२७ जेठ २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन, सेनाबाट हतियार सापटी लिएर काम चलाउँदै प्रहरी

मंसिर २, २०७९
चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन, सेनाबाट हतियार सापटी लिएर काम चलाउँदै प्रहरी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा निकायले जनाएका छन् । 

२ दिन पछाडि अर्थात् ४ गते हुने निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षात्मक तयारीका सबै काम पूरा भएको जनाएका हुन् ।

नेपाली सेनाले निर्वाचनका लागि ७५ हजार सैनिकहरू खटाएको जंगी अड्डाले जनाएको छ ।

सैनिक प्रवक्ता सहायक–रथी नारायण सिलवालका अनुसार मतपत्र छपाइदेखि हवाइ गस्तीसम्म गरेर ७५ हजार सैनिक यो चुनावका लागि प्रत्यक्ष रूपमा खटिएका हुन् ।

‘७७ वटै जिल्लामा एकीकृत सुरक्षा योजनामा खटिने सैनिक, मतपत्र छपाइको समयमा खटिएका सैनिक, एयरफोर्स लगायतमा खटिएका सैनिक र विमानस्थल सुरक्षामा खटिएका सैनिक पनि यो ७५ हजारमै पर्छन्,’ सिलवालले लोकान्तरसँग भने ।

सेनाले तेस्रो घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेछ ।  

यस्तै नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी र ७१ हजार ६९३ प्रहरी कर्मचारी सुरक्षाका लागि खटाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सुरक्षाका लागि प्रहरीले देशका ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी र म्यादी प्रहरी परिचालन गरेको बताए । 

मतदानस्थलसहित सम्पूर्ण सुरक्षाका लागि प्रहरीले सबै काम पूरा गरेको डीआईजी राईले बताए । 

प्रहरीले निर्वाचन सुरक्षाका लागि सरकारबाट बजेट पाएका १ सय ८०, अनुदानमा पाएका ५० र भाडामा रहेका १ हजार ४ सय गरी १ हजार ६३० वटाभन्दा धेरै सवारी साधनहरू परिचालन गरेको प्रवक्ता राईले बताए ।

उनका अनुसार आवश्यकताका आधारमा ती सवारी ७७ वटै जिल्लामा वितरण गरिएको छ ।

प्रहरीले यसपालि सञ्चारका साधन खरिद नगरेर भएका सञ्चार सेटबाट र निर्वाचनमा खटिएका कमान्डरको मोबाइलबाट सूचना आदानप्रदान गर्न लागेको छ ।

‘हामीले अहिले निर्वाचनमा खटिएका कमान्डारको मोबाइलमा पैसा राखेर सूचना तथा सञ्चारका लागि व्यवस्था गरेका छौं,’ प्रवक्ता राईले लोकान्तरसँग भने । 

उनका अनुसार मोबाइल नलाग्ने विकट क्षेत्रमा प्रहरीसँग भएको वाकीटकी र स्याटेलाइट मोबाइलको प्रयोग गरेर सञ्चार आदानप्रदान गर्न लागिएको छ ।

प्रहरीसँग अहिले ३२ वटा स्याटेलाइट फोन रहेको र ती सबै प्रयोग गरेको प्रवक्ता राईले बताए । प्रहरीले यसपालि पनि निर्वाचनमा आवश्यक पर्ने हतियार नेपाली सेनाबाट सापटी लिएर काम चलाएको छ । 

निर्वाचनमा खटिने अधिकृतहरूका लागि साना हतियार अपुग हुने भएपछि सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता हुने गरी) लिएर काम चलाइएको हो ।

स्थानीय तह निर्वाचनमा प्रहरीले हतियार सापटी लिएर काम चलाएको थियो । प्रहरीले लामो समयदेखि हतियार खरिद गर्न सकेको छैन । हतियार खरिदमा विवाद आएपछि खरिद प्रक्रिया रोकिएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार मागेको थियो । सेनाले झन्डै २ हजार ५ सय साना हतियार उपलब्ध गराएको छ ।

यस्तै सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षाका लागि खटिएको छ ।

निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेको सशस्त्र प्रहरीले निर्वाचनका लागि ३४ हजार ८३८ जना खटाएको सशस्त्रका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

‘हामीले सबै प्रक्रिया पूरा गरेर डिप्लोएड गरिसकेका छौं,’ प्रवक्ता थापाले लोकान्तरसँग भने । 

सशस्त्रले ७७ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रहरी परिचालन गरेको छ । 

निर्वाचनका लागि छुट्ट्याएको बजेटबाट ६० वटा खरिद, ४० वटा अनुदान र १ हजार १७१ वटा भाडामा लिएर सवारी साधन परिचालन गरेको प्रवक्ता थापाले बताए ।

सशस्त्र प्रहरीले निर्वाचन अवधिका लागि नेपाल–भारत र नेपाल–चीनका सीमा नाकाहरूमा आवतजावत बन्द गर्ने काममा पनि सहजीकरण गरिरहेको छ । 

निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टाका लागि नाका बन्द गरेको प्रवक्ता थापाले बताए । ‘हामीले अत्यावश्यक बिरामीबाहेक अन्यलाई सीमा नाकाबाट आउजाउ गर्न दिएका छैनौं,’ प्रवक्ता थापाले भने ।

उनका अनुसार बिरामी भएका व्यक्तिहरू पनि अनुमति लिएर मात्र नेपाल प्रवेश र नेपालबाट बाहिर जान पाउने छन् । अन्यलाई भने रोक लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्