काठमाडौं, ९ फागुन – दश किलोमिटर सडक सुधारका लागि कति समय लाग्ला ? एक वर्ष वा बढीमा दुई वर्ष । तर राजधानी काठमाडौंको मध्यभागमा सञ्चालित आयोजना शुरु भएको चार वर्षमा आधा काम सम्पन्न गर्न पनि धौधौ परिरहेको छ ।
प्रसंग हो – उपत्यकाको चक्रपथ विस्तार आयोजना । चक्रपथको सुधारका लागि सन् २०१३ देखि थालिएको काम सन् २०१७ सम्म आइपुग्दा बल्लतल्ल ४८ प्रतिशत काम सम्पन्न भएको छ । चक्रपथअन्तर्गत पर्ने कलंकी–कोटेश्वर खण्डको सडक सुधारमा यति लामो समय लागेको हो ।
चक्रपथको ट्राफिक व्यवस्थापन गर्न ल्याइएको सुधार आयोजनाले प्रभावकारी रूपमा काम नगर्दा उपत्यकाको ट्राफिक व्यवस्था व्यवस्थापन नै गर्न नसकिनेगरी अस्तव्यस्त हुन थालेको छ ।
सरकारले सन् २०१२ मा चीनको शाङ्घाई कन्स्ट्रक्सन ग्रुपसँग चक्रपथ सुधारको काम अघि बढाउने गरी चीन सरकारसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार उक्त कम्पनीले २०१३ सेप्टेम्बरदेखि काम शुरु गरेको थियो ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको १० किलोमिटर ३९ मिटर दूरीको सडकको सुधार अघि बढाएको थियो । चीन सरकारको झण्डै ५ अर्ब रुपैयाँ (३ सय १२ मिलियन युआन) मा उक्त सडक खण्डको निर्माणको काम अघि बढाइएको थियो । पहिलो चरणमै अघि बढाइएको उक्त खण्डको सुधारको काम कछुवा गतिमा अघि बढेको छ ।
‘हालसम्म चक्रपथ सुधार आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत सम्पन्न भएको छ,’ आयोजना प्रमुख झाले लोकान्तरसँग भने ।
उक्त खण्डको सडक सुधार आयोजनाको अवधि गत जनवरीमै सकिएको हो । निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि उक्त आयोजनाको अवधि एक वर्ष थपेर आगामी सन् २०१८ जुलाई पु–याइएको छ । ‘गत वर्षको भूकम्प र नाकाबन्दीका कारण आयोजनाका काम प्रभावित हुँदा समयमै लक्ष्य हासिल गर्न सकिएन,’ उनले भने ।
के–के काम भए ?पहिलो चरणअन्तर्गत कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथको सडक र ट्राफिक व्यवस्थापनका लागि अहिले दु्रुत गतिमा काम भइरहेको आयोजना बताउँछ ।
हालसम्म मनोहरा, वाग्मती र बल्खुखोला र कलंकी गरी चार स्थानमा पुल निर्माण करीब अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । ती पुलको ९५ प्रतिशत काम सकिएको झाले बताए । त्यस्तै, कलंकी चोकमा गाडी गुड्न मिल्ने अन्डरपास निर्माणको आधा काम चालू आर्थिक वर्षमा सम्पन्न गरी आगामी आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य आयोजनाको छ ।
एकान्तकुनादेखि कोटेश्वरसम्मको करीब पाँच किलोमिटर दूरीका सडकको पिच गर्ने काम तीव्रगतिमा भइरहेको आयोजना बताउँछ । त्यस्तै, सडक आसपासका घरटहरा हटाउने, सडकपेटी, ढलनिकास, बिजुलीका पोल तथा टेलिफोनका तार व्यवस्थापन गर्ने लगायतका काम आयोजनाले अघि बढाएको छ ।
डेढ वर्षमा आधा काम कति सम्भव ?आयोजना प्रमुख झा थपिएको समयावधिमा बाँकी खण्डको काम सकिने दाबी गर्छन् । ‘आगामी २०१८ जुलाईसम्ममा काम थालिएको कलंकी–कोटेश्वर खण्डको सडक सुधारको काम सकिन्छ,’ उनले भने । विगतमा भूकम्प, नाकाबन्दी, स्थानीयको अवरोध लगायतका समस्याका कारण अपेक्षित काम गर्न नसकेको उनको भनाइ छ ।
‘सडक विस्तार, पुल निर्माण लगायतमा रहेका अनेकौं अवरोध कम भएका छन्,’ उनले भने, ‘बाँकी समयमा फटाफट काम अघि बढ्छ ।’ दु्रत गतिमा काम अघि बढाउन ठेकेदार कम्पनीबाट ‘वर्क सेड्युल’ समेत प्राप्त भइसकेको उनको दाबी छ ।
आयोजनाले आठ लेन पूर्ण चौडाइमा चक्रपथ विस्तार गर्न लागेको हो । यसअन्तर्गत बीचमा मूल मार्ग र दुईतिर १÷१ वटा सहायक मार्ग रहनेछन् । मूल मार्ग १५ मिटर, सात÷साढे सात मिटरमा दुईतिर शाखा मार्ग र पाँच÷पाँच मिटरको पहुँचमार्ग हुनेछन् । अन्य क्षेत्रमा भने पर्खाल र हरियाली बगैंचा हुनेछन् ।
विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमि चार लेनको चक्रपथ निर्माण भएको थियो ।
सडक विस्तारका कारण सर्वसाधारणलाई सास्तीआयोजनाले अहिले यो खण्डको दुवै साइडमा सडक विस्तार गरिरहेको छ । तर आयोजनाले व्यवस्थित रूपमा काम नगर्दा धूलोधूवाँ र प्रदूषण बढेको छ । आयोजनाको काम समयमै पूरा नहुँदा धूलोले हैरानी भएको सडक आसपासका स्थानीयले आक्रोश पोखेका छन् ।
सडकमा धूलो कम गर्नका लागि दैनिक तीन ट्याङ्कर पानी सडकमा ‘स्प्रे’ गर्ने भनिएपनि विभिन्न अवरोधका कारण पर्याप्त रूपमा काम गर्न नसकिएको आयोजनाको भनाइ छ ।
यो पनि पढ्नुहोस्
उफ् ! ज्यानमारा धूलो : ट्राफिक प्रहरी भन्छन् ‘हाम्रो त आयु नै घटिसक्यो’
ज्यानमारा धूलो: यसरी खाँदैछ काठमाडौंवासीलाई !