
जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही (धारा चुनाव चिन्ह) निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार ८९९ मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।
२०७४ मा प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका गजेन्द्र महतसँग पराजित देवेन्द्र यसपटक कांग्रेसबाट टिकट नपाएपछि गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
देवेन्द्रले ९ हजार ६५४ मत ल्याएर निर्वाचित हुँदा उनका निकट प्रतिस्पर्धी ललितजंगले ७ हजार ७५५ मत प्राप्त गरे ।
त्यस्तै, एमालेका धीरेन्द्रराज गिरीले ५ हजार ४६० मत प्राप्त गरेका छन् । योसंगै कर्णालीमा प्रदेशसभाका पाँच क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जुम्लाकै प्रदेशसभा-२ मा एमालेका टेकराज पछाई निर्वाचित भइसकेका छन् ।