०८ साउन २०८३, शुक्रबार
स्वदेशमा अवसर नपाउनुको पीडा

कोरोना महामारी भुलेर गाउँ छाड्दै 'लाहुरे', गर्जो टार्न लालाबाला च्यापेर भारततिर !

साउन १३, २०७८
कोरोना महामारी भुलेर गाउँ छाड्दै 'लाहुरे', गर्जो टार्न लालाबाला च्यापेर भारततिर !

कैलालीको कैलारी गाउँपालिका–२ का विन्दु चौधरी धान रोपाइँ सकिएलगत्तै भारतको हिमाञ्चल प्रदेशस्थित सिमला हिँडे ।

कोरोना महामारीले जारी गरिएको लामो लकडाउनले बेरोजगार बनेका उनी धान रोपाइँपछि घरको गर्ज टार्न मुस्किल भएको भन्दै सिमलामा स्याउ टिप्न गएका हुन् ।

उनी मात्रै होइनन्, दर्जनौं युवा रोपाइँ सकिनेबित्तिकै स्याउ टिप्न सिमला गएका स्थानीय प्रितिमा चौधरी बताउँछिन् । धान रोपाइँसम्म जसोतसो घरपरिवारको गुजारा चलाएका उनीहरू धानबाली तयार नहुँदासम्मको लागि भारत गएका छन् ।

जेठभन्दा असारमा कोरोना संक्रमण घटेपछि र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदा भारत पस्नेहरूको ओइरो लागेको छ तर कोरोना महामारीको जोखिम सबैतिर व्याप्त छ ।

बेरोजगार भइ गाउँघरमै थुनुवा जस्तै बनेका सुदूरपश्चिमका बेरोजगार हजारौं युवाहरू निषेधाज्ञा खुकुलो भएसँगै रोजगारी खोज्न आफ्ना लालाबालासहित भारत पसिरहेका छन् ।

कञ्चनपुरको गौरीफन्टा नाका हुँदै भारतको दिल्ली जाँदै गरेका कञ्चनपुरका ललित भट्टले भने, ‘घर परिवार छाडेर परदेश जानु कसैको रहर होइन । महामारीको जोखिम, नजिकिएका चाडपर्व मनाउन नपाउनु, घरपरिवारसँग नबसी टाढा जानुपर्ने बाध्यता हो । रोगभन्दा भोकको चिन्ता छ ।’

कञ्चनपुरको महेन्द्रनगरका ललित भट्ट र जंगबहादुर धामी गौरीफन्टा नाका हुँदै सोमवार दिल्लीका लागि हिँडेका छन् । भट्ट र धामी पहिल्यैदेखि दिल्लीमा रोजगाररत छन् ।

भारतमा कोरोना महामारीले विकराल रूप लिएपछि उनी केही महिनाअघि स्वदेश फर्किएका थिए तर महामारीको प्रभाव केही कम हुँदै गएपछि पुनः भारत फर्किन लागेको उनीहरूले बताएका छन् ।

कोरोना महामारीको पहिलो लहर २०७७ वैशाखदेखि शुरू भएको थियो । पहिलो लहरले भारतमा विकराल रूप लिएपछि लाखौं नेपालीहरू फर्किएका थिए । तर बिस्तारै महामारीको प्रभाव घटेपछि स्वदेश फर्किएकाहरू पुनः भारत गए । दोस्रो लहरको प्रभाव पुनः २०७८ वैशाखदेखि बढेपछि नेपालीहरू भारतबाट फर्किए ।

तर हाल महामारीको प्रभाव सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा घटे पनि जोखिम उत्तिकै छ । रोजगारीका लागि जाने ठाउँ भारतमा पनि उत्तिकै जोखिम छ।  

रोजगारीको अवसर स्वदेशमा नहुँदा महामारीबीच नेपालीहरू धमाधम भारत जान थालेका छन् । सीमा नाकामा ओइरो लाग्ने गरेको छ ।

सुदूरपश्चिमबाट कञ्चनपुरको गड्डाचौकी र त्रिनगर गौरीफन्टा नाकामा भारत पस्नेको ओइरो लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार ती २ नाका भएर दैनिक १२ सयदेखि २ हजारसम्मले स्वदेश छोडिरहेका छन् भने ३ सयदेखि ५ सय जना नेपाल फर्किरहेका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

तेस्रो लहरको चेतावनी

सुदूरपश्चिममा केही हप्ता संक्रमण घटेको देखिए पनि जोखिम उत्तिकै रहेको चिकित्सकले बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले असारमा संक्रमणको प्रभाव केही कम देखिए पनि साउनमा पुनः संक्रमणको ग्राफ उकालो लागिरहेको बताए ।

महामारीको तेस्रो लहर आउन सक्ने भएकाले बेरोजगारी समस्या र महामारी नियन्त्रण गर्न सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

निष्प्रभावी प्रदेश सरकारका योजना

प्रदेश सरकारले महामारीबाट प्रभावितलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रम ल्याएको थियो तर कार्यक्रमप्रति बेरोजगार युवाहरू आकर्षित हुन नसकेको पाइएको छ ।

तर गत आर्थिक वर्षमा प्रदेश सरकारले महामारीबाट प्रभावित तथा विदेशबाट फर्किएका ५ हजार युवालाई कृषि तथा पशुपालनका लागि प्रति युवा अधिकतम ६० हजार रुपैयाँसम्म स्वरोजगारका लागि अनुदान दिइएको भनेर नीति तथा कार्यक्रममा उपलब्धिको रूपमा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्