तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ ।
धरहराको स्तम्भ ठडिए पनि ‘युटिलिटी ब्लक’ बनाउन बाँकी रहेका कारण समग्र भौतिक प्रगति ८० प्रतिशतमा सीमित छ ।
ट्रिपल बेसमेन्ट, ३ तलाको पार्किङ स्पेस, अगाडिपट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा म्युजियम बनाउने लगायत काममा पनि खासै प्रगति भइरहेको देखिँदैन ।

समग्र भौतिक प्रगति ८० प्रतिशत र खर्च ६१ प्रतिशत भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का कायममुकायम आयोजना निर्देशक कोषनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
जीआईईटीसी एन्ड रमन जेभीले ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने गरी धरहराको ठेक्का पाएको थियो भने त्यसको लागत अझै बढ्न सक्ने जानकारी आयोजना निर्देशक अधिकारीले दिए ।
विभिन्न कारणले गर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको अधिकारीको भनाइ छ । ‘धरहरा सँगैको जग्गामा ‘युटिलिटी ब्लक’ बनाउने सिलसिलामा त्यहाँ खन्ने क्रममा दूरसञ्चारका तार, विद्युत्का तार, खानेपानीका पाइप भएकाले धरहरा वरिपरिका करीब १८ हजार स्थानीय बासिन्दा प्रभावित हुन पुग्ने देखिएकाले हामीले धरहरानजिकै त्यसलाई सारेर काम गर्दा अहिले धरहरा वरिपरि निर्माणको काम भइरहेको छ । धरहरा वरिपरि निर्माण कार्यले गर्दा त्यहाँ हिँड्न सकिने अवस्था छैन, जसका कारण सर्वसाधारणमा सुरक्षा जोखिम पर्ने देखिएकाले धरहरा खोल्न नसकिएको हो,’ उनले भने ।

‘स्थानीयले सुन्धारामा टुँडिखेलबाट सय वर्ष अगाडि जस्तै नै प्राकृतिक तरिकाले पानी झार्ने शर्त अगाडि सारेकाले पनि काममा ढिलाइ हुन गइरहेको छ,’ उनले गुनासो पोख्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘हुलाक कार्यालयको जग्गा प्राप्ति, सञ्चय कोषसँग जग्गा सट्टापट्टा आदि कामले पनि गति लिन नसक्दा काममा ढिलाइ भएको हो ।’
पहिले धरहरा पुनर्निर्माणको काम जम्मा ५ रोपनी क्षेत्रफलमा गर्ने भनेर अगाडि बढेकोमा अहिले धेरै कुरा विस्तार भएर ४२ रोपनी क्षेत्रफल पुगेको निर्देशक अधिकारीले जानकारी दिए ।
हेर्नुहोस्, भिडियो :