ओलीमाथि घनश्यामको आरोप– 'असफलता लुकाउन राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाउनुभयो'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफ्नो असफलता लुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको आरोप लगाएका छन् । 

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले जनताको आन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गरिछाड्ने दाबी गरेका हुन् । 


Advertisement

‘असफलता लुकाउन राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाउनुभयो । दुईतिहाइको फिरौती मागेर जुन ताण्डव नाच्नुभएको छ, यो कसरी सम्भव हुन्छ ?’ भुसालले भने, ‘अहिले कसैले चुनावको अपेक्षा गरेका छन् भने केपी ओली आफैँलाई दुईतिहाइको ग्यारेन्टी नहुँदासम्म चुनाव हुने छैन । संविधान पानीमा भिजाएर चुनाव गरिनेवाला छैन ।’

अहिले चर्चामा रहेको सेटिङ शब्दको प्रसंग उप्काउँदै भुसालले अहिलेको न्यायालयले ओलीको पक्षमा फैसला नगर्ने बताए । 


Advertisement

‘२१औं शताब्दीको अदालतका न्यायाधीशहरूले सेटिङका कारण तपाईंको पक्षमा फैसला गर्छन् भन्ने लागेको छ भने तपाईं हार्नुहुन्छ कमरेड,’ भुसालले भने । 

भुसालले प्रतिनिधि सभा विघटन गरेपछि ओलीसँग साइबर सेना नामका स्यालहरूबाहेक केही नभएको टिप्पणी गरे ।

‘तपाईंसँग अब साइबर स्याल बाँकी छन्, त्यो भन्दा तपाईंसँग अर्को के छ ? आफूसँग रहेको ब्रम्हास्त्र संसद् विघटन गर्नुभयो । राष्ट्रपति संस्थालाई बन्धक र निजी सचिवालय जस्तो बनाउनुभएको छ,’ भुसालले भने । 

भुसालले नेकपालाई राज्य लुटेर खानेको पार्टी बनाउन किमार्थ नदिने दाबी गरे । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्