०८ साउन २०८३, शुक्रबार

कमल रिजालको नयाँ पुस्तक ‘पूर्वीय दर्शन मीमांसा’ सार्वजनिक

कमल रिजालको नयाँ पुस्तक ‘पूर्वीय दर्शन मीमांसा’ सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित पुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् ।
 पाञ्चायन दर्शन, संस्कृति दर्शन, जीवन दर्शन, दृष्टान्त दर्शन र विविध दर्शनसित सम्बन्धित पाँच खण्ड रहेको यस कृतिमा पूर्वीय दर्शन सम्बन्धी धर्म, दर्शन, संस्कृति, संस्कार तथा षड्दर्शनका यावत पक्षलाई मिहिन ढङ्गले केलाउने प्रयास गरिएको लेखक रिजालले बताए ।

उनका अनुसार वेद, उपनिषद्, रामायण, महाभारत, ब्राह्मण, आरण्यक, गीता, ब्रह्मसूत्र, तथा पुराण र बौद्ध ग्रन्थहरूका समेत अध्ययन, अन्वेषण गरी निचोडका आधारमा लेखिएकाले निबन्धहरू सबै अनुसन्धानमूलक रहेका छन् । पुस्तकमा पूर्वीय वैदिक दर्शनका विशेषता बुझ्न चाहने पाठकका तीर्खा मेट्न हरसम्भव प्रयास गरिएको लेखक रिजालको दावी छ ।

भूमिका लेखक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले भनेका छन्– ‘रिजालजीको प्रस्तुत कृति पूर्वीय वैदिक दर्शनका अतिरिक्त ती दार्शनिक मान्यताहरूका अभिव्यञ्जनासँग सम्बन्धित दार्शनिक पक्षबारे विविध किसिमले विश्लेषण गर्दै पूर्वीय दर्शनलाई व्यावहारिक तथा व्यावहारोपगी बनाएर लेखिएको कृति हो ।’ उनका अनुसार कतिपय प्रसङ्गमा ज्ञानका पुनर्निर्माण भएकाले प्रस्तुत कृतिले अनौपचारिक अनुसन्धानमूलक कृति हुने अधिकार राखेको छ ।
भूमिका खण्डसहित २५४ पृष्ठको पुस्तकको मूल्य रू ३५० रहेको छ ।

गोरखापत्रका पूर्वप्रधान सम्पादक रिजालको यो कृति बाह्रौँ हो । उनका यसअघि ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिकपात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा सङ्ग्रह’ भाग एक, दुई र तीन प्रकाशित भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्