२६ जेठ २०८३, मंगलबार

शिवरात्रीका नागाबाबाहरूको आक्रोश : मन्त्री सन्त्री चिन्दैनौं, राजा चाहियो !

शिवरात्री मनाउन भारतदेखि नेपाल आएका बाबाहरूको पशुपति क्षेत्रमा चहलपहल बढेको छ । बिहीवार पर्ने शिवरात्रीका लागि निकै दिन पहिलेदेखि बाबाहरूको आउने क्रम चलिरहेको थियो ।

महाशिवरात्रीको दर्शन गर्न भारतबाट आएका साधुहरुले नेपाल ३ हजार वर्षदेखि हिन्दूराज्य भएको बताउने गरेका छन् ।

महाशिवरात्रीको समयमा भारतबाट आएका नागा बाबा र साधु बाबाहरुले नेपाल सदिऔंदेखि सनातन धर्मको राज्य भएको बताएका हुन् ।

शिवरात्री मनाउन ९ वर्षदेखि पशुपति आइराखेका राजस्थान चित्तडगढका महन्थ सन्त मनोहर दासले लोकान्तरसँग भने, ‘नेपालमा त्रेता युगदेखि नै रामको राज्य र भगवान शिवले आफ्नो बासस्थान बनाएको ठाउँ हो यहाँ कसैले पनि अरु राज्य भन्नै पाउँदैन् यो त हिन्दू राज्य हो ।'

उनले थपे – ‘अहिले जे नाम दिए पनि हिन्दू धर्मका ग्रन्थ वेद पुराण, रामायण सबै यो देशलाई हिन्दू राज्य भनेर प्रमाणित गरिएको छ ।’

भागवान शिवलाई हरिण सम्झेर दशरथले वाण हानेपछि शिव त्यहाँबाट अलप भएर पशुपतिमा आएर प्रकट भएकाले यसलाई शुद्ध भूमिको रूपमा पुजन गर्दै हरेक वर्ष नेपाल आउने गरेको बताए ।

उनले नेपालको पशुपतिनाथ र भारतको बैदनाथको सम्बन्धलाई स्पष्ट पार्दै यसले दुईदेशको सम्बन्ध पनि सदियौंदेखि स्वच्छ र सुमधुर बनाउँदै आएको बताएका छन् ।

यस्तै भारतको हस्तीनापुरबाट आएका सन्यासी पवन गिरीले आज शिवरात्रीको दिन भगवान शिवले विवाह गरेकाले त्यसलाई उत्सवका रुपमा मनाउन २५ वर्षदेखि नेपाल आउने गरेको बताएका छन् ।

‘शिवरात्री भनेको भगवान शिवको विवाह उत्सवको पवित्र भूमि पशुपतिमा मनाउनलाई सधैं आउने गरेको छु,’ सन्यासी गिरीले लोकान्तरसँग भने, ‘पशुपतिमा आउन पाउँदा सधै धन्य भएको ठान्छु ।’

पशुपतिमा आएका अधिकांश बाबाहरुले नेपालमा अरुलाई नचिन्ने तर राजालाई चिन्ने बताएका छन् ।

‘नेपालमा हामीले चिन्ने विष्णुको अवतार भएका राजालाई चिन्छौं अरु त को हुन् को,’ भारतको गाजियावाद भदौली शिवमन्दिरबाट आएका नागा बाबा राम गिरीले लोकान्तरसँग भने, ‘हामी भगवान शिवलाई मान्छौं राजा मान्छौं ।’

पशुपतिमा चहलपहल न्यून

शिवरात्रीको पूर्वसन्धामा पशुपतिमा चहलपहल न्यून देखिएको छ । कोरोना भाइरसको संक्रमण चलिरहेका कारण र नेपाल भारत सीमा आंशिक बन्द भएकाले चहलपहल कम देखिएको छ । पशुपतिमा अघिल्लो बर्षजस्तो बाबाहरु पनि देखिएका छैनन् ।

पशुपति क्षेत्रमा देखिएको बाबाको चहलपहललाई लोकान्तरकर्मी गगन अर्याल र विश्वास खनालले तस्वीर र भिडियोमा उतारेका छन् ।

हेर्नुहोस् तस्वीर र भिडियो –

salt training

कमेन्ट गर्नुहोस्