नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार र दुर्व्यवहार गरिएको भन्दै सभापति शेरबहादुर देउवाले देशव्यापी प्रतिरोधको चेतावनी दिएका छन् ।
बुधबार अपराह्न एक विज्ञप्ति जारी गर्दै देउवाले ओली सरकारको ‘सर्वसत्तावाद’विरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
बुधबार तनहुँको ब्यास नगरपालिकास्थित वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न जाँदैगर्दा स्थानीय प्रशासनले पौडेललाई पक्राउ गरेको थियो ।
देउवाले पौडेलको गिरफ्तारीको भत्र्सना गर्दै प्रशासनको उक्त कदम आपत्तिजनक रहेको बताएका छन् ।
‘स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, विज्ञप्तिमा देउवाले भनेका छन्, ‘सरकारको प्रवृत्ति विरुद्ध देशव्यापी प्रतिरोध गरिनेछ ।’
देउवाले पौडेलको तत्काल रिहाइको मागसमेत गरेका छन् । तत्काल रिहाइ नगरे उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार बस्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।
लोकान्तर संवाददाता