२३ असार २०८३, मंगलबार
राजस्व संकलनमा वृद्धि

राजस्व उल्लेख्य वृद्धि: पहिलो ५ महिनामा लक्ष्यभन्दा माथि, पहोरभन्दा १२० प्रतिशत बढ्यो

राजस्व उल्लेख्य वृद्धि: पहिलो ५ महिनामा लक्ष्यभन्दा माथि, पहोरभन्दा १२० प्रतिशत बढ्यो

चालू आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । 

आन्तरिक राजस्व विभागका अनुसार चालू आवको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म) लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ भने गत वर्षको यही अवधिको तुलनामा १ सय २० प्रतिशत बढी राजस्व संकलन भएको छ ।

मंसिर महिनामा मात्र विभागले कुल २८ अर्ब ५७ करोड ९० लाख ७४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । 

जसमध्ये लक्ष्यको ९६.६७ प्रतिशत राजस्व असुली भएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

विभागका निर्देशक एवं सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार, मंसिर महिनामा मात्रै विभागले विभिन्न शीर्षकमा गरेर २७ अर्ब ६२ करोड ६२ लाख ७४ हजार रुपैयाँ राजस्व असुली गरेको छ, जुन लक्ष्यको ९६.६७ प्रतिशत हो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारले लक्ष्यभन्दा बढी अर्थात् १०२.३५ प्रतिशत राजस्व असुली गरेको छ ।

मंसिरसम्ममा विभागले १ खर्ब ५१ अर्ब ७८ करोड ९६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

यस अवधिमा १ खर्ब ५५ अर्ब ३५ करोड १६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी प्याकुरेलले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्ममा सरकारले १ खर्ब २९ अर्ब ७५ करोड ७६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

गत वर्षको तुलनामा अहिले १२० प्रतिशत राजस्व वृद्धि भएको प्रवक्ता प्याकुरेलको भनाइ छ । 

१२० प्रतिशतको वृद्धि निकै राम्रो कुरा हो : विभाग

आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले अहिले गत वर्षको मंसिर महिनासम्मको तुलनामा १२० प्रतिशत राजस्व बढी असुली भएको बताए । यो निकै राम्रो भएको बताउँदै उनले अहिले राजस्व असुलीको अवस्था हेर्दा वार्षिक लक्ष्य चुम्न त्यति कठिन नहुने बताए । 

होटल तथा पर्यटन क्षेत्र चलायमान भएमा राजस्व संकलन अझै बढ्ने उनको भनाइ छ । 

‘अझै पनि सेवा क्षेत्रमा असर कायमै छ । होटल, पर्यटन लगायतका क्षेत्रहरू अझै पनि माथि उठ्न सकेका छैनन् । आवागमन पनि विगतको जस्तो राम्रो छैन । विदेशी नागरिक नेपाल आएका छैनन् ।’ 

उनले भने, ‘यद्यपि अहिले आर्थिक गतिविधि विस्तारै चलायमान हुँदै जाँदा बढेको देखिन्छ, तर सेवा क्षेत्रबाट पनि राम्रो राजस्व उठ्न सक्ने अवस्था भएमा झनै धेरै असुली हुन्छ ।’

आर्थिक गतिविधि चलायमान हुँदै जाँदा राजस्व असुली पनि लक्ष्य अनुरूप वा सो भन्दा बढी हुनेमा विभाग आशावादी रहेको उनको भनाइ छ ।

समग्रमा कति संकलन भयो राजस्व ? 

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । 

जसमध्ये कर राजस्व १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ र गैरकर राजस्व १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ संकलन गर्ने सरकारी लक्ष्य छ । 

चालू आर्थिक वर्षको साढे ४ महिनामा सरकारले लक्ष्यको ३५.८३ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

सरकारले मंगलवार (पुस ६ गते)सम्ममा ३ खर्ब ९० अर्ब ५२ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ३६.५७ प्रतिशत हो । 

गत आर्थिक वर्ष (२०७७/७८)को सोही अवधिमा सरकारले कर राजस्व ३२.२८ प्रतिशत संकलन गरेको थियो । 

सो आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो, जसमध्ये समीक्षा अवधिमा ३०.८२ प्रतिशत असुली गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

यस्तै सरकारले मंगलवारसम्ममा ३२ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । 

आर्थिक वर्षभरीमा १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ गैरकर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये मंगलवारसम्ममा २८.८४ प्रतिशत संकलन भएको हो । 

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा सरकारले १७.३९ प्रतिशतमात्रै गैर कर राजस्व संकलन गरेको थियो । सो वर्ष ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ गैर कर राजस्व संकलनको लक्ष्य लिएको थियो । 

जसबाट सो समयमा १७.३९ प्रतिशत राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

अर्थमन्त्रालय भन्छ– गतवर्षको भन्दा बढी असुली भयो भने पनि हाम्रो सफलता

अर्थमन्त्रालयले शतप्रतिशत राजस्व संकलनको लक्ष्य भेट्ने गरी नै अहिले काम भइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले अहिले राजस्व संकलनको लक्ष्य भेट्ने गरी नै काम भइरहेको बताए । 

यद्यपि अहिले राजस्व वृद्धि भने आयातमा वृद्धि भएकाले पनि बढी देखिएको उनको भनाइ छ ।

उनले भने, ‘लक्ष्य महत्वाकांक्षी छ, शतप्रतिशत राजस्व भेट्न सकिन्छ कि सकिन्न अहिले नै भन्न त सकिँदैन । अहिले आयातमा वृद्धि भएकाले पनि राजस्व बढेको देखिन्छ । गत वर्षको भन्दा बढी नै असुली भयो भने पनि हाम्रो सफलता हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्