२६ असार २०८३, शुक्रबार
तीज विशेष

नयाँ तीज गीतको संख्यासँगै चर्चा पनि कम, चलेका कलाकार विदेशका कार्यक्रममा व्यस्त

भदौ १४, २०७९
नयाँ तीज गीतको संख्यासँगै चर्चा पनि कम, चलेका कलाकार विदेशका कार्यक्रममा व्यस्त

गत वर्षको तीजमा ‘चरी जेलैमा’, ‘कुरा बुझ्न पर्च’ जस्ता गीतहरू निकै चर्चामा रहे । ‘तीजको रहर आयो बरिलै’ जस्ता केही पुराना सदावहार तीज गीतलाई छाडेर हेर्ने हो भने तीज विशेष कार्यक्रममा नयाँ गीतहरू नै घन्किए ।

महिलाहरू पनि नयाँ तीज गीतहरूमा नै बढी नाचगान गरे । गत वर्षका तीज गीतले युट्युबमा पनि निकै लोभलाग्दो भ्युज पाए । तर, यस वर्ष सार्वजनिक तीज गीतहरूको चर्चा भने विगतमा जस्तो देखिएन । अधिकांश तीज गीतले युट्युबमा राम्रो भ्युज पाउन सकेनन्, ‘झमझम झम्काना’बाहेक एकाध गीतलाई छाड्ने हो भने । 

यता, तीज विशेष कार्यक्रममा महिलाहरू नयाँ तीज गीतमा नाचेको पनि विरलै देखियो । ‘म तीज विशेष कार्यक्रमका सिलसिलामा धेरै ठाउँमा जाँदा स्रोता–दर्शकहरू पुरानै गीत बजाएर नाचेको, रमाएको पाएँ,’ गायिका राधिका हमालले भनिन्, ‘यस वर्षका तीज गीतहरू विगतमा जस्तो रुचाइएको पाइएन ।’ 

कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठले पनि राधिकाले जस्तै अनुभव शेयर गरे ।

‘कतिपय तीज विशेष कार्यक्रममा निर्णायक बस्दा वा तीज विशेष कार्यक्रमहरूमा समावेश हुँदा नयाँ तीज गीतमा नाचेको देखिनँ,’ मंगलबार रौतहटमा रहेका उनले भने, ‘यतातिर पनि नयाँ तीज गीतहरू बजेको कमै सुनेँ । नयाँ तीज गीतमा नाचगान गरेको कमै देखेँ ।’ सदाबहार तीज गीत ‘तीजको रहर आयो बरिलै’, गत वर्षको तीज गीत ‘चरी जेलैमा’ लगायतका गीतहरूमा नै रमाएको देखिएको संगीतकर्मीहरू सुनाउँछन् । 

संख्या पनि आधा कम

तीज गीतको चर्चा मात्र होइन, यस वर्ष तीज गीतहरूको संख्यामा नै कमी देखियो । राधिकाले गत वर्ष १२ वटा तीज गीतमा स्वर दिएकी थिइन् । यस वर्ष भने त्यो संख्या ३ वटामा झर्‍यो । २ वटा अरूको गीतमा स्वर दिइन् भने एउटा आफ्नै प्रस्तुति थियो । गत वर्षको तुलनामा यस वर्ष गायिका शर्मिला गुरुङले स्वर दिएका तीज गीतहरू पनि कम आए । ‘गत वर्ष ९/१० वटा तीज गीत गाएकी थिएँ । यस वर्ष मेरो स्वरमा ६ वटामात्र तीज गीत आए,’ शर्मिलाले भनिन् । 

राधिका र शर्मिलाका तीज गीतहरू मात्रै कम आएको होइन, गत वर्षको तुलनामा यस वर्ष समग्रमै तीजका गीतहरू निकै कम रेकर्डिङ र सार्वजनिक भएका हुन् । ठ्याक्कै कतिले कमी आयो भन्ने डाटा नभएपनि ५० प्रतिशतसम्म कमी आएको सरोकारवालाहरू बताउँछन् । ‘अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष झण्डै आधा नै कम देखियो,’ शर्मिला भन्छिन् । 

