
माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ ।
माछाको टाउकोमा धेरै पोषक तत्वहरू पाइन्छन् । माछाको टाउकोबाट धेरै परिकार बन्छ पनि । माछाको टाउकोले अन्य शरीरको अंगभन्दा छुट्टै र बलियो खालको स्वाद दिन्छ । माछाको टाउकाको परिकार मन पराउने पारखीहरू धेरै हुन्छन् ।
महिलाभन्दा पनि पुरुषले बढी मन पराउने माछाको टाउको महिलाले खान हुन्न भन्ने पनि चलन छ तर यसमा कुनै सत्यता छैन । कति मान्छेहरूले सोच्छन् कि माछाको टाउको विषाक्त पदार्थले भरिएको हुन्छ तर यो गलत हो । माछाको टाउकोमा प्रोटिन, ओमेगा–३, फ्याटी एसिड र अन्य पोषक तत्वले भरिपूर्ण हुन्छ । सही तरिकाबाट पकाउनुभयो भने माछाको टाउको स्वस्थ आहारको रमाइलो र रोचक खुराक हो । टाउको खादा यसको आँखा र दिमागमा अलि होसियारी अपनाउनुपर्छ । किनकि यी अंगहरूमा हाम्रो शरीरलाई हानि पुर्याउने विषाक्त पनि हुनसक्छ ।
माछाको टाउकोमा पर्याप्त मात्रामा ओमेगा–३ पाइने हुँदा हाम्रो स्नायुलाई फाइदा पुग्ने र स्मरणशक्ति बढ्ने हुँदा नियमित खादा फाइदा पुर्याउँछ । भिटामिन ‘ई’ पनि पर्याप्त पाइन्छ माछाको टाउकोमा । कतिले माछाको टाउको खान रुचाउँदैनन् तर विकसित देशमा यसको उपयोगिता धेरै छ भन्ने बुझेरै हुनसक्छ, विविध परिकार पकाएर पस्किने गरिन्छ । नेपालमा माछाको टाउको तारेर मात्र खाने चलन छ तर अन्य देशमा यसलाई पानीमा उमालेर सुप या स्टु बनाई खाइन्छ ।
ब्रेनको कार्यक्षमतामा बढवा दिन माछाको टाउकोले धेरै महत्त्व दिने र खादा चिल्लो जस्तो अनुभव भए तापनि अन्य तेल जस्तो माछाबाट प्राकृतिक रूपमा आउने तेलले कुनै हानि पुर्याउँदैन । माछाको टाउकोमा क्याल्सियम, फस्फोरस, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम र पोटासियम जस्ता खनिजहरू पाइन्छ ।
माछाको टाउको कसरी खाने ? के–के परिकार बनाउन सकिन्छ ?
माछाको टाउको भारतीयहरूले निकै मन पराउँछन्, त्यसमा पनि कलकत्तामा त यसको कैयौ परिकार बन्छ । गोवा, केरला र अन्य साउथ इन्डियन राज्यमा माछाको टाउकोको परिकार निकै लोकप्रिय छन् । युरोपियन र अमेरिकन देशहरूमा पनि माछाको टाउकाको स्टु, सुप, स्टक, सस बनाउन रुचाउँछन् । चाइनिज, जापानिज र थाइहरूले पनि माछाको टाउकोको परिकारलाई निकै महत्त्वका साथ विविध परिकार बनाएर पस्किन्छन् ।
नेपालमा खसी र राँगाको टाउकोका कैयौ परिकार बनाए जस्तै यी देशहरूले माछाको टाउकाको महत्त्व बुझेका छन् र परिकारमा पनि विविधता ल्याएका छन् । नेपालको तराई भेगमा माछालाई महत्त्व बढी दिएर परिकारमा पनि विविधता दिएका छन् । ससुराली आएका ज्वाइँलाई माछाको टाउकाको परिकार नपस्किने भान्सा अधुरो रहन्छ ।
बेङ्गोलीहरूले मुङको दालमा माछाको टाउको हालेर पकाउँछन्, जसलाई मुरी घोन्टो भनिन्छ । यो परिकार निकै स्वादिष्ट हुन्छ । बास्मती राइस या रोटी जेसँग खाए पनि यो करी निकै मिल्ने हुँदा निकै लोकप्रिय छ । श्रीलंकनहरूले नरिवलको दूध हालेर पिरो करी बनाई माछाको टाउको खान्छन् । केरलाका मानिसले पालकमा माछाको टाउको मिसाएर पकाउँछन्, जसलाई मालाबार मछि करी भनिन्छ ।
माछाको टाउको लौकासँग मिसाएर पकाउँदा पनि राम्रो हुन्छ । गोवाकाले चिल्ली पेस्ट, नरिवल र करी पत्ता हाली माछाको टाउकाको करी बनाउँछन् । नेपालीहरूले सर्सुको पेस्ट हालेर माछाको टाउकाको करी बनाउँछन् र तेलमा तारेर पनि खाने चलन छ । भारतमा माछाको टाउकाको बिर्यानी पनि बनाउने पुरानो चलन छ ।
सिंगापुरियनहरूले इम्ली हालेर माछाको टाउकाको करी बनाएर पस्किन्छन् । चाइनिजहरूले रातो खुर्सानी चप गरेर माछाको टाउको उसिनेर खान रुचाउँछन् । मेक्सिकनहरूले माछाको टाउकाको पिरो सुप रुचाउँछन् । थाइहरूले लेमनग्रास, खुर्सानी, गालङगाल हालेर सुप, हटपट या करी बढी रुचाउँछन् । मलेसियनहरूले पनि माछाको टाउकाको करी या सुप नै बढी रुचाउँछन् ।