
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनी आकाशमा उडान निषेधित क्षेत्र अर्थात् नो फ्लाई जोनको घोषणा गराउन निकै जोड दिइरहेका छन् ।
पश्चिमी सैन्य गठबन्धन नेटोले जेलेन्स्कीको इच्छामुताबिक घोषणा नगरेपछि उनी खुबै रिसाए । उनले आक्रोशपूर्ण सम्बोधन गर्दै युक्रेनका लागि पश्चिमले सार्थक हस्तक्षेप नगरेकाले रुसलाई युक्रेनका शहर र गाउँमा बमवर्षा गर्ने अनुमति प्राप्त भएको समेत दाबी गरे ।
शनिवार उनले अमेरिकी संसद्का ३०० भन्दा बढी सदस्यसँग भर्चुअल माध्यमबाट कुराकानी गर्ने क्रममा पनि युक्रेनमा नो फ्लाई जोन लागू गराउन अनुरोध गरे । अनि युक्रेनलाई लडाकू विमान उपलब्ध गराउन र रुसी तेलमाथि प्रतिबन्ध लगाएर उसलाई दबाब दिन पनि उनले आग्रह गरे ।
तर नो फ्लाई जोन घोषणा गर्दा रुस र पश्चिम सिधै भिडन्तको स्थितिमा पुग्ने भनी नेटोले जेलेन्स्कीको माग पूरा गर्न मानेको छैन । अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर बेन सास्सेले नो फ्लाई जोन घोषणा गरेपछि अमेरिकाले रुसी लडाकू विमान र हवाई प्रतिरक्षासँग लडाइँ गर्न आफ्ना पाइलट पठाउनुपर्ने स्थिति आउने बताए । आणविक हतियार भएका दुई मुुलुकबीच भिडन्त भएमा परिस्थिति नियन्त्रणबाहिर जाने उनको भनाइ छ ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नो फ्लाई जोन घोषणा गरिएमा त्यसको विशाल तथा विनाशक परिणाम देखिने बताएका छन् । त्यसबाट युरोप मात्र नभई सारा संसार चपेटामा पर्ने उनको भनाइ छ । नो फ्लाई जोनको घोषणा गरिएमा रुसविरुद्ध अर्को देशले सशस्त्र द्वन्द्व शुरू गरेको अर्थ लाग्ने चेतावनी पनि पुटिनले दिएका छन् ।
अनेकौं जोखिमलाई निम्त्याउँछ भन्ने जान्दाजान्दै युक्रेनले नो फ्लाई जोनका लागि किन जोड दिएको हो भन्ने प्रश्न उठ्छ ।
विशेषगरी युक्रेनमा रहेको जापोरिझझिया आणविक भट्टीमा रुसले आक्रमण गरी विकिरण स्तर बढाएको आरोप लगाउँदै युक्रेनले नो फ्लाई जोनको माग राखेको हो । यस्ता किसिमका आक्रमण रोक्नका लागि युक्रेनी आकाशमा रुसी विमानलाई उड्न दिन नहुने जेलेन्स्कीको माग छ ।
रुसले चाहिँ उक्त आक्रमण युक्रेनीहरूले नै गरेको र रुसमाथि दोष थोपरेको बताइरहेको छ । सौभाग्यवश, आणविक भट्टीबाट विकिरण निस्कन पाएन र त्यसलाई रुसी सेनाले आफ्नो नियन्त्रणमा पनि लिइसकेको छ ।
युक्रेनले अनेकौं तिकडम लगाएर अमेरिका तथा नेटोलाई रुसविरुद्धको युद्धमा फसाउनका लागि कोशिश गरिरहेको सिलसिलामा नो फ्लाई जोनको माग अघि सारेको हो भन्न सकिन्छ । तटस्थ सैन्य विश्लेषकहरूका अनुसार, युक्रेनले रुसी आक्रमणमा उल्लेख्य क्षति बेहोरिसकेको छ ।
