
शेर्पाली रिकिकुर अर्थात् आलुको रोटी पछिल्लो समय धेरै रोजाइमा पर्छ । शेर्पा भाषामा रिकिको अर्थ आलु र कुरको अर्थ रोटी हो । आलुको रोटी अर्थात् ‘पोट्याटो प्यान’ केक भनेर विदेशीले पनि बिहानको खाजा (ब्रेक फास्ट) मा रोज्ने खाजा हो ।
सोलुखुम्बुको नाम्चे बजारमा होस् या मनाङ मुस्ताङका होटलहरूमै किन नहोस् सबैको मेनुमा यो परिकार समावेश हुन्छ ।
शेर्पा संस्कृतिमा आलुका यावत मौलिक परिकार बनाइन्छ र यी परिकारहरू गैरशेर्पाहरूका लागि नौलो र छुट्टै स्वाद हुन्छ । जसले गर्दा हिमाली जिल्ला पुग्ने देशी र विदेशी दुवै यी परिकारका पारखी बन्न पुगेका छन् । शेर्पा समुदायको बाहुल्य रहेको राजधानीको बौद्ध र स्वयम्भुमा पनि रिकिकुर सजिलै पाइन्छ । सेर्कम (चौरी गाईको नौनी किण्वित मख्खन) मिसाएर बनाएको अचारसँग रिकिकुर निकै स्वादिष्ट हुन्छ ।
कसरी बनाइन्छ रिकिकुर ?
रिकिकुर बनाउन चाहिने सामग्रीः आलु काचो ५ पिस, मैदा या फापरको पिठो १/२ कप, पानी आवश्यकता अनुसार, अण्डा १ पिस, चौरीको घ्यू या बटर ३ चिया चम्चा ।
रिकिकुर बनाउने विधिः आलुलाई धोएर पिल गर्ने र मसिनो गरी कोरेसोले ग्रेट गर्ने या ब्ल्यान्डरमा पिस्दा पनि हुन्छ । मैदा या फापरको पिठो हाली राम्ररी घोल्ने र केही समय रेस्टमा राख्ने । ननस्टिक प्यानमा थोरै बटर या चरीको घ्यू हाली प्यान केक जसरी फिजाउने र दुवैतर्फ खैरो हुने गरी पकाउने । कतैकतै ओभनमा बेक गर्ने पनि चलन छ र परम्परागत भने ढुंगाको तावामा पकाउने गरिन्थ्यो ।
कसरी बन्छ सेर्कम अचार ?
सेर्कम अचार बनाउन हरियो लसुन, हरियो खुर्सानी, नून र हरियो प्याजको पेस्ट बनाउने र चौरीको सेर्कम मिसाएर मज्जाले मोल्ने । यसरी तयार भएको अचार रिकिकुरसँग खान निकै स्वादिष्ट हुन्छ ।