कोरोनाको ‘साइड इफेक्ट’, लगानीको प्रतिफल नआउनु

तीज गीतहरूको संख्या घट्नुलाई कोरोनाको ‘साइड इफेक्ट’का रूपमा पनि हेरिएको छ । त्यसमाथि विगतमा गरिएको लगानीको प्रतिफल नआउँदा पनि यस वर्ष तीजका गीतहरूमा पहिलेजस्तो आकर्षण नदेखिएको कतिपयको भनाइ छ ।  

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं गीतकार समेत रहेका रमेश बिजी कोरोना शुरू भएदेखि नै कलाकारहरूको आयस्रोत गुमेको, त्यसमाथि गीत संगीतमा गरिएको लगानी युट्युबबाट उठ्ने वातावरण नरहेको हुँदा यस वर्ष तीज गीतमा आकर्षण कम देखिएको हुन सक्ने प्रतिक्रिया दिन्छन् । 

‘कोरोनादेखि नै आर्थिक अवस्था कमजोर हुँदै गएको हो । गीत कमी हुनुमा देशको आर्थिक अवस्था, कलाकारको आर्थिक आय लगायतका भूमिका छ,’ बिजीको भनाइ छ ।

उनी अगाडि भन्छन्, ‘भिडियोसहित गीत ल्याउँदा ३/४ लाख रुपैयाँ लगानी लाग्छ । अहिले गीतको प्लेटफर्म युट्युब मात्रै रहेको अवस्थामा त्यसबाट लगानी उठ्ने सम्भावना कमै छ । सोहीकारण लगानीकर्ताहरू रिस्क लिनबाट पछि हटेका हुन् ।’ विगतमा रहरले लगानी गर्नेहरू पनि धेरै हुने तर अहिले त्यस्ता लगानीकर्ताहरूबाट तीज गीत कमै आएको उनको बुझाइ छ । उनी तीजका मात्र नभएर समग्र गीतहरूमा नै कमी भएको बताउँछन् । 

थुप्रै हिट तीज गीत दिएका म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट भन्छन्, ‘पहिले–पहिले धेरैले तीजका गीत रहरले गर्थे । अहिले रहरले लगानी गर्नेहरू देखिएनन् । व्यावसायिक कलाकारले कार्यक्रम आउला भनेर मात्रै तीज गीत गरेको देखियो । सोही कारण तीज गीत कम आए ।’ 

कम विवादित

विगतमा तीजका गीतलाई लिएर विवादहरू समेत उत्तिकै हुन्थे । तर, यस वर्ष विवादमा पनि कमी देखियो । तीज गीतलाई लिएर यस वर्ष एउटा मात्रै विवाद देखियो ।  

शिव हमालको शब्द, सुशीला पाठकको स्वर रहेको तीज गीत ‘पापाकी परी’ शब्द र दृश्यका कारण विवादमा परेको थियो । पछि उक्त गीतको विवादित दृश्य र शब्दसमेत सम्पादन गरियो । 

यो बाहेक अरू विवादहरू यस वर्ष देखिएनन् । विगतमा तीज गीतलाई लिएर विवादमा आउने गायक दुर्गेश थापा यस वर्ष कुनै विवादमा परेनन् ।

यस वर्ष तुलनात्मक रूपमा अपाच्य शब्द र दृश्य भएका गीतहरू पनि गत वर्षभन्दा कमै आएको लोक तथा दोहोरी गीत प्रतिष्ठानको भनाइ छ । 

वास्तविक तीज गीत कम

तीजलाई लक्षित गरेर सार्वजनिक हुने गरे पनि धेरै गीतहरू तीज गीत नै नभएको कतिपय बताउँछन् । लोकदोहोरी र रत्यौली खालका गीतहरूलाई पनि तीजको सिजनमा ‘तीज गीत’ भनेर सार्वजनिक गर्ने गरिएको छ । 

तीज गीतको आफ्नै मौलिक भाका र शब्द हुने तथा छुट्टै पहिचान बोकेको हुने भए पनि धेरैले हरेक गीतलाई तीज गीत भनेर सार्वजनिक गर्ने गरेका हुन् । 

गीतकार एवं गायक राजकुमार बगरले आफूले वास्तविक तीज गीत कमै देखेको बताए । ‘आएकामध्ये १५ प्रतिशत मात्रै वास्तविक तीज गीत होलान् । अरू तीजको समय पारेर सार्वजनिक गरेका दोहोरी एवं रत्यौली गीतहरू हुन्,’ बगरले भने । 

अग्रज संगीतकार एवं निर्देशक नारायण रायमाझी पनि पछिल्ला वर्ष तीजको मर्म बोकेका गीतहरू कमै आउने गरेको र आएका गीतहरू पनि अरू गीतको ओझेलमा पर्ने विडम्बना रहेको बताउँछन् । 

मौलिक गीतलाई भ्युजको खडेरी

तीजको वास्तविक मर्म बोकेका मौलिक गीतहरूलाई भने सधैँ भ्युजको खडेरी देखिँदै आएको छ । यस वर्ष पनि मौलिक तीज गीतहरूले युट्युबमा भ्युजको खडेरी सामना गर्नुपर्‍यो ।

हरिदेवी कोइरालाको ‘यो घरमा लच्छिन छैन’ जस्तो मौलिक तीज गीतको भ्युज मात्र २ हजार आसपास छ । शर्मिला गुरुङको तीज गीत ‘रानी’को अवस्था त्यस्तै दयनीय देखियो । यस गीतले पनि युट्युबमा राम्रो भ्युज पाउन सकेन ।

अग्रज लोकगायक बमबहादुर कार्कीको शब्द एवं संगीतमा शिवा आले कार्कीको तीज गीत ‘बामरी’को भ्युज पनि एकदमै न्यून छ । यस्ता तीजको मौलिकता बोकेका अन्य गीतहरूको भ्युज पनि कम देखिएको छ । 

लयमा फर्किएका कलाकार, पशुपतिदेखि सिन्धुसम्म देशबाहिर

कोरोनाका कारण दुई वर्ष ठप्प देखिएका तीज महोत्सव यस वर्षबाट भने सुचारु भए । जसका कारण तीज गीतमा चलेका गायक/गायिकाहरू तीजको महिना दिन अघिदेखि देश–विदेशमा आयोजित तीज विशेष कार्यक्रममा व्यस्त भए । 

आज तीजको दिन चलेका गायक/गायिकामध्ये धेरै त विदेशका तीज विशेष कार्यक्रममा व्यस्त छन् । गायक पशुपति शर्मा, बद्री पंगेनी, गायिका शर्मिला गुरुङ, सम्झना भण्डारी यतिबेला जापानमा छन् । 

अर्का गायक खुमन अधिकारी तीज विशेष कार्यक्रमका लागि दिल्ली पुगेका छन् भने गायिका सुनिता दुलालले अस्ट्रेलियामा रहेका नेपालीहरूसँग तीज मनाउँदैछिन् । 

अर्की गायिका सिन्धु मल्लको तीज भारतको गोवामा बित्दै गर्दा शान्तीश्री परियार दुबईमा तीज मनाउँदै छिन् ।

गायिका राधिका हमालले भनिन्, ‘यस वर्षदेखि तीज विशेष सांगीतिक कार्यक्रमहरू लयमा फर्किएको छ । लोकदोहोरीमा चलेका धेरै गायक/गायिकाहरू यतिबेला विदेशमा हुनुहुन्छ ।

नेपालमा हुनुभएकाहरू केही दिनयता एकैदिन २/३ वटा कार्यक्रमहरूमा समेत सहभागी हुनुभयो ।’

salt training

कमेन्ट गर्नुहोस्