यसै सन्दर्भमा रुसीभाषी इन्टरनेट (रुनेट) मा युक्रेनको एक आन्तरिक दस्तावेज सर्कुलेट भइरहेको टेलिग्राममा चर्चा छ । युक्रेनको सुरक्षा परिषदबाट लीक भएको भनिएको दस्तावेजमा युक्रेनको ४० प्रतिशत भूमिमा रुसको नियन्त्रण कायम भइसकेको तथा युक्रेनी सेनाले ७५ प्रतिशतभन्दा बढी क्षति बेहोरिसकेको उल्लेख छ ।
यस दस्तावेजलाई स्वतन्त्र पुष्टि गर्न नसकिएपनि जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग लडाकू विमान र नो फ्लाई जोनका लागि बिलौना गरेको देख्दा युक्रेनी सेना अब लगभग आत्मसमर्पणको स्थितिमा पुगिसकेको आभास हुन्छ ।
यस्तो स्थितिमा रुसलाई आफ्नो बलबुतामा कसैगरी हराउन नसकिने देखेपछि जेलेन्स्कीले अन्य मुलुकहरूलाई पनि युद्धमा सामेल गराउन सकिन्छ कि भनी दाउ हेरिरहेका हुन सक्छन् । तर पोल्यान्ड, बुल्गेरिया र स्लोभाकियाले आफ्ना लडाकू विमान युक्रेन पठाउन अस्वीकार गरेर जेलेन्स्कीको दाउलाई विफल तुल्याइदिएका छन् ।
नो फ्लाई जोन घोषणा गरिएपछि युक्रेनको आकाशमा अनुमति नलिइकन कुनै पनि विमान उडाउन पाइँदैन । यात्रुवाहक विमान यस्तो घोषणापछि जोखिमको डरले नै उड्दैनन् ।
सन् १९९१ मा भएको खाडीयुद्ध, सन् १९९३ देखि १९९५ सम्म बोस्निया र हर्जगोभिनामा भएको युद्ध र सन् २०११ मा लिबियामा गरिएको युद्धमा ती देशको आकाशमा नो फ्लाई जोन घोषणा गरिएको थियो ।
माथि उल्लेख भएबमोजिम, युक्रेनमा नो फ्लाई जोन घोषणा गरिएको खण्डमा नेटोका लडाकू विमानका पाइलटहरूले रुसी विमानलाई गोली हानेर खसाउन पाउँछन् । त्यति मात्र नभई नेटोले लडाकू विमानलाई तेल भर्ने ट्यांकर र विद्युतीय निगरानी गर्ने विमान समेत तैनाथ गर्नुपर्ने हुन्छ ।
यस्ता सहयोगी विमानहरूको रक्षाका लागि नेटोले रुसका हतियार नष्ट गर्नुपर्ने हुन्छ । विशेषगरी रुस र बेलारुसको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रलाई नेटोले ध्वस्त पार्नुपर्ने हुन्छ । त्यस्तो स्थितिमा यो युद्ध युक्रेनमा मात्र सीमित नभई बृहत्तर क्षेत्रमा फैलिन्छ ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले यसैलाई इंगित गर्दै नो फ्लाई जोनको घोषणा गर्दा सम्पूर्ण युरोप युद्धमा होमिने बताए । यस युद्धलाई युक्रेनबाहिर जान नदिने जिम्मेवारी नेटोको भएको उनको भनाइ छ ।
जेलेन्स्कीले केटाकेटी तर्क गरेको भए पनि नेटोका सैन्य विश्लेषकहरूलाई नो फ्लाई जोन घोषणाले ल्याउने परिणामको राम्रो जानकारी छ ।
त्यसै पनि रुसले यस सैन्य कारवाहीमा आफ्नो वायुसेनाको पूर्ण उपयोग गरेकै छैन । युद्धको पहिलो दिन रुसले क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भए पनि त्यसपछिका दिनमा उसले निकै तौलेर मात्र वायुसेनाको उपयोग गरेको छ । तैपनि युक्रेनको हातहतियार नष्ट गरेर असैन्यीकृत गर्ने लक्ष्यमा रुस लगभग सफल भइसकेको छ र युक्रेनको आकाशमा पकड (एयर सुपेरियोरिटी) कायम गरिसकेको छ ।
जमीनबाट मार हान्ने रकेट र आर्टिलरी प्रणालीले नै रुसलाई आफ्नो लक्ष्य हासिल गर्न सफलता दिइरहेको छ । अमेरिकी सेनाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले फक्स न्युजसँगको कुराकानीमा रुस अब १० दिनभित्र विजयी भइसक्ने अनुमान गरेका छन् ।
यस्तो स्थितिमा आफ्ना साझेदारहरूलाई अतिरिक्त जोखिममा पार्ने कदम नेटोले किन चाल्थ्यो ? त्यसै पनि नेटोले शुरूदेखि नै युक्रेनको प्रतिरक्षाका लागि आकाश वा जमीन कतै पनि सैन्य कारवाही नचलाउने स्पष्ट पारिसकेको थियो । युक्रेन नेटोको सदस्य नभएकाले नेटोको उसको प्रतिरक्षाका लागि बाध्य नबनेको हो ।
युरोप महादेशमा नेटो सदस्य मुलुकहरूले चालेको जोखिमरहित कदमलाई विश्वका अन्य कुनामा बस्ने मानिसले कायरपनाको संज्ञा दिनु स्वाभाविक छ । तर रुससँग भिडन्तको स्थिति आएमा आफूहरूले बेहोर्नुपर्ने अकल्पनीय क्षतिका बारेमा उनीहरू जानकार भएकाले नै हतारमा कुनै निर्णय गरिरहेका छैनन् ।
रुसलाई अफगानिस्तानमा जस्तै युक्रेनको भासमा फसाउने हिसाबले हातहतियार आपूर्ति गर्न चाहिँ नेटो र पश्चिम तयार छ । तर अत्याधुनिक आणविक हतियार भएको रुससँग सिधै युद्धको स्थितिमा आफूलाई पार्न युरोप र नेटो तयार छैन किनकि त्यसको परिणाम भयानक हुने उसलाई थाहा छ ।
युक्रेनलाई रुस र नेटोबीच तटस्थ हैसियतमा बस्नका लागि रुसले राखेको माग पूरा गराउन कूटनीतिक पहल नगर्नु चाहिँ पश्चिमको चरम गैरजिम्मेवारी हो । अहिलेको युद्ध नेटोको आक्रामक विस्तारकै कारण भएको तथ्यलाई मनन गर्नुपर्ने हुन्छ । अझ आपत्तिजनक रूपमा, रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने अनि युक्रेनलाई हातहतियार उपलब्ध गराउने नीति लिएर पश्चिमले यस युद्धलाई लामो समयसम्म तन्काउन खोजेको देखिन्छ ।
रुससँग आफू चाहिँ नभिड्ने तर रुसलाई ‘ठेगान लगाउन’ ठूलो संख्यामा युक्रेनीहरूको बलिदान चढाउन चाहिँ नहिचकिचाउने पश्चिमको नीति देखिन्छ । युद्ध कहिलेसम्म लम्बिन्छ आफूलाई थाहा नभएको भनी अमेरिकाका परराष्ट्रमन्त्रीले बीबीसीका पत्रकार जेम्स ल्यान्डलसँग ब्रसेल्समा लिइएको अन्तर्वार्तामा बताए । अर्थात्, उनी यो युद्ध लामै समय जाने र रुस यसमा फसेर विश्व मञ्चबाट थप एक्लिने आशा गरिरहेका छन् ।
कूटनीतिमार्फत यसको समाधान खोज्न अमेरिकाले पहल नगर्ने पनि ब्लिन्केनको भनाइले स्पष्ट पार्छ । सार्थक कूटनीतिको जिम्मेवारी रुसकै रहेको भनी उनी पन्छिन खोजेका छन् । त्यसैले रुससँग प्रतिष्ठाको लडाइँमा अमेरिकाले युक्रेनीहरूलाई बलिवेदीमा चढाउन नहिचकिचाएको देखिन्छ ।
यस्तो स्थितिमा युक्रेनले खोजे जस्तो नो फ्लाई जोन पश्चिमले घोषणा गर्ला वा युक्रेनलाई सार्थक सैन्य सहयोग उपलब्ध गराउला भनी आशा गर्नु बेकार छ । रुससँग तटस्थता, निःशस्त्रीकरण तथा डोनबास क्षेत्रमा शान्तिको विषयमा सार्थक वार्ता गर्नुमै युक्रेन र जेलेन्स्कीको हित छ ।