२६ जेठ २०८३, मंगलबार
प्रेरणादायी संघर्ष

पोलियोले रोक्न नसकेको ऊर्जा : एक प्रेरणादायी पठाओ राइडरको कथा [भिडियो स्टोरी]

माघ १५, २०७८

धादिङमा जन्मिएका बेग तामाङ परिवारका माइला सन्तान हुन् । उनी ९ महिनाको हुँदा खुट्टामा समस्या देखियो । खुट्टा आफैँ सुक्दै जान थाल्यो । 

गाउँघरमा त्यतिबेला अस्पताल लैजाने चलन थिएन । उनको परिवार पनि झारफुक गराउनतिर लाग्यो । तर, रोग झारफुकबाट ठीक हुने कुरै भएन ।

परिवारले पछि मात्र थाहा पाए, बेगलाई पोलियो भएको रहेछ । रोग पहिचान हुँदा उपचारका लागि धेरै ढिला भइसकेको थियो ।

बेग १३ वर्षको हुँदा अस्पताल लगियो । पूर्ण रूपमा निको हुन सम्भव नभए पनि उनले चिकित्सकको सल्लाहमा थेरापी र दैनिक व्यायाम गर्न थाले । लट्ठीको सहारामा सामान्य हिँडडुल पनि गरे ।

उनी आधा घण्टाको बाटो घस्रिँदै विद्यालयसम्म पुग्न थाले । यसैगरी ४ कक्षासम्म गाउँमै अध्ययन गरे । त्यसपछि फुपूले उनलाई ललितपुरको पाटन ल्याएर कक्षा ५ मा भर्ना गराइदिइन् ।

फुपूले नै होस्टेलको समेत व्यवस्था मिलाइदिइन् । ललितपुरबाट उनले प्लस टुसम्मको अध्ययन पूरा गरे । त्यसपछि उनलाई आफैंले केही गर्नुपर्छ भन्ने लाग्यो ।

होस्टेल छाडेर जागिरका लागि धेरै ठाउँ धाए, तर अपांगताका कारण जागिर मिलेन । 'रोजगारदाताले मागेअनुसारका सबै कुरा पूरा हुँदा पनि अपांगताकै कारण मलाई जागिर दिइएन । धेरै ठाउँमा मलाई रिजेक्ट गरियो,' तामाङले निराश हुँदै सुनाए ।

धेरै ठाउँ भौँतारिएपछि उनले अनलाइन डेटा इन्ट्रीको जागिर भेटे । बिहान-बेलुका जागिर र दिउँसो पढाइलाई अगाडि बढाउन थाले । यसैगरी उनको दैनिकी केही समय चल्यो । 

अनि बने पठाओ राइडर

यसबीचमा यात्रामा सहजताका लागि उनले दु:ख गरेर अपांगमैत्री चारपांग्रे स्कूटर किनेका थिए ।

साथीभाइले उनलाई सोही स्कूटर चलाएर पठाओ राइडरको काम गर्न सकिने सुझाव दिए ।

'पठाओ राइड गर्दा कसैको अन्डरमा बस्नु नपर्ने, स्वतन्त्ररूपले पैसा कमाउन सकिने हुनाले राम्रो लागेर यसमा आबद्ध भएँ,' तामाङले आफ्नो करीयरको टर्निङ पोइन्टबारे खुलाए ।

उनको पठाओ राइडिङ पनि सोचेजस्तो सहजरूपमा शुरू भएन ।

'काम शुरू गरेको पहिलो दिनमै ग्राहकले मलाई रिजेक्ट गरिदिनुभयो,' उनले सुनाए, 'अनलाइन बूकिङ भएको लोकेसनमा पुगेपछि मेरो शारीरिक अवस्था र अपांगता भएका व्यक्तिले चलाउने स्कूटर देखेर यात्रुले चढ्न अस्वीकार गर्नुभयो । मन नै अमिलो भयो ।'

उक्त प्रकरणबाट निकै दु:खी भएका उनी एक सातासम्म फोन स्वीच अफ घरमै बसे ।

यसबीचमा पनि साथीभाइले उनलाई निकै हौसला दिए । 

सोही हौसलाले पुन: काममा फर्किएका बेगसँग अहिले तीतामीठा अनुभवका कैयन क्षण छन् ।

एकपटक सानेपाबाट ठमेलसम्म जाँदा ग्राहकले दिएको हौसलाले उनलाई आज पनि ऊर्जा मिल्छ ।

'तपाईंजस्तो मान्छे यो समाजको उदाहारण हुनुहुन्छ । हामीसँग भगवानले दिएको सबैथोक हुँदा पनि केही गर्न सकेका छैनौं, तर तपाईं त खुट्टा नचल्ने हुदाँ पनि आफैँ काम गरेर खानुभएको छ भनेर मलाई धेरै हौसला दिनुभएको थियो । त्यो पल सम्झिँदा अझै पनि ऊर्जा मिल्छ,' उनले खुशी हुँदै सुनाए ।

आम्दानीको २० प्रतिशत पठाओलाई बुझाउनुपर्ने, पेट्रोल, इन्टरनेट, फोन कल सबै खर्च कटाएर दिनमा एक हजारसम्म कमाउने गरेको उनले बताए ।

कतिपय ग्राहकले अझै पनि बेगको अवस्था देखेर मुख खुम्च्याउँछन्, तर ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन आफू सक्षम रहेको उनको भनाइ छ ।

अहिलेसम्म उनले यो जिम्मेवारी सुरक्षित रूपमा पूरा गरिरहेकै छन् । 

प्रेम अनि विवाह

सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा एक युवतीसँग उनको कुराकानी हुन थाल्यो ।

कुराकानीकै क्रममा उनीहरू एकअर्कासँग नजिकिइसकेका थिए । 

बेगले आफ्नो अवस्थाबारे सबै कुरा बताइदिए ।

प्रेमिकाले आफ्नो अवस्थालाई सहर्ष स्वीकार्दा उनमा खुशीको कुनै ठेगान नै रहेन ।

अहिले उनीहरू विवाहबन्धनमा बाँधिएका छन् ।

'अहिले हामी खुशीसाथ दाम्पत्य जीवनमा बाँधिएका छौं । अब श्रीमतीलाई लोकसेवाको परीक्षा दिन लागाउने योजना छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्