काठमाडौं–गत वैशाख १० गते नेकपाले जिल्ला तहको एकतालाई अन्तिम रूप दिँदा ९ केन्द्रीय सदस्य घटुवामा परेका थिए । अर्थात् उनीहरूलाई जिल्ला सचिवको जिम्मेवारी तोकिएको थियो ।
भागबण्डा मिलाउने क्रममा एमाले र माओवादी केन्द्र एकता हुनुअघिका जिल्ला अध्यक्षहरूलाई अध्यक्ष र सचिव बनाइएको थियो ।
पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीका सचिव र पूर्व माओवादी अध्यक्ष भएको जिल्लामा पूर्व एमालेका नेता सचिव बनेका थिए ।
यसरी भागबण्डा मिलाउँदा ९ जना केन्द्रीय सदस्यलाई सचिव बनाइयो । उनीहरूमध्ये अधिकांशले असन्तुष्टि जनाए । केहीले त पद नै अस्वीकार गरे ।
अन्तत: केही नेताले पार्टीको निर्देशनबमोजिम सचिव पदको शपथ समेत लिए । पहिले सचिव तोकिएका ४ नेतालाई नेकपाले जिल्ला इञ्चार्ज बनाएर पुरस्कृत गरेको छ ।
प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जम्कट्टेल धादिङ जिल्ला इञ्चार्ज बनेका छन् । उनी पहिले जिल्ला सचिव तोकिएका थिए ।
यसरी सचिव बनेर पनि इञ्चार्जमा बढुवा हुनेहरूमा डाचाराम वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट र जोगकुमार बर्बरिया यादव (श्रवण) धनुषा छन् ।
यसैगरी पहिले सचिव तोकिएका २ नेताले सह-इञ्चार्जको जिम्मेवारी पाएका छन् । दधिराम न्यौपानेलाई रुपन्देही र गोपी अछामीलाई मोरङमा सह-इञ्चार्ज तोकिएको हो ।
पहिले घटुवामा परेका काठमाडौंका हिमाल शर्मा, सिरहाका प्रमोद नारायण यादव र सिन्धुपाल्चोकका दावा तामाङको नाम भने नयाँ सूचीमा छैन ।
पढ्नुहोस्, यो पनि :
यी हुन् ७७ जिल्ला र ६ महानगरका नेकपा इञ्चार्ज तथा सह–इञ्चार्ज [सूचीसहित]
नेकपामा जिल्ला सह-इन्चार्जको संख्या अस्वाभाविक, कहीं १० कहीं शून्य !
लोकान्तर संवाददाता