०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

संघीय सांसद बन्ने प्रत्यक्ष दौडमा १ नम्बर प्रदेशका ४ महिला नेत्री

असोज २६, २०७९
संघीय सांसद बन्ने प्रत्यक्ष दौडमा १ नम्बर प्रदेशका ४ महिला नेत्री

१ नम्बर प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा ४ जना महिला प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका २ र नेपाली कांग्रेसका २ जना महिला चुनावी दौडमा रहेका छन् ।

कांग्रेसका सीता गुरुङ र सुजाता कोइराला तथा एमालेका भगवती चौधरी र मञ्जु चौधरी चुनावी दौडमा छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङ तेह्रथुमबाट चुनाव लड्दैछिन् । उनले एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी गुरुङ प्रत्यक्ष तर्फबाट पहिलोपटक चुनावी मैदानमा आउँदैछिन् ।

२ पटक चुनाव जितेका सुब्बा तेस्रोपटक संसदमा छिर्नका लागि २३ वर्षपछि तेह्रथुमबाट लड्दैछन् । सुब्बाले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए । २ पटक चुनाव जितेका सुब्बासँग गुरुङ पहिलोपटक चुनावी मैदानमा भिड्दैछिन् । 

एमालेको पकड मानिएको तेह्रथुममा २०१५ र २०६४ सालबाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो । एमाले फुटेको तथा माओवादीले साथ दिएकाले तेह्रथुमबाट कम्युनिस्टको विरासत तोड्ने कसरतमा सीता छिन् ।

मोरङको २ नम्बर क्षेत्रबाट सुजाता कोइराला चुनावी मैदानमा छिन् । उनको प्रतिस्पर्धा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलसँग हुँदैछ । पोख्रेल र सुजाताको यो पहिलो भेट हो । पटक–पटक मन्त्री समेत भइसकेकी सुजाता पनि प्रत्यक्षतर्फ पहिलोपटक भिड्दैछिन् । यसअघि उनी समानुपातिकबाट संसद् छिरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा मिनेन्द्र रिजाल विजयी भएका थिए । यो क्षेत्रमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने क्षेत्र हो । 

विजयकुमार गच्छदार २०४८ सालको चुनावमा पहिलोपटक संसद् छिरे । त्यसपछिका सबै चुनावमा उनी संसद् पुगिरहन्छन् ।

२०४८ देखि २०७४ सालसम्म भएका सबै चुनाव उनले आफ्नो पक्षमा पार्दै आएका छन् । छैटौंपटक चुनाव जितेका गच्छदार सातौंपटक संसद छिर्ने प्रयासमा छन् । उनलाई संसद् छिर्न रोक्नका लागि नेकपा एमालेकी भगवती चौधरीले कसरत गरिरहेकी छन् । यसअघिका २ चुनावमा गच्छदारसँगै पराजित बनेकी भगवती तेस्रोपटक भिड्दैछिन् ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा ३६२ मतान्तरले चौधरीलाई गच्छदारले हराएका थिए । २०७४ सालको निर्वाचनमा ३२१ मतान्तरले भगवतीलाई नै उनले पराजय गरेका थिए । २०७४ सालको चुनावमा गच्छदारले मतगणनामा धाँधली गरेको भन्दै पराजित भगवती पुनः मतगणनाको माग राख्दै सर्वाेच्च पुगेकी थिइन् । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।

भगवतीले गच्छदारलाई रोकेर आफू माननीय बन्न तेस्रोपटक प्रयास गर्दैछिन् । यसअघि गच्छदार २०४८, २०५१, २०५६ र २०७४ सालका चुनावमा कांग्रेसबाट विजयी भएका थिए भने २०६४ सालको पहिलो संविधान सभामा मधेशी जनअधिकार फोरमबाट र २०७० सालको दोस्रो संविधान सभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

उदयपुरको १ नम्बर क्षेत्रबाट मञ्जु चौधरी प्रतिस्पर्धा गर्दैछिन् । उनले परराष्ट्रमन्त्री नारायण खड्काको सामना गर्नुपर्नेछ । २०७४ सालको निर्वाचनमा तिनै खड्कासँग उनी पराजित बनेकी थिइन् । उनको यो तेस्रो प्रतिस्पर्धा हो । २०७४ सालको चुनावमा वाम गठबन्धनकी उम्मेदवार बनेकी चौधरी खड्कासँग ५४८ मतान्तरले पराजित भएकी थिइन् ।

उनी उदयपुर–२ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिइन् । खड्काले २०६४, २०७० र २०७४ सालका निर्वाचन जितेका छन् । खड्का चौथोपटक संसद् छिर्ने प्रयासमा छन् । २०७० सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनले उदयपुर–१ बाट जीत हासिल गरेकी थिइन् । उनी यसअघि शहरी विकास राज्यमन्त्री समेत भइसकेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्