०५ साउन २०८३, मंगलबार
उपनिर्वाचन विशेष

ग्राउन्ड जिरो बारा- २ : सारा शक्ति लगाउँदा पनि उपेन्द्रलाई अझै धरमर !

बैशाख ६, २०८०
ग्राउन्ड जिरो बारा- २ : सारा शक्ति लगाउँदा पनि उपेन्द्रलाई अझै धरमर !

बाराको सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालयको छेउमै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको चार तल्ले आलिसान महल छ ।

उक्त महलमा मुख्यमन्त्री सरोज यादवको सम्पर्क कार्यालयको ब्यानर समेत झुन्ड्याइएको छ ।

तल मुख्यमन्त्री यादवले चढ्ने गरेको ज १ झ ४५६ नम्बरको सरकारी गाडी झण्डा छोपेर पार्क गरी राखिएको छ ।

null

घरको पूर्वतर्फ रहेको गल्लीमा उनको स्कर्टिङमा रहेको नेपाली सेनाको प्रदेश-२-०२-००१ झ ००४४ नम्बरको खाली गाडी पनि पार्क गरेर राखिएको छ । नेपाली सेनाको गाडी पनि खाली छ ।

लोकान्तरकर्मी वैशाख ३ गते दिनको २ बजे त्यहाँ पुग्दा उक्त घर खालीजस्तै थियो । त्यहाँ भेटिएका एक स्थानीयले मुख्यमन्त्री यादव चुनाव प्रचारमा गएको जानकारी दिए ।

मुख्यमन्त्री यादवको घर

'निजी नम्बर प्लेटमा सादा पोशाकको 'पीएसओ' लिएर मुख्यमन्त्रीजी चुनाव प्रचार प्रसारमा जानुभएको हुनाले अहिले सरकारी गाडी र नेपाली सेनाको गाडी पार्क गरिएको छ,' ती स्थानीयले लोकान्तरसँग भने, 'वास्तवमा भन्ने हो भने उपेन्द्रजीलाई जिताउनका लागि मुख्यमन्त्रीजीले आफ्नो पूरा ताकत नै लगाउनुभएको छ । जसपाको तर्फबाट उहाँ अहिले मुख्य कमान्डर नै हो ।'

वैशाख ४ गते बिहान ६ बजे त्यही भवनमा लोकान्तरकर्मी पुग्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू उक्त घरबाहिर देखिएका  थिए । स्थानीयले दिएको जानकारीअनुसार त्यहाँ हरेक दिन बिहान मधेश प्रदेशसहित अन्य प्रदेशबाट समेत जनता समाजवादी पार्टीका सांसदहरू, नेता, कार्यकर्तादेखि मधेश प्रदेश सरकारका मन्त्रीहरूको मेला नै लाग्ने गर्छ ।

त्यसबाहेक त्यो भीडमा नेपाली कांग्रेस बाराका सांसददेखि जिल्ला र स्थानीय तहसम्मका नेता, कार्यकर्ता, लोकतान्त्रिक समाजवादी पार्टीका नेतासहित पाँचदलीय गठबन्धनमा आबद्ध भएका नेताहरू समेत पुग्ने गरेका छन् ।

nullकारण हो, बारा-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव त्यही घरमा बस्नु । मुख्यमन्त्री यादवको निजी निवासमा उपेन्द्रको अस्थायी बसोबास छ ।

त्यही निवासमा उपेन्द्रले देशभरबाट आउने आगन्तुकलाई भेट गर्नेदेखि चुनावी रणनीति बनाउने गरेका छन् । बारा- २ उपेन्द्रका लागि पनि नयाँ ठाउँ भएका कारण उनले सबैलाई नचिन्ने हुनाले स्थानीय नेताहरू तथा कार्यकर्ताहरू बिहान क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई लिएर उपेन्द्रलाई चिनाउन त्यहाँ पुग्ने गर्छन् ।

त्यसबाहेक मधेश प्रदेशदेखि अन्य प्रदेशबाट आएका नेताहरूले कम्तीमा पनि अध्यक्षले आफूलाई देखोस् भनेर एकपटक अनुहार देखाउन पनि त्यहाँ पुग्ने गर्छन् ।

