११ साउन २०८३, सोमबार
रचना रिमालको 'स्टेज' अनुभव

रचनासँग ‘स्टेज संवाद’: ‘फोटो खिच्नै भनेर आएकालाई यत्तिकै फर्काउनु पर्दा नरमाइलो लाग्छ’

बैशाख ७, २०७९
रचनासँग ‘स्टेज संवाद’: ‘फोटो खिच्नै भनेर आएकालाई यत्तिकै फर्काउनु पर्दा नरमाइलो लाग्छ’

कोरोना महामारीका कारण लामोसमय मेला महोत्सव प्रभावित भए । कोरोना महामारी मत्थर भएसँगै मेला महोत्सवले फेरि गति लिएका छन् ।

सामान्य अवस्थामा खासै मेला–महोत्सव नहुने चैत, वैशाखमा पनि यसवर्ष थुप्रै जिल्लामा मेला महोत्सव सञ्चालन गरिए । र, त्यस्ता मेला–महोत्सवमा सर्वाधिक व्यस्त हुने मध्येमा रहिन्, पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल ।

‘महोत्सवबाट आजदेखि बल्ल अलि फुर्सद पाएँ’ रचनाले मंगलवार साँझ लोकान्तरसँग भनिन्, ‘अब भने रेकर्डिङतिर अलि व्यस्त हुनु’छ ।’

प्रस्तुत छ, रचनासँग स्टेजकेन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंशः​

स्टेज कार्यक्रमबाट बल्ल फुर्सद मिल्यो है ? 

पछिल्लो समय लगातार नै कार्यक्रम गरिरहेकी थिएँ । बीचमा कार्यक्रमको शिलशिलामा इजरायल गएर फर्किएँ । फर्किएपछि पनि नियमित कार्यक्रममा थिएँ ।

आज (मंगलबार)देखि बल्ल अलि फुर्सद मिल्यो । अहिले फेरि रेकर्डिङतिर व्यस्त भएकी छु । 

कस्तो रह्यो इजरायलको कार्यक्रम ?

एकदमै राम्रो, रमाइलो भयो । 

अहिलेसम्म कति देश पुग्नुभयो ?

दुबई र इजरायल हो । अन्य देशहरूमा पनि कुरा भइरहेको छ । अलि पछि जान्छु । 

चैत–वैशाखमा यसरी मेला महोत्सव तथा स्टेज कार्यक्रम होला भन्ने सोच्नुभएको थियो ? चैत–वैशाख त मेला महोत्सवका लागि अलिकति अफसिजन मानिन्छ नि !

पहिले तय भएका थुप्रै महोत्सवहरू कोरोनाका कारण रोकिएको थियो, त्यसैले कोरोना मत्थर भएपछि  कार्यक्रमहरू राम्रै संख्यामा हुन्छ भन्नेचाहिँ लागेको थियो । तर, मैले यति धेरै महोत्सवहरू पाउँछु भन्ने सोचेको चाहिँ थिइनँ ।

कति महोत्सवमा त नभ्याएर पनि जान पाइनँ । भ्याएसम्म एकैदिन दुईवटा महोत्सवमा समेत पुगेर गाएँ । जे होस्, मलाई यति धेरै कार्यक्रम आउँछन् भन्नेचाहिँ लागेको थिएन । 

कार्यक्रमको शेड्यूल अझै छन् कि अब लगभग सकियो ?

अझै केही कार्यक्रमहरू तय भएका छन् । तर, अगाडिको जस्तो नियमित रूपमा भने छैन । 

महोत्सव (सांगीतिक कार्यक्रम)मा गएर गीत गाउँदाको अनुभव कस्तो हुन्छ ? कत्तिको रमाइलो लाग्छ ?

नभेटेको स्रोता/दर्शकहरूसँग प्रत्यक्ष भेट्न पाइन्छ । आफूलाई, आफ्ना गीतहरूलाई माया गर्ने स्रोता दर्शकहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै आनन्द लाग्छ । एकदमै रमाइलो हुन्छ ।

धेरैले एकदमै राम्रो रेस्पोन्स गर्नुहुन्छ, त्यो कुराले पनि छुट्टै खुशी मिल्छ । 

स्टेजमा चढेपछि सुरुआतमा कुन गीत गाउनुहुन्छ ? 

फोटो फिरिममा । 

कतिवटा गीत गाउनुहुन्छ ?

प्रायः १०–१२ वटा गाउँछु । 

नछुट्ने गीतहरू कुन–कुन हुन् ?

‘उनको प्रीति’ भयो । मिनरल वाटर, सम्झिनी पानी छम्किनी, चाहान्छु माया बढेस्, भन साइँला, तिमी त पोखरेली, सुन न पियारी आदि गीत गाउँछु । अलि नसुनेका गीतहरू पनि गाउँछु ।

दर्शकले सबैभन्दा बढी रमाइलो कुन गीत गाउँदा मान्नुहुन्छ ? वा बढी हूटिङ कुन गीतमा आउँछ ?

उहाँहरूले सुनेका गीत गाउँदा सबैमा हूटिङ आउँछ । प्रायः सबै गीत गाउँदा रमाइलो मान्नुहुन्छ । उहाँहरूले त्यति नसुनेको गीतमा पनि रमाइलो गरिरहनुभएको हुन्छ । 

स्टेजमा प्रायः कति समय गाउनुहुन्छ ?

प्रायः १ घण्टाभन्दा बढी नै गाउँछु । 

स्टेज कार्यक्रमको शिलशिलामा धेरै ठाउँमा जानुभयो । नेपालभित्र सबैभन्दा यादगार कार्यक्रम कहाँको रह्यो ? 

बुटवलमा एकदमै रमाइलो भएको थियो । दर्शकहरू पनि एकदमै धेरै आउनुभएको थियो । झापामा पनि धेरै रमाइलो भएको थियो । मानिसहरू धेरै भएको स्थानमा प्रायः रमाइलो नै हुन्छ । 

आयोजकहरू के भन्नुहुन्छ तपाईंको प्रस्तुतिलाई लिएर ?

कार्यक्रम सकाएपछि सबैले राम्रो भन्नुहुन्छ । फेरिफेरि पनि आउनुपर्छ भन्नुहुन्छ । प्रायःले राम्रो नै मान्नुहुन्छ । 

तपाईंलाई अनि तपाईंको प्रस्तुतिलाई रुचाउने स्रोता दर्शकहरू एकदमै धेरै हुनुहुन्छ । मेला महोत्सवमा जाँदा दर्शकहरूका कारण कत्तिको दुःख हुन्छ ?

उहाँहरूका कारण दुःख हुने भन्ने हुँदैन । मलाई दुःख लाग्दैन । कहिलेकाहीँ आफैंलाई गाह्रो भएको छ वा बिसन्चो भएको अवस्था छ भने दुःखभन्दा पनि गाह्रो लाग्छ ।

कहिलेकाहीँ एकजनाले नै धेरैवटा फोटो खिच्नुहुन्छ । धेरैवटा भिडियो बनाउनुहुन्छ । त्यस्तो अवस्थामा अरू फोटो खिच्न कुरेर बसिरहनुभएको हुन्छ । त्यस्तो अवस्थामा गाह्रो भैरहेको हुन्छ । 

मलाई सकेसम्म सबै दर्शकहरूसँग घुलमिल हुन मन लाग्छ । फोटो खिच्न आउनेहरूसँग भ्याएसम्म खिच्ने पनि गर्छु । 

मेला महोत्सवमा फोटो खिच्न भनेरै टाढाटाढाबाट समेत आउनुभएको हुन्छ । कार्यक्रममा अलि भीड भयो भने उहाँहरूले फोटो खिच्न पाउनुहुन्न ।

उहाँहरू फोटो खिच्न नपाइ फर्किएको देख्दा नरमाइलो लाग्छ । 

नेपालभित्र कार्यक्रमका लागि जान मन लागेको तर माहोल नमिलेको कहाँ छ ?

मलाई आफू जन्मिएको ठाउँ तेह्रथुम जान बढी मन छ । त्यहाँ कार्यक्रमको शिलशिलामा जाने मन एकदमै छ । अहिलेसम्म मिलिरहेको छैन । नेपालभित्र कार्यक्रमको शिलशिलामा थुप्रै जिल्लाहरूमा पुगिसकेँ । अब अलिकति विकट जिल्लाहरूसँगै नगएको सबै जिल्लामा जान मन छ । 

पहिलोपटक कति वर्षको उमेरमा स्टेजमा चढेर गीत गाउनुभएको थियो ?

कक्षा ४ मा पढ्दा हो, त्यस्तै १० वर्षकी थिएँ कि ! त्यो बेला स्कूलको कार्यक्रममा स्टेजमा गीत गाएकी थिएँ । 

अहिले मेला महोत्सवबाट केही फुर्सद मिलेपछि फेरि रेकर्डिङतिर भ्याइनभ्याइ होला है ?

अगाडिदेखि नै धेरै जनाले रेकर्डिङका लागि कुरिरहनुभएको थियो । कतिजनालाई त म इजरायलबाट फर्किएको पनि थाहा रैन‘छ । त्यसैले अहिले गाउनुपर्ने गीतहरू २० भन्दा बढी छन् । धेरै दिन मेलामा हिँडेको भएर अहिले धेरै गाउन पनि समस्या भएको छ । त्यसैले दिनमा २ वटा गीत गाइरहेकी छु । आज (मंगलवार) पनि दुईवटा गीत गाएँ । 

तपाईंले गीत गाउँदा अफर आएका जति सबै गाउनुहुन्छ कि केही छनोट पनि गर्नुहुन्छ ?

शब्दहरू अलिकति अप्ठयारो लाग्यो भने गाउँदिन । अप्ठ्यारो शब्दहरू परिवर्तन गर्न मिल्ने भए परिवर्तन गर्न लगाएर गाउँछु । तर, धेरै छनोट चाहिँ गर्दिनँ । अफर आएका प्रायः सबैजसो नै गाउँछु, किनकी कति धेरैले मसँग गाउने रहर पनि गर्नुभएको हुन्छ । उहाँहरूलाई मलाई गीत मन परेन भन्न अप्ठ्यारो लाग्छ । मलाई फेरि अफर आएका प्रायः गीतहरू राम्रो नै लागिरहेको हुन्छ । कहिलेकाहीँ शब्द चित्त नबुझेमा नगाउने मात्र हो । 

अब कस्ता–कस्ता गीत आउँदैछन् ?

आउने गीतहरू त धेरै नै छन् । तर, कुन गीत कस्तो हुन्छ, सोच्नै सकिँदैन । प्रायः दिनदिनै नयाँ गीतहरू आइरहेको हुन्छ । कतिपय गीतहरू त आएको पनि थाहा हुँदैन । कतिले मलाई नभनी यत्तिकै पनि रिलिज गर्नुहुन्छ । युट्युबमा हेर्दा देखेपछि बल्ल ‘ए गीत आएछ’ भन्ने हुन्छ । अनि बल्ल शेयर गर्छु ।

salt training

कमेन्ट गर्नुहोस्