२६ जेठ २०८३, मंगलबार
पुनर्निर्माणको गति

पूरै निर्माण कार्य नसकिँदै दशैंसम्ममा धरहरा खोल्ने तयारी [भिडियो रिपोर्ट]

जेठ २१, २०७९
पूरै निर्माण कार्य नसकिँदै दशैंसम्ममा धरहरा खोल्ने तयारी [भिडियो रिपोर्ट]

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करीब १३ महिनाअघि निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको छ ।

धरहराको स्तम्भ ठडिए पनि समग्र भौतिक प्रगति ७५ प्रतिशतमा सीमित छ ।

ट्रिपल बेसमेन्ट, ३ तलाको पार्किङ स्पेस, अगाडि पट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा संग्रहालय बनाउने लगायत काम निकै सुस्त गतिमा भइरहेको छ ।

मुख्य स्तम्भको फिनिसिङको काम पनि अझै बाँकी छ । समग्र भौतिक प्रगति ७५ प्रतिशत र खर्च ६२ प्रतिशत भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का कायममुकायम निर्देशक कोषनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

जीआईईटीसी एन्ड रमन जेभीले ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने गरी धरहराको ठेक्का पाएको थियो ।

विभिन्न कारणले गर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको अधिकारीको भनाइ छ ।

‘हुलाक कार्यालयको जग्गा प्राप्ति, सञ्चय कोषसँग जग्गा सट्टापट्टा आदि कामले समय लिएको तथा कोरोना महामारी र भर्खरै सम्पन्न भएको स्थानीय चुनावले काम प्रभावित भएकाले ढिलाइ भएको हो,’ उनले भने ।

पहिले धरहरा पुनर्निर्माणको काम जम्मा ५ रोपनी क्षेत्रफलमा गर्ने भनेर अगाडि बढेकोमा अहिले धेरै कुरा विस्तार भएर ४२ रोपनी क्षेत्रफलमा विस्तार भएको कायममुकायम निर्देशक अधिकारीले जानकारी दिए ।

अधिकारीले अब धरहरा पट्टिको भागलाई मात्र फिनिसिङ गरेर आगामी दशैंसम्ममा सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको जानकारी दिए । ‘अरु मिन्ट म्युजियमको निर्माण कार्य हुँदै गर्छ तर धरहरा मात्र भए पनि सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ्दैछ,’ उनले भने ।

धरहराबाहेक थप २२ रोपनीमा मिन्ट म्युजियमको निर्माण कार्य भइरहेको छ । जुन सडकभन्दा पारिपट्टिको भाग हो । त्यसलाई धेरै ढिला गरी उपलब्ध गराइएको अधिकारीको दाबी छ । म्युजियमको निर्माण लागत लगभग ७५ करोड रुपैयाँको रहेको उनले लोकान्तरसँगको कुराकानीमा बताए । संग्रहालयको भागलाई अहिले थाती राखेर धरहराको भाग मात्र खोल्ने योजना रहेको जानकारी अधिकारीले दिए । ‘ल्यान्ड स्केपिङ, युटिलिटी, सुन्धारा, चमेना गृह र भीमसेन स्तम्भको भागलाई केमिकल ट्रिटमेन्ट गरेर जस्ताको तस्तै राख्न सकिने गरी ओपन म्युजियमको अवधारणाले अगाडि बढ्ने योजना छ,’ उनले भने ।

‘मिन्ट म्युजियमको भागमा भने स्पेरिकल सेपमा ढलान गर्नुपर्नेछ, त्यसका लागि १–१ मिटरको हाइटमा स्टिलको फर्मालाई फेब्रिक्रेट गर्दै लैजानुपर्ने भएकाले बनाउन अलिक सहज भने छैन तर त्यो काम पनि अगाडि बढिरहेको छ,’ अधिकारीले भने, ‘सँगै डबल बेसमेन्ट, ट्रिपल बेसमेन्टको फ्लोरिङ छ, त्यो भागको वाटर प्रुफिङको काम पनि शुरू गरेका छौं । यसरी योसँगै अन्य कामहरू पनि अगाडि बढिरहेको छ । जस्तैः परम्परागत छाना राख्ने काम, धारा निर्माण गर्ने काम अगाडि बढिरहेको छ ।’ 

आगामी असोजसम्म सर्वसाधारणलाई धरहरामा चढाउने योजना बुनेको बताउँदै अधिकारीले त्यसै अनुसार निर्माण व्यवसायीलाई जानकारी गराइसकेको बताए ।

अहिलेसम्म धरहरापट्टिको मात्र ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको र मिन्ट म्युजियमपट्टिको ४५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले बताए ।

धरहरा काठमाडौं महानगरपालिकाभित्र पर्ने भएकाले निर्माण कार्य सकिएपश्चात व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिनसक्ने उनले बताए । ‘तर यो मन्त्रालयले निर्णय लिने विषय हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्