सबै धर्मप्रति समान व्यवहार र दृष्टिकोण हुनुपर्छ ।

सुदूरको जनतालाई सिटामोल छैन राष्ट्रपतिका लागि १ अर्ब ५० करोडको हेलिकप्टर किनियो । सरकारले २१ भदौ ०७५ मा महाराजगञ्जस्थित प्रहरी तालिम प्रतिष्ठान पनौती सारी त्यहाँ राष्ट्रपतिको कार्यालय विस्तार गर्ने र हेलिप्याड बनाउने निर्णय गर्‍यो । जनताको १८ सयको साइकल गुडाउने हैतियत छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी किनियो । सेनालाई जुत्ता चप्पल बोकाउने, सडकका मानिसलाई असर पुग्ने गरी राजशी ठाँटबाठसहित बाटो कब्जा गर्ने, विलासी सामानप्रति मोह देखाउने उनको व्यवहारप्रति गणतन्त्र कसरी फेमिलियर हुनसक्छ ? 

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्