
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि ।
भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुराली जाँदा सालासालीले मात्र होइन, सासु, ससुरा, जेठान, जेठानीदिदीले पनि त्यत्तिकै मानसम्मान गर्ने हाम्रो परम्परा छ ।
सब्जीमा सबैभन्दा मिठो र स्वादिष्ट मानिने कटहरको भेट्नो अर्थात् भिनाजु नै मेजमानीका लागि उत्तम हुने हुँदा यो सब्जी ज्वाइँ चेलोलाई खुवाउने परम्परा छ । काँचो कटहरको तरकारी त हामी धेरैले खाएका छौं र निकै चर्चित परिकार पनि हो तर यो भिनाजु भन्ने सब्जी भने धेरै कमले मात्र चाख्नुभएको होला । यो सब्जीलाई चाहिने सामग्री र पकाउने विधि हामीले यहाँ पस्केका छौं ।
भिनाजु बनाउन चाहिने सामग्रीः
पाकेको कटहरको बीचको भेट्नो २ पिस, मध्यम साइजको रातो आलु ३ पिस, तोरीको तेल ३ चम्चा, मेथि आधा चम्चा, हरियो खुर्सानी ४ पिस, अदुवा–लसुन पेस्ट १ चम्चा, प्याज मध्यम २ पिस, बेसार आधा चम्चा, जिरा धनियाँको धुलो १ चम्चा, खुर्सानीको धुलो १ चम्चा, गरम मसलाको धुलो आधा चम्चा, हरियो धनियाँ आधा मुठो, काटेको गोलभेडा २ पिस, हरियो लसुन २ पोटी ।

भिनाजु बनाउने तरिकाः
भाँडामा तेल हालेर मेथि फुराएर काटेको हरियो खुर्सानी हाल्ने अनि प्याज भुट्ने । ब्राउन कलर आउन थालेपछि काटेको कटहरको भेट्नो हालेर भुट्ने । केही समयपछि आलु हाल्दिने र सानो आँचमा पकाउने । मसला, अदुवा–लसुन हाली चलाउँदै पकाउने । राम्ररी पाक्न थालेपछि काटेको टमाटर हाली फेरि एकछिन पकाउने । अन्त्यमा हरियो लसुन, धनियाँ हालेर रोटी या भातसँग सर्भ गर्ने ।