
अहिले बजारमा पाते ढिडोको निकै चर्चा छ । राजधानीभन्दा पनि राजधानीबाहिर पाते ढिडोको बजार चर्केको छ ।
राजमार्गमा चामलको भातको भन्दा ढिडोको राम्रो व्यापार छ । सुगर, प्रेसरका रोगी बढेका कारण पनि चामलको भातको माग घट्दै गएको हो ।
रोटी बनाउन झन्झट भएका कारण अहिले जेको पनि ढिडो पाक्न थालेको छ ।
गहुँ, मकै, फापर, कोदो जेको पनि ढिडो उपलब्ध हुन्छ अहिले । त्यसमा पनि लोकल कुखुराको मासु, खसीको मासु, फर्सीको मुन्टा या सिजनल हरियोपरियो साग, टठिलो खालको अचार, सलाद र खारेको घ्यू हुना साथ ढिडोको स्वाद सुनमा सुगन्ध भइहाल्छ ।
ग्राहकको अर्डरअनुसार तुरुन्त तयार गर्ने हुँदा झन् जाडोमा त धेरै माग हुन्छ ।
चामलको भातलाई विस्थापित गर्दै ढिडो पकाएर खुवाउने व्यवसाय दिनानुदिन बढ्दैछ । नवलपरासी जिल्ला आसपासमै २०० भन्दा ज्यादा ढिडो खुवाउने होटल खुलेका छन् ।
चितवन होस् या अमलेखगञ्जको २ नम्बर पुल, मुल्कोट होस् या खुर्कोट सबैतिर ढिडो पाक्न थालेको छ । पहिला–पहिला हेपिएको खाना ढिडो अहिले सबैको ओखती साबित भएको छ ।
छाप्रोदेखि स्तरीय रेस्टुरेन्टको मेनुमा समेत ढिडोको परिकार समावेश गर्न थालिएको छ । ढिडोको पानी बसालेर ग्राहक कुर्ने सानातिना होटेल पनि जहीतहीँ खुलेका छन् ।
ढिडोको माग बढ्दै गर्दा पहाडी गाउँघरमा फलेको कोदो फापरले पनि राम्रो भाउ पाउन थालेको छ । कोदो, फापर र मकैगाई भैंसीलाई खुवाएर चामल किनिखानेले पनि अहिले ढिडोको महत्त्व बुझ्न थालेका छन् ।
के हो पाते ढिडो ? कसरी बन्छ ?
पाते ढिडो अहिले धेरै चर्चामा छ । हुन त नयाँ व्यवसायीले मार्केट जमाउन पनि यस्तो रणनीति अपनाएर होटल चलाएको हुनसक्छ तर पाते ढिडोलाई धेरैले मन पराएका छन् । पाते ढिडो बनाउँदा मकै र फापरको पिठो मिसाएर हुडालिन्छ र पाक्दा सुन जस्तो पहेलो देखिन्छ । पस्कँदा यो ढिडोलाई काठको दाबिलोले लाम्चो आकारमा चोइला निकाली पात आकार दिने गरिछ, जुन निकै आकर्षक देखिन्छ ।
यसरी तयार गरेर पस्केको पात आकारको ढिडोलाई घेर्न भने आ–आफ्नो होटलको रेसेपी अनुसार मासु, तरकारी, अचार, सलाद र ढिडोको चाक्लोमाथि खारेको लोकल घ्यू हाल्ने चलन छ । अहिले धेरैले अर्डर गर्ने भनेको पाते ढिडो नै हो र कतिले त आफ्नो होटलको नाम नै पाते ढिडो राखेर चलाएका छन् ।