२६ जेठ २०८३, मंगलबार
परिकार

कसरी बनाउने भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा ?

माघ २९, २०७८
कसरी बनाउने भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा ?

जुजु धौ अर्थात् दहीको राजा भनेर चिनेको भक्तपुरको दहीमा अन्य स्थानभन्दा फरक स्वाद र मिठास छ । सबैको मुखमा यो ब्रान्ड झुण्डिएको छ । 

पूजाआजा या कुनै चाडपर्वमा पनि जुजु धौ नै सम्झेका हुन्छन् राजधानीवासी । जुजु धौको लोकप्रियता बढ्दै गएपछि धेरै अन्य ब्रान्डले पनि जुजु धौ नाम राखेर बेच्न थालेका हुन् । 

चलेको ब्रान्ड भएका कारण धेरैले यसो गर्न थालेका छन् । जुजु धौलाई नेपाली आइसक्रिम भनेर पनि चिनिन्छ ।

नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ । दहीहरूको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्ल राजाहरूले खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । 

अत्याधुनिक प्रविधिहरूको प्रतिस्पर्धा बढिरहेको बेलामा पनि भक्तपुरका वासिन्दाले परम्परागत शैलीबाट दही बनाउने विधिलाई जोगाएर राखेका छन् ।

अन्य दहीभन्दा स्वादिलो र स्वस्थकर भएकाले पनि यस दहीको महत्त््व नेपालभरि नै प्रख्यात रहेको छ । भक्तपुर घुम्न गएको जो कोही नेपाली होस् या विदेशी पर्यटक जो कोही पनि जुजु धौ खान भुल्दैनन् ।

कसरी बन्छ जुजु धौ ?

जुजु धौ बनाउने भक्तपुरवासी नेवारहरूको आफ्नै परम्परा छ । जुजु धौ अन्य दहीभन्दा फरक शैली र विधिमा बनाइन्छ । जुजु धौ बनाउँदा दूधलाई बाक्लो कोडेमा १०–१२ घण्टासम्म उमालिन्छ । अन्य दही बनाउँदा यतिधेरै समय कतै पनि उमालिन्न ।

यो ब्रान्डको दही खुवाजस्तो मिठो र मुलायम हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा जुजु धौ माटोको भाडोमा थोरै सुकमेलको धुलो हालेर अन्त्यमा जमाइन्छ । जुन अन्य ब्रान्डमा बिरलै पाइन्छ । मेहनति भक्तपुरवासी नेवारहरूले परम्परालाई जीवित राखेर यो पेशालाई छाडेका छैनन् ।

भक्तपुरको जुजु धौ बनाउन दैनिक ८०–९० हजार लिटर दूध खपत हुन्छ । तैपनि मागअनुसार पूर्ति हुन सकेको छैन । भक्तपुरको जुजु धौ काठमाडौं, ललितपुर र काभ्रेसम्म पुगेको हुन्छ । चाडपर्व शुरू हुनासाथ भक्तपुरका नेवार समुदायलाई दही बनाउन भ्याइँ–नभ्याइँ हुन्छ । भ्याली बाहिरबाट पनि माग आउँछ तर पूर्ति गर्न उनीहरूलाई हम्मे छ । माटोको सानो–सानो कपमा पनि उपलब्ध यो ब्रान्डको दही गर्मी महिनामा पनि निकै खपत हुन्छ ।
  
 

salt training

कमेन्ट गर्नुहोस्