नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरेको हो । यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको छ ।
चार परिच्छेदमा संरचित पुस्तकको पहिलो खण्डमा मनोविज्ञानको सैद्धान्तिक अवधारणा दिइएको छ । यसै खण्डमा मनोविज्ञानका क्षेत्रमा देखा परेका विभिन्न सम्प्रदायहरूको परिचयसमेत दिएको छ । कृतिमा मनोविज्ञानका सामान्य र असामान्य दुवै धारको विस्तृत वर्णन गरिएको छ । असामान्य मनोविज्ञानका हरेक पक्षको सटिक विश्लेषण गरिएकाले मनोविज्ञानमा रुचि राख्ने पाठकका लागि यो कृति राम्रो स्रोत सामग्री बनेको छ । मनोविज्ञानका आधुनिक सिद्धान्तका कसीमा नेपाली कथा विश्लेषणका आधारहरूसमेत निर्माण गरिएको छ ।
दोस्रो परिच्छेदमा नेपाली कथामा मनोविज्ञानको निरूपण गरिएको छ । यसै खण्डमा नेपाली कथाको समकालीनताअन्तर्गत समकालीन नेपाली कथाको समयावधि निर्धारण गरिएको छ । कृतिको तेस्रो परिच्छेद नमुनाको अध्ययन गरी प्रवृत्तिगत रूपमा प्रतिनिधित्व गर्ने कथाकारहरूका कथाका सामान्य र असामान्य मनोविज्ञानका पक्षहरूमाथि गहन अध्ययन गरिएको छ ।
चौथो परिच्छेद पुस्तकको निष्कर्ष र सारांशका रूपमा रहेको छ । कृतिहरूको अध्ययनपछि प्राप्त भएको निष्कर्ष र नेपाली साहित्यमा देखा परेको मनोवैज्ञानिक प्रवृत्तिको सूक्ष्म विश्लेषण यस खण्डमा गरिएको छ । परम्परागत रूपमा गरिँदै आएको अध्ययनभन्दा यस किताबमा फरक किसिमले कथाको विश्लेषण गरिएको कुरा उपकुलपति डा जगमान गुरुङले प्रकाशकीयमा व्यक्त गरेका छन् । भुसालका मनोवैज्ञानिक लेखरचना विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । उनले गत वर्ष मात्रै बालबालिकासँग कस्तो व्यवहार गर्ने ? शीर्षकको पुस्तक पनि प्रकाशन गरेका थिए ।