उम्मेदवारी मनोनयन दर्ता भएकै दिनदेखि त्यहाँ विभिन्न पार्टीका नेता, कार्यकर्तादेखि संघ सरकारका मन्त्री, मधेश प्रदेश सरकारका मन्त्रीहरू उपस्थित हुने गरेका छन् ।

नेताहरू कलैयाका विभिन्न होटलदेखि वीरगञ्जका होटलसम्म बास बसेका छन् । चुनावी घरदैलोमा नेताहरूको भीड र गाडीको जाम नै हुने गरेको छ ।

nullहरेक दिन बिहान ८ बजे घरदैलोका लागि उपेन्द्रको गाडीमा निस्किएपछि मात्र  मुख्यमन्त्रीको उक्त घर खाली हुन्छ । राति ८ बजेदेखि १० बजेसम्म फेरि उपेन्द्र फर्किने गर्छन् ।

२०७९ मंसिरमा त्यस क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए ।

उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा अहिले उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी स्वतन्त्रबाट लोकतान्त्रिक समाजवादी पार्टीका बागी उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए ।

उनी मुख्यमन्त्री सरोज यादवका भाइ हुन् । अहिले उनी पनि जसपामा आइसकेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत ल्याएका थिए । उनी यसपटक उम्मेदवार छैनन् । उनलाई पनि उपेन्द्रले जसपामा प्रवेश गराइसकेका छन् ।

पार्टीभित्रको असन्तुष्टिलाई मिलाउन उनले पहिलेदेखि नै गृहकार्य गर्दै आएका थिए । सोही क्षेत्रबाट मधेश प्रदेश सभामा बारा-२(१)मा जितेका स्वतन्त्र सांसद शारदा शंकर प्रसाद कलवारलाई जसपामा प्रवेश गराएका छन् । ९ हजार २९५ मत ल्याएर उनी निर्वाचित भएका थिए ।

प्रदेशसभाका लागि अर्को क्षेत्रमा भने जसपाका बच्चु यादव अहिर नै निर्वाचित छन् । उनले १० हजार ३३३२ मत ल्याएका थिए । निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले ८ हजार ९३९ मत ल्याएका थिए । उनी पनि अहिले उपेन्द्रको प्रचार प्रसारमा संलग्न छन् ।

त्यसबाहेक मुस्लिम मतदातालाई उपेन्द्रको पक्षमा ल्याउनका लागि पूर्व मुख्यमन्त्री लालबाबु राउत सक्रिय भएका छन् भने वैश्य जातिलाई आफ्नो पक्षमा तान्नका लागि कलैयाका नेता प्रमोद गुप्तादेखि लोसपाका सांसद जितेन्द्र सोनललाई परिचालन गरिएको छ । सोनललाई त लोसपाले कमान्डर नै बनाएको छ ।

null

वैशाख ४ गते घरदैलो क्रममा बबुआइनमा खाजा खाइरहेको  अवस्थामा भेटिएका उपेन्द्र यादव नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमाकान्त चौधरी, पर्साका सांसद अजय चौरसिया, बाराका जिल्ला सभापति राजेश यादवसँगै बसेर खाजा खाइरहेका थिए । दुई दिनअघि मात्र पूर्व गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री महेन्द्र यादव समेत पुगेर घरदैलोमा सहभागी भएका थिए ।

पाँचदलीय गठबन्धन भए पनि उक्त क्षेत्रमा संगठनको आधारमा नेपाली कांग्रेस सबैभन्दा बलियो  रहेकाले उपेन्द्रले कांग्रेसका स्थानीयदेखि केन्द्रीय नेताहरूलाई घरदैलोमा लग्ने गरेका छन् । त्यसपछि गठबन्धनको घटकमध्ये लोकतान्त्रिक समाजवादी पार्टीको प्रभाव देखिन्छ ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको यस क्षेत्रमा खासै प्रभाव देखिँदैन । नेकपा माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहा नै मुख्य नेता थिए । तर, उनी नै जनमत पार्टीमा प्रवेश गरेर अहिले जनमतबाट नै उम्मेदवार बनेपछि माओवादीको संगठन नाम मात्रको रहेको स्थानीयहरू बताउँछन् ।

null

गठबन्धन भएपनि भोट ट्रान्सफर हुने सम्भावना कम देखिन्छ । बारा कांग्रेसका एक प्रभावशाली नेताका अनुसार कांग्रेसभित्र ३ वटा गुट छन् । एउटा गुटले उपेन्द्रलाई सहयोग गर्‍यो  भने अर्को गुटले जनमत पार्टीलाई सहयोग गर्ने पक्कापक्की रहेको ती नेताले बताए । 'जिल्ला सभापति राजेश राय यादवको एउटा टीम छ भने उपसभापति मनोज भट्टको नेतृत्वमा सचिवद्वय राजेश रौनियार र भैयाराम यादवको अर्कै टीम छ,' ती नेताले लोकान्तरसँग भने, 'दुईमध्ये एउटा टीमले मात्र उपेन्द्रजीलाई सहयोग गर्छ ।'

सहमहामन्त्री फरमुल्लाह मन्सुर कांग्रेसको संस्थापन खेमाकै भएपनि उनी अहिलेसम्म चुनाव प्रचारप्रसारमा नदेखिएको उनले बताए । मुस्लिम मतदातामा राम्रो पकड रहेका मन्सुर नदेखिनुले पनि कांग्रेसको पूर्ण सहयोग नहुने संकेत देखिएको उनको विश्लेषण छ ।

त्यसबाहेक जसपामै पनि नेताहरू भित्री मनबाट सन्तुष्ट नदेखिएको जसपा बाराका एक नेताले बताए ।

'मधेश प्रदेश अध्यक्ष रामबाबु यादव उम्मेदवारी मनोनयनदेखि नै सक्रिय हुनुहुन्थ्यो । तर, प्रमोद गुप्तालाई उपेन्द्रजीले बढी भाउ दिएपछि यादव नामका लागि मात्र सक्रिय हुनुहुन्छ,' ती नेताले भने ।

जसपाका १ दर्जन जति असन्तुष्टहरूलाई राष्ट्रिय सभामा लाने भनेर उपेन्द्रले आश्वासन दिएको उनले बताए ।

रास्वपा उम्मेदवार रमेश खरेलको ब्यानर

कांग्रेस होस् वा जसपा, कुनै पनि नेता भित्री मनदेखि उपेन्द्र जितुन् भनेर सक्रिय नभएको उनले बताए ।

'उपेन्द्रजी जित्नुभयो भने आफ्नो वर्चस्व नै सकिने, कहिल्यै उम्मेदवार नै बन्न नसक्ने सोचका साथ कांग्रेसदेखि जसपाका नेताहरू भित्री मनदेखि सक्रिय देखिँदैनन्,' ती नेताले थपे, 'घुम्नका लागि त उहाँहरू उपेन्द्रजीको साथसाथै घुमिरहनु भएको छ । तर, त्यो देखावटी मात्र हो ।'

गठबन्धलाई एकजुट राख्नका लागि उपेन्द्रले पाँच दलका शीर्ष नेताहरूसहितको संयुक्त आमासभा गढीमाईमा राखेका छन् । वैशाख ७ गते हुने आमसभामा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा वैशाख ६ गते नै बारा आउने कार्यक्रम तय भएको जसपाका अर्का एक नेताले बताए ।

'देउवाजी पनि ७ गते नै आउने भन्नुभएको थियो । तर, कांग्रेसभित्रको असन्तुष्टिलाई मिलाउन एक रात यहाँ बस्ने पर्ने भनेर उपेन्द्रजीले जोड दिएपछि देउवाजी एक दिनअघि नै आउन लाग्नुभएको हो,' ती नेताले भने ।

भएभरको शक्ति लगाए उपेन्द्रले आफ्नो पक्षमा सोचेजस्तो माहोल बनाउन सकेका छैनन् । गठबन्धनको मत सुरक्षित गर्नु नै उनका लागि ठूलो चुनौती देखिन्छ ।

null

जसपा अध्यक्ष यादवलाई जनमत पार्टीका उम्मेदवार कुशवाहाले सबैभन्दा नजिकबाट चुनौती दिइरहेको स्थानीयको विश्लेषण छ । कुशवाहालाई जिताउन जनमत अध्यक्ष सीके राउत दिनरात नभनी खटेका छन् । राउत तिनै हुन्, जसले उपेन्द्रलाई सप्तरी २ मा पराजित